स्वास्थ्य

‘निराशामा आशा बनेर आएको आयुर्वेद अस्पताल’

सुनीता साखकर्मी |
बैशाख १८, २०७८ शनिबार ७:७ बजे

तस्बिर सौजन्य : राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र

काठमाडौँ : उपचार गराइरहेका कोभिड-१९ संक्रमित हप्तादिन भित्रै संक्रमण मुक्त भएपछि कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र एकाएक चर्चामा आयो । आयुर्वेदिक विधिबाट छोटो अवधिमै संक्रमित स्वस्थ बनाएपछि केही आशा पनि थपिदियो ।  

केन्द्र कोभिड-१९को दोस्रो लहर आएसँगै केन्द्र फेरि कोभिड संक्रमितको उपचारमा खटेको छ । अहिले यस केन्द्रमा १ सय १५ जनाको उपचार भइरहेको केन्द्रका चिकित्सक तथा कोभिड-१९ का संयोजक डा.जितेन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै यस केन्द्रमा संक्रमितहरूको चाप बढिरहेको छ ।


केन्द्रले गत चैत २८ गतेबाट संक्रमितहरूको उपचार गर्न थालेको थियो । श्रेष्ठका अनुसार सुरुसुरुमा दैनिक १÷२ जना संक्रमित आउने गर्थे । तर, अहिले यो संख्या बढेर दैनिक १०÷१५ जनाको हाराहारीमा कोभिड संक्रमित यहाँ आउने गरेका छन् । कोभिड संक्रमितको चाप बढेसँगै केन्द्रले आफ्नो क्षमता बढाउने कोशिस गरिरहेको डा.श्रेष्ठ सुनाउँछन् । ‘अहिले केन्द्रको क्षमता १ सय २५ जनाको छ । थप ५० जनाको उपचार गर्न सक्ने गरी बेड र उपचार सामग्री बढाएर क्षमता अभिवृद्धि गर्न स्वास्थ्य विभागलाई आग्रह गरेका छौँ,’ श्रेष्ठ भन्छन्, ‘पोहोर हामीले एकपटकमा झन्डै दुई सय जनाको उपचार गरेका थियौँ । अहिले पनि २ सय जनासम्म कोभिड संक्रमितको उपचार गर्न सक्छौँ ।’ 

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि केन्द्रले गतवर्ष जेठ ३ देखि संक्रमितलाई क्वारेन्टिनमा राखेर आयुर्वेदिक काढा, रोग प्रतिरोधात्मक औषधि, जडिबुटी सेवन गराएर व्यवस्थापन सुरु गरेको थियो । त्यसपछि असार २५ गते बिहीबारदेखि संक्रमित बिरामीहरूलाई केन्द्रमा आइसोलेसनमा राखी आयुर्वेद पद्दती एवं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका अनुसार उपचार नै सुरु गरेको थियो । 

रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि उनीहरूले आयुर्वेदिक औषधी खुवाउने गरेका थिए । केन्द्रले नै अनुसन्धान गरी आयुर्वेदिक रोगप्रतिरोधात्मक औषधी बनाएका थिए । जसको ८५ प्रतिशतसम्म ‘सक्सेस रेट’ देखिएपछि उनीहरूले यही औषधी प्रयोग गरेका थिए ।  

‘बजारमा आयुर्वेदको नाममा देखिने आकर्षक विज्ञापनमा नझुक्किनुहोला । ति नक्कली औषधी हुन् । सक्कली औषधीको विज्ञापन गर्न पाइँदैन’ : डा. प्रकाश ज्ञवाली

काठमाडौँमा सबैभन्दा ठूलो आइसोलेसन भएको अस्पताल यो नै थियो । डाक्टरहरू २४ सै घण्टा संक्रमितको उपचारमा खटिएका हुन्थे । ओपिडी र फलोअपमा  आउने साथै नयाँ बिरामीको उपचार पनि रोकेको थिएन । अघिल्लोपटक संक्रमितको उपचारका क्रममा केन्द्रले विभिन्न उपाय अपनाएको थियो । संक्रमितहरूको लागि बिहान र साँझ धार्मिक गीत बज्थ्यो । त्यसपछि संक्रमितहरूको नाचगान र योग अभ्यास सुरू हुन्थ्यो । निःशुल्क आयुर्वेदिक औषधी सेवन गर्न दिन्थ्यो । 

संक्रमितलाई दिनको दुई पटक खाना र दुईपटक खाजा दिन्थ्यो । बेलुका दुध खान दिन्थ्यो । रमाइलो वातावरणमा उपचार पाएकाले होला, केन्द्रको आइसोलेसनमा बसेको बिरामी ७ देखि १० दिनमै डिस्चार्ज गरेर घर फर्किन्थे । डा. श्रेष्ठका अनुसार अहिले पनि उपचार पद्दती पुरानै हो । बिहान बज्ने गीत मात्रै अहिले बज्दैन । उनी भन्छन्, ‘अक्सिजन प्रयोग गरेर बसिरहेका संक्रमितको लागि डिस्टर्ब होला भन्ने भएर गीत चाहिँ बजाउँदैनौँ । योगाभ्यास गर्न चाहनेले गर्न सक्छ । कोभिड संक्रमितहरूलाई खाना र खाजा खुवाउनको लागि टेण्डर आह्वान गरेका थियौँ, जसमार्फत् टेण्डर पाएकाहरूले नै खाना खुवाउने गरेका छन् ।’ 

अघिल्लो वर्ष प्रयोग गरेको नै औषधी यसवर्ष पनि प्रयोग गरिरहेको छ केन्द्रले । यसवर्ष पनि यही औषधी र उपचार पद्दतीले संक्रमितको उपचार गरिरहेका छन् । श्रेष्ठका अनुसार यो औषधीको माग बढिरहेको छ । तर केन्द्रले यो औषधीलाई विक्रि वितरण भने गरेको छैन । केन्द्रमै उपचारका लागि आएका बिरामीलाई बाहेक अन्यलाई यो औषधी दिने वा विक्रि वितरण नगरेको श्रेष्ठ सुनाउँछन् । 

तर बजारमा आयुर्वेदिक औषधीका रूपमा नक्कली औषधीको विज्ञापनका साथै विक्रिवितरण भइरहेको नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवाली बताउँछन् । उनले जनस्वास्थ्य संकटकालको परिस्थितिमा पुगिसकेकोले आयुर्वेद जडिबुटी सेवन गर्न सुझाव दिइरहेका छन् । यससँगै नक्कली आयुर्वेदिक औषधीबाट जोगिन पनि सचेतना दिइरहेका छन् । फेसबुकमा लामो पोस्ट लेख्दै उनले भनेका छन्, ‘बजारमा आयुर्वेदको नाममा देखिने आकर्षक विज्ञापनमा नझुक्किनुहोला । ति नक्कली औषधी हुन् । सक्कली औषधीको विज्ञापन गर्न पाइँदैन ।’ 

अहिले भाइरसमा केही परिवर्तन आएता पनि पहिलेदेखि भन्दै आएको रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेद औषधी अहिलेको समस्यामा पनि उत्तिकै प्रभावकारी भएको उनको तर्क छ । उनका अनुसार आयुर्वेदिक औषधीले कोभिड निको गराउने नभई सुरूदेखि सेवन गर्दा रोग जटिल बन्न दिँदैन । यसले स्टामिना बढाउँछ भने दर्तावाल आयुर्वेद चिकित्सक र स्वास्थ्यकर्मीको सिफारिस अनुसार आयुर्वेद औषधी सेवन गर्नु पर्छ ।

तर ‘आयुर्वेद केही होइन’ भनी सुनियोजित रूपमा भ्रम फैलाएको समेत उनले बताएका छन् । ‘आयुर्वेदलाई बजेट, कार्यक्रम विहिन बनाएर स्वास्थ्य भनेको एलोपेथी औषधी हो, रोकथाम भनेको भ्याक्सिन हो, आयुर्वेद केही होइन भनी सुनियोजित रूपमा भ्रम फैलाइयो,’ उनले फेसबुकमा लेखेका छन्, ‘जनस्वास्थ्य संकटकालको परिस्थिति बनिसक्यो । हाम्रो स्वास्थ्य प्रणाली कोरोनाको अगाडि निरिह भैसकेको छ । समयमै सचेत रहौँ । जनस्वास्थ्यको मापदण्ड पालन गरौँ, आयुर्वेद जडिबुटी सेवन गरौँ ।’

 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x