स्वास्थ्य

विद्यालय खोल्ने कि बन्द गर्ने ?

कोभिड फैलियो, केही समय विद्यालय बन्द गरौँ : स्वास्थ्य निर्देशनालय, अनलाइन प्रभावकारी भएन, मापदण्ड अपनाएर चलाउछौँ : विद्यालय

अनिष भट्टराई |
बैशाख ६, २०७८ सोमबार ६:४२ बजे

सांकेतिक तस्बिर

पोखरा : ‘कोभिड- १९ को दोस्रो भेरियन्टको असर बढी विद्यालयका बच्चाहरुमा, त्यसमा पनि ११/१२ वर्षका बालबालिकामा बढी देखिएको छ । पोखरामा पनि स्कुलहरुमा पनि हुन सक्ने र मेरो बाबु पढ्ने विद्यालयमा १ जनामा देखिएकाले स्कुल न पठाउने निर्णय गरें । सबै समयमै सचेत बनौं ।’ पोखराका पत्रकार रविभूषण पराजुलीले शुक्रबारसामाजिक सञ्जालमा लेखे । उनको यो लेखमा धेरैले कोभिडको दोस्रो लहर विद्यालयमा देखिएका बेला विद्यालय बन्द हुनुपर्ने सुझाएका छन् ।

अहिले कोभिडको दोस्रो लहर विद्यार्थीहरुमा बढी देखिएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार बालबालिका र विद्यार्थीमा कोभिडको दर बढी छ । ‘पहिलाभन्दा अहिले बालबालिकामा संक्रमण दर बढी छ, १०४ संक्रमितमध्य २७ जना बालबालिका छन्,’ शर्माले भने । 


विद्यार्थी र बालबालिकामा कोभिड संक्रमण दर बढ्दै जाँदा सरकारले विद्यालय बन्द गर्ने/नगर्ने बारे ठोस निर्णय लिन सकेको छैन । शनिबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सरकारलाई सहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सरकारलाई आग्रह गरेको थियो । तर निजी विद्यालयहरुको संगठन (प्याब्सन) लगायतका संस्थाले विद्यालय बन्द नगर्न भनेपछि सरकारले विद्यालय केही समय खुला नै राखेको छ । मन्त्रिपरिषद्‌ले ठोस निर्णय नगर्दा संसदीय समिति, स्वास्थ्य मन्त्रालयले विद्यार्थीलाई विद्यालय नजान आग्रह गरेका थिए । सरकारले विद्यालय बन्द नगर्दा कतिपय अभिभावक स्वयं नै आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने निर्णयमा पुगेका छन् ।

पोखरा महानगरपालिका १० रामबजारका पूर्ण न्यौपानेका छोरा २ कक्षामा अध्ययनरत छन् । पूर्णलाई पनि बढ्दो कोभिड संक्रमणसँगै छोरालाई विद्यालय पठाउन डर छ । उनी आइतबारबाट आफ्ना छोरालाई विद्यालय नपठाउने बताउँछन् । ‘यत्रो कोभिड बढिरहेको छ, गुगल हेरेको बालबालिकामा डर बढी रहेछ, केही दिन पठाउँदिनँ,’ उनले भने । छिमेकका विद्यालयमा कोभिड संक्रमण देखिएपछि बन्द भएकाले आफू विद्यालय नपठाउने निर्णयमा पुगेको पूर्णले बताए । 

पोखरामा अहिलेसम्म ३ विद्यालयका विद्यार्थीमा कोभिड संक्रमण देखिएको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका होस्टेलमा बसेका विद्यार्थीमा शैक्षिक भ्रमण सकेर आएपछि कोभिड देखिएको थियो । होस्टेलभित्रै भएका बेला कोभिड पुष्टि भएपछि त्यो फैलन पाएको थिएन । चैत अन्तिम साता बिरौटाको बालगृहमा एकैदिन १६ बालबालिकामा कोभिड पुष्टि भएको थियो । पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार त्यस बालगृहमा पोखराका ९ विद्यालयका विद्यार्थी थिए ।

अहिलेसम्म ती विद्यालयका विद्यार्थीमा परीक्षण गर्दा ७जनामा कोभिड संक्रमण देखिएको छ । ‘ग्लोबल कलेजियटमा ६ र मदरल्याण्डका १ विद्यार्थीमा पुष्टि भयो, अरु विद्यालयका विद्यार्थीमा देखिएन,’ उनले भने, ‘अरु विद्यालयका विद्यार्थीमा पनि परीक्षण गर्दै छौं ।’ 

विद्यार्थीमा संक्रमण देखिएपछि ग्लोबल कलेजियटले भने आइतबारबाट एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । ग्लोबल कलेजियटका सह–प्रधानाध्यापक पद्मराज ढकाल अबको १ साता विद्यालय बन्द गरिने बताए । कोभिड पुष्टि भएपछि ९ र १० का विद्यार्थीको पढाइ वैशाख ९ बाट नै रोकिएको छ । ‘१० गतेसम्म विद्यालय बन्द गर्छौं, त्यति बेलासम्म सरकारको पनि ठोस निर्णय आउला, नआए २ सिफ्टमा पढाउँछौं,’ ढकालले भने । 

मदरल्याण्डका १ विद्यार्थीमा कोभिड देखिएपछि विद्यालयले सो कक्षामा अधययनरत विद्यार्थीको कोभिड परीक्षण गराएको थियो । कोभिड संक्रमित विद्यार्थीमा पनि सर्ने खालको नभएकाले आफूहरु सावधानीका साथ विद्यालय सञ्चालन गरिरहेको विद्यालयका संस्थापक निर्देशक त्रिभुवन शर्माले बताए । ‘देखिएका विद्यार्थीमा सर्ने किसिमको होइन भनेर डाक्टरले भन्‍नुभएको छ, सबै सावधानी अपनाएर विद्यालय सञ्चालन गरेका छौं,’ उनले भने ।

कक्षा चलाउँछौँ : निजी विद्यालय 
निजी तथा आवसिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्की अध्यक्ष प्रेम शर्मा अहिले नै विद्यालय बन्द गर्नुपर्ने स्थिति नरहेको बताउँछन् । यसअघि लगाइएको लकडाउनका कारण विद्यार्थीको शैक्षिक सत्रमा परेको असर अझै पनि नहटेकाले अहिले नै विद्यालय बन्द गर्न नहुने उनको तर्क छ । कोभिड संक्रमण देखिएका विद्यालयहरु केही समय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न उनको सुझाव छ । ‘कोभिड देखिएका विद्यार्थीलाई घरमै आइसोलेट गर्न सकिन्छ, कुनै कक्षा वा विद्यालयमात्रै बन्द गर्दा हुन्छ, अनलाइन कक्षा खासै प्रभावकारी देखिएन,’ शर्माले भने । 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीका अध्यक्ष रामजी शर्मा विद्यालय बन्द गरेरमात्रै कोभिड नरोकिने बताउँछन् । कास्कीका विद्यालयमा अहिले भयावह स्थिति नरहेकाले आफूहरु मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्ने बताए । ‘कलेजहरुमा त देखिएकै छैन, मापदण्ड अपनाएर कक्षा चलाउनुपर्छ,’ शर्माले भने, ‘पहिला लकडाउन गरेर पनि कोभिड रोकिएको होइन, त्यही पनि महानगरसँग छलफल गर्दैछौं ।’

खेलाची गर्ने समय होइन : स्वास्थ्य निर्देशक शर्मा
मार्चको दुई साता हामीले पठाएका १७४ स्याम्पलमध्ये १०४ जनामा युके भेरियन्ट देखिएको थियो । तीमध्ये पनि २७ जना बालबालिका छन् । अहिले बालबालिका आफू सुरक्षित भएपनि घरमा बस्दा अभिभावक, हजुरबुबा-हजुरआमासँग बढी नजिक हुन्छन् । बालबालिका क्यारियर पनि हुन सक्छन् । अहिले हाम्रो छिमेकी राष्ट्र भारतमा दिनको २ लाख जनामा संक्रमण देखिएको छ । यसकारण अहिले हामीले झनै बढी सतर्कता अपनाउनु पर्ने बेला आएको छ ।

यसबीच केही दिन अघि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न, खोल्नै परे मास्क, स्यानिटाइजर प्रयोग गर्न भनेको छ । स्वास्थ्य निर्देशनलायले केही दिनअघि शिक्षक, विद्यालय प्रतिनिधि, महानगरको शिक्षा महाशाखा, प्याब्सन, एनप्याब्सनसँग छलफल गर्‍यो । यहाँ पनि ठूला विद्यालयहरु, होस्टेलसहितका विद्यालयहरुमा संक्रमण देखिएको छ । अहिले खेचाची गर्ने समय होइन, केही समय विद्यालय बन्द गर्नु नै उचित हुन्छ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x