स्वास्थ्य

सुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल

इकागज |
फागुन २६, २०७९ शुक्रवार १८:७ बजे

सुर्खेत- कर्णाली प्रदेश अस्पताललाई सुविधासम्पन्न बनाउनका लागि भौतिक पूर्वाधारसँगै सेवाहरू विस्तार गरिएको छ ।

अस्पताललाई थप सुविधासम्पन्न बनाउन पाँच सय शय्यासहितको पूर्वाधार निर्माण गर्न थालिएको हो । अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासका काम पनि धमाधम अघि बढाएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ ।


अस्पतालका निर्देशक डा. डम्मर खड्काले अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको जानकारी दिए । तला थप गर्नका लागि प्रदेश सरकारले करिब डेढ अर्ब बजेट छुट्याएको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको निर्देशक खड्काले बताए ।

भौतिक पूर्वाधार विकास सँगसँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिँदै छ । अस्पताल आएका बिरामीलाई अन्यत्र  स्वास्थ्य संस्थामा रिफर गर्न नपर्ने गरी सुविधा विस्तार गर्न लागिएको जनाइएकाे छ ।

हालै मात्र अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ । यहाँ अहिलेसम्म मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । यदि मिर्गौला प्रत्यारोपण गर्नु परेमा काठमाडौं नै जानुपर्ने बाध्यता थियो । अब भने मानव अंग प्रत्यारोपणजस्ता जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहज हुने अपेक्षा गरिएको छ ।

यसैगरी अस्पतालले अप्थाल्मोलोजी, न्यूरो सर्जरी र स्पाईन सर्जरी सेवा पनि थप गरेको छ । अक्सिजन प्लान्ट तथा पाइपलाइन जडान तथा सञ्चालन पनि गर्दै आएको छ । अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडान प्रक्रियामा रहेको जनाएकाे छ । यो वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य बिमा सुरु गरेको छ ।

त्यसैगरी अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न पनि पहल भइरहेको छ । यसका लागि ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदा तयार पारेर सरोकारवालाहरूसँग छलफल भइसकेको छ ।

सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढेको छ । कर्णाली प्रदेशसँगै लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाट समेत उपचारका लागि बिरामी आउने गरेको अस्पतालले जनाएको छ । डा. खड्काले अस्पतालमा बिरामीको चाप बढेको बताए ।
 


Author

थप समाचार
x