स्वास्थ्य

नर्सको आइसोलेशन अनुभव : कोभिडका बिरामीलाई उपचारले छुनै मुस्किल छ

सडकको हुल देख्दा अस्पतालका बिरामीको छट्पट्टी सम्झिन्छु

सृजना खड्का |
बैशाख १८, २०७८ शनिबार ७:४९ बजे

काठमाडौँ : एकवर्ष भयो नर्स कमला पौडेललाई १४ वर्षीय छोरालाई अंगालोमा बेर्न मन लागेको । उसँगै नजिकिएर गफिन मन लागेको । अनि, मन भरिने गरी समय बिताउन मन लागेको । घर पुग्‍ने बित्तिकै उनका छोरा दौडिदै उनीसामू आउँदा उनी भन्छन् - ‘बाबु दुई मिटर टाढा बस ।’

जबदेखि कोभिड सुरु भयो उनका श्रीमान्, छोरा र उनको कोठा छुट्टाछुट्टै छ । दिनभरी अस्पतालमा सेवा गरेर घर फर्किने बेला उनको मुटु ढक्क फुल्छ । श्रीमान र छोरालाई कोभिड सर्ने हो की भन्ने चिन्ताले प्रत्येक दिन उनलाई सताउँछ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ग्यास्ट्रो आइसोलेसन वार्डकी इन्चार्ज नर्स हुन्, कमला । उनले सेवा दिने वार्डमा ३३ जना कोभिडका बिरामी हुन्छन् । अस्पतालमा क्वारेन्टाइनको व्यवस्था नहुँदा काम सकेर उनी प्रत्येक दिन घरै (डल्लु) फर्किन्छिन् । 


उनको वार्डमा काम गर्ने नर्समध्ये कतिले आफ्ना छोराछोरीलाई माइत लगेर छाडेका छन् । कतिले आफन्तकोमा । ‘नर्सहरूले आफ्ना छोराछोरी कोभिड सर्ला भनेर अगाडि पर्नै दिएका छैनन् । अहिले टेकु अस्पतालको आईसीयू पूरै भरिएको छ । अधिकांश बिरामी अक्सिजन लगाउनुपर्ने खालका छन् । प्रायः बिरामी एकैछिन अक्सिजन छाडेर ट्वाइलेटसम्म पुग्दा पनि अक्सिजन लेभल कम भएर स्वाँस्वाँ र फ्वाँफ्वाँ हुन्छन् । 

‘धेरैजसो बिरामीलाई बेडमै दिसा पिसाब गराउनुपर्ने अवस्था छ,’ उनी भन्छिन्, ‘बिरामीहरू सबै अक्सिजन लगाउनै पर्ने खालका छन् । अक्सिजन नलगाउने बिरामीलाई अस्पतालले भर्नै लिएको छैन ।’ पहिलाजस्तो वृद्धवृद्धालाई मात्र नभएर अहिले कम उमेरका व्यक्तिमा पनि कोभिडले गम्भिर असर गरेको उनी बताउँछिन् । ‘अहिले भर्खरका मान्छेहरू पनि कोभिडका कारण सिरियस भएर आएका छन्,’ उनी भन्छिन्, ‘१७ र १९ वर्षका बिरामीको  हामीकहाँ उपचार भइरहेको छ ।’

त्यस्तै, पहिलो लहरको कोभिडलाई उपचारले छोए पनि अहिलेकोलाई हत्तपत्त उपचारले नछोएको अनुभव उनले गरेकी छिन् । ‘पहिला अक्सिजन लगाउनुपर्ने र सिरियस खालका बिरामी धेरै थिएनन्,’ उनी भन्छिन्, ‘अहिले अस्पताल छिर्ने बित्तिकै अक्सिजन लगाउनुपर्ने खालका बिरामी छन् । जसलाई उपचारले छुन मुस्किल परिरहेको छ ।’ 

पहिलाको २४ घण्टा ड्यूटी गर्दाको जस्तो थकान अहिले ६ घण्टाको ड्युटी गर्दैमा हुन्छ उनीहरूलाई । ‘पहिला २४ घण्टा ड्युटि गर्दा पनि बरु थाकिदैनथ्यो,’ उनी भन्छिन्, ‘आजभोलि ६ घण्टे ड्यूटीले पहिलाको २४ घण्टा ड्युटी गरे बराबर थकाउँछ । सबै सिरियस टाइपका बिरामी छन् । दिशापिसाबदेखि ख्वाउने प्याउने सबै गर्नुपर्छ ।’ उनका वार्डका धेरै नर्सहरू त थकानले सुत्नसमेत सक्दैनन् । ‘शरीर दुख्यो भनेर प्रत्येक रात सिटामोल खाएर सुत्ने नर्सहरू पनि छन्,’ उनी भन्छिन् । 

निषेधाज्ञामा पनि हुल बाधेर हिँड्नेहरू देख्दा उनी अस्पतालभित्र छटपटाइरहेका बिरामीको अनुहार झल्झली सम्झिन्छिन् । ती अनुहारले उनलाई यसै चुप बन्न दिँदैन र, उनी बाटोमा हुल बाँधेर हिँड्नेहरुलाई भन्छिन् - ‘यसरी नहिँड्नुहोस् न कोभिड सर्छ ।’ कसैले उनको कुरा सनेर भौतिक दूरी कायम गर्छन् । कसैले भने एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन् । 

नर्सिङ पेसामा तीन दशक बिताएकी उनले बझाङ, बाझुरा, मनाङ, म्याग्दी, स्याङ्जा, रामेछाप, कास्कीजस्ता जिल्लाहरूमा सेवा दिएकी छिन् । सहरभन्दा गाउँका मान्छे बुझकी लाग्छन् उनलाई । ‘बरु गाउँघरका मान्छेलाई यो नगर भने गर्दैनन्, बुझ्छन्,’ उनी भन्छिन्, ‘तर, सहरका मानिसलाई बुझाउन साह्रै हम्मेहम्मे छ । जति बुझाए पनि बुझ्दै बुझ्दैनन् ।’ 

कोभिडका बिरामीको सामिप्यमा बसेर सेवा गर्दा उनलाई डरै नलाग्‍ने होइन । तर, त्यो डरलाई बिरामीको निको हुने अभिलाषाले जित्छ । ‘यो बेला हामीले जागिर छाड्यौँ भने बिरामीलाई कसले बचाउँछ भनेर जति डर लागे पनि पचाउँछौँ ।’तर, अस्पतालमा सहयोग गर्ने सहयोगी कर्मचारीहरूले पछिल्लो समय भटाभट जागिर छाड्न थालेको उनी बताउँछिन् । ‘हेल्परहरूले भने जागिर छाड्ने क्रम बढिरहेको छ,’ उनी भन्छिन्, ‘उनीहरूलाई हामीले सम्झाउन सकेनौँ । अहिले एउटा हेल्परले छाड्ने अर्को आउने भइरहेको छ ।’

कमलासँगै स्कुल पढेका साथी कोही विदेश गए कोही माथिल्लो तहको कर्मचारी । तर, जबदेखि उनले जागिर थालिन्, आजसम्म पनि उनको परिचय एउटै छ, नर्स । न कुनै प्रमोसन, न कुनै पोस्ट । ‘जागिर खाँदा पनि म नर्स नै थिए, जागिरबाट निस्क्निे बेला पनि नर्स नै हुन्छु,’ उनी भन्छिन्, ‘पोस्ट जेसुकै होस्, यो महामारीमा अरुको ज्यान बचाउने कोसिसमा लाग्‍न पाउनु नै ठूलो कुरा हो ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x