स्वास्थ्य

कोभिडसँग किन लाग्‍न छाड्यो डर ?

सृजना खड्का |
कात्तिक २८, २०७७ शुक्रबार ८:५८ बजे

सांकेतिक तस्बिर

काठमाडौं : कोभिड-१९ को कारण चैत्र ११ गते देशभर लकडाउन लाग्यो । लकडाउन सुरु हुनुभन्दा अगाडि नै ललितपुर नख्खुकी आरती श्रेष्ठले दुई-तीन महिनालाई पुग्‍ने गरी ग्यास, चामल र खाद्यान्‍न किनेर ल्याइ सकेकी थिइन् । ग्यास चामल मात्रै होइन, दुई-तीन महिनालाई पुग्‍ने गरी तरकारीको समेत जोहो गरिसकेकी थिइन् ।

‘त्यो बेला कोरोना जेबाट पनि सर्न सक्छ भनेर समाचारहरु आएकाले एकदमै डर लागेको थियो,’ उनले सम्झिइन्, ‘दिनदिनै तरकारी लिन जाँदा त्यहाँबाट पनि कोरोना सर्ला भनेर दुईतीन माहिनालाई एकैचोटी दाल र गेडागुडी किनेर ल्याएँ । लकडाउनभरि हाम्रो घरमा दाल र गेडागुडी मात्र पाक्यो ।' लकडाउनका बेला देशमा कति कोभिड संक्रमित थिए उनलाई कन्ठै थियो । छिमेकीहरु धेरैजसो उनीसँगै अपडेट लिन्थे । हाल उनलाई नेपालमा कति संक्रमित छन् थाहा छैन ।
‘कति पुगे र ?’ उनले प्रतिप्रश्न गरिन् । ‘२ लाख नाघे नि !’‘नेपालमा कि विश्वमा ?’ उनले जिज्ञासा राखिन् ।


उनले गन्ती गर्दा संक्रमितको संख्या दुई हजार पनि पुगेको थिएन । जुनबेला उनी कोरोनाबाट बच्न पूरै सतर्क थिइन् । अहिले भने उनी पहिलाजस्तो सतर्क छैनन् । ‘पहिला पो लकडाउनले कति थपिए कति मरे भनेर हेर्न फुर्सद हुन्थ्यो,’ उनले भनिन, ‘अहिले त कामले फुर्सद भए पो !’

काठमाडौँ, बौद्धकी निस्ता सुनुवार सुरुसुरुमा कोरोनासँग साह्रै डर लाग्थ्यो । घरभित्रै बस्दा पनि उनी हात धोएको धोएै गर्थिन् । स्यानिटाइजर दलेको दलै गर्थिन् । अहिले भने बाहिर गएर आए पनि उनी हात धुन र स्यानिटाइजर दल्न बिर्सिन थालेकी छिन् ।

नेपालमा कोभिड-१९ को भाइरस देखिन थालेपछि त्यसको ६ महिनासम्म उनी घरबाट बाहिर निस्किनन् । पहिला बाहिरबाट ल्याएको खानेकुरा खान डराउने उनी अहिले प्रायजसोः रेस्टुरेन्टमा गएर स्वाद फेर्छिन् । साथीहरुसँग बर्थडेदेखि एनिभर्सरी पार्टीसमेत मनाउँछिन् । ‘भक्तपुर, मध्यपुर थिमी बस्ने रायन गौतमलाई लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले सडकमै घोप्टो बनाएर भाटाले हान्यो ।अबदेखि घरबाहिर निस्किदिनँभन्दै कान सामातेर त्यो बेला उनले उठबस पनि गर्नुपरेको थियो । 

त्यो दिनबाट उनी लकडाउनभरि घर बाहिर निस्किएनन् । ‘साथीहरुको लहैलहैमा केही हुँदैन भनेर हिँडिरहेको थिएँ, पुलिसले समात्यो,’ उनले भने, ‘पुलिसले भाटाले हानेदेखि घरबाहिर निस्किनँ । त्यो बेला बाहिर निस्किन पुलिसको डर लाग्थ्यो । पछि घरमा बसेर समाचार हेर्न थालेपछि पुलिसको भन्दा कोरोनाको डर लाग्न थाल्यो ।’ अहिले भने गौतम जताततै निस्किन्छन् । ‘म मात्रै होइन, सबैजना घरबाट निस्किन्छन्,’ उनले भने, ‘आफूमात्र के घरभित्र बस्नु भनेर म पनि कामै नभए पनि यसो साथीभाइसँग चियासिया खान निस्किन्छु ।’

नबिराउनु नडराउनु 
जनस्वास्थ्य विज्ञ डा.शरद वन्त कोभिड पहिले धेरैलाई नयाँ कुरा लागेकाले डर पैदा गरेको र समयसँगै सबैलाई सामान्य लाग्दै गएको बताउँछन् । ‘विश्वव्यापी रुपमा फैलिरहेको हुनाले सुरुमा मानिसहरुलाई के-के न होला जस्तो लाग्यो,’ उनी भन्छन्, ‘समयसँगै मानिसहरुमा कोभिडसँग लड्ने आत्मविश्वास बढ्दै गयो । यो राम्रो कुरा हो । तर, यो आत्मविश्वास लापर्वाहीमा कदापि परिणत हुनु हुँदैन । बिराएनौँ भने हामी डराउनु पनि पर्दैन ।’

कोभिडबाट कम त्रसित हुनुलाई डा. वन्त सकारात्मक रुपमा लिन्छन् । ‘निडर हुँदा कोभिडसँग लड्ने आत्मविश्वास बढ्छ,’ उनी भन्छन्, ‘यो राम्रो कुरा हो । तर, निडर भन्दैमा बिनाकाम अरु बेलाजस्तै लखरलखर भने हिँड्नु भएन । हाम्रो लापर्वाहीको कारण अहिले दिनमा लगभग २० जना संक्रमितले ज्यान गुमाइरहेका छन् ।’

सुरुमा जनता मात्रै नभएर सरकार पनि कोभिडबाट डराएको उनी बताउँछन् । ‘सुरुमा सामान्य मानिसहरु मात्र होइन सरकार पनि डराएको थियो,’ उनी भन्छन्, ‘त्यो बेला हामीले डराउनुभन्दा पनि सावधानीपूर्वक कोरोनासँग लड्नुपर्छ भनेका थियौँ । तर, लकडाउनमा पनि संक्रमण बढ्यो ।

मनोचिकित्सक प्रा.डा रवि शाक्यका अनुसार मानिसहरु पहिला कोभिडबाट डराए पनि अहिले नडराउनुको विभिन्न कारणहरु भएको बताउँछन् । ‘हामीले घरमा नयाँ टेलिभिजन ल्यायौँ भने बिग्रिन्छ भनेर डराई-डराई चलाउँछौँ,’ उनी भन्छन्, ‘तर, चलाउँदै गएपनि कहाँ के छ हामीलाई थाहा हुन्छ र, आँखा चिम्लिएर पनि त्यसको बटनहरु थिचेर चलाउन सक्ने हुन्छौँ । कोरोनाको हकमा पनि ठ्याक्कै त्यस्तै भएको हो ।’

नेपालमा कोभिड भित्रिएको लामो समय भइसकेको र रोजीरोटीको सबालको कारणले पनि धेरै जना घरभित्र बस्न नसकेको उनी बताउँछन् । ‘अहिलेको समयमा मानिसहरु आर्थिक कारणले तनाबमा छन्,’ उनी भन्छन्, ‘तनावको बेलामा मानिसले जस्तोसुकै जोखिम पनि मोल्न तयार हुन्छन् । यसकारण पनि मानिसहरु जेसुकै होस् भनेर डराउन छाडेका छन् ।’

कोरोनाबाट नडराए पनि यसका लागि सावधानी भने अनिवार्य रुपमा अपनाउनुपर्ने उनी बताउँछन् । ‘जसरी हामी बाइक चढ्दा हेल्मेट लगाउँछौँ र भविष्यमा आउने दुर्घटनाबाट बच्छौँ,’ डा. शाक्य भन्छन्, ‘त्यसरी नै कोरोनाबाट बच्न सावधानी अपनाउँदा भाविष्यमा निम्तिने दुर्घटनाबाट पनि बच्न सक्छौँ ।’

धेरै मानिसहरु आफू वा आफ्नो परिवारलाई नपरेको कारणले नचेतेको उनी बताउँछन् । ‘जबसम्म आफू र आफ्नो परिवारलाई पर्दैन तबसम्म मानिसहरुको चेत खुल्दैन,’ उनी भन्छन् । 

दुई लाख नाघे कोभिड संक्रमित
नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख नाघिसक्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या दुई लाख तीन हजार २ सय ४२ पुगेको छ । तीमध्ये ३८ हजार ४ सय ६१ संक्रिय संक्रमित छन् । हालसम्म कोभिडबाट मृत्यु हुनेहरुको संख्या ११ हजार ८९ पुगेको छ । 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x