स्वास्थ्य

कोभिडले घरभित्रै थुनिए स्तन क्यान्सरका बिरामी

सृजना खड्का |
कात्तिक २५, २०७७ मंगलबार ७:२३ बजे

काठमाडौं : चार वर्षअघि नुवाकोटकी अनिता बस्नेतलले स्तन क्यान्सरलाई जितिन् । दोस्रो चरणमा पुगिसकेको क्यान्सर निको पार्न उनी २४ दिन भक्तपुर क्यान्सर अस्पताल बसिन् । उपचारको क्रममा उनको एउटा स्तन शल्यक्रिया (अपरेशन) गरेर निकालियो । डाक्टरले फेरि क्यान्सर नदोहोरियोस् भन्दै औषधी पनि दिए । त्यो औषधि उनले पाँच वर्षसम्म नियमित खानुपर्छ । यतिमात्रै होइन, पुनः परीक्षण (चेकअप) का लागि बेलाबखत अस्पताल पनि धाइरहनुपर्छ ।

चार वर्ष अस्पताल धाइसकेकी उनको अस्पताल धाउने समय अझै एकवर्ष बाँकी छ । तर, कोभिडपछि उनी फलोअपका लागि अस्पताल जान सकेकी छैनन् । ‘कोरोना सुरु भएदेखि अहिलेसम्म सार्वजनिक गाडीमा चढेकी छैन,’ उनले भनिन्, ‘सार्वजनिक गाडी चढेर भक्तपुरसम्म पुग्ने आँट छैन ।’


पछिल्लोपटक चेकअपका लागि उनी माघमा अस्पताल गएकी थिइन् । त्यसपछि कोभिड सुरु भयो । ‘चेकअप गर्न नपाए पनि औषधि टुटाउनुहुन्न भनेर टन्न औषधि किनेर राखें,’ अनिताले भनिन्, ‘फेरि बल्झिने हो कि भन्ने डर मनमा थियो । तैपनि, कोरोनाको डरले नौ महिनासम्म अस्पताल टेकिनँ ।’

दसैँअघि उनी एकपटक अस्पताल गएकी थिइन् । तर, चेकअप गर्न होइन, औषधी किन्न । अरुबेला उनी अल्ट्रासाउन्ड गरेर स्तनमा केही समस्या भए÷नभएको स्पष्ट भएर मात्र फर्किन्थिन् । यसपटक भने उनले अल्ट्रासाउन्ड गरिनन् । ‘अल्ट्रसाउन्ड गर्दा सबैलाई एउटै मेसिन प्रयोग गरिन्छ,’ उनले भनिन्, ‘चेक गरेर हत्तपत्त नुहाइहाल्न घर नजिक छैन । एउटा रोगबाट बच्न जाँदा अर्को रोग लाग्यो भने के गर्ने ?’

प्रतिमा कसपाल भक्तपुर सल्लाघारीमै बस्छिन् । तर, भक्तपुरमै भएर पनि उनी फलोअपका लागि अस्पताल जाने आँट गर्न सकेकी छैनन् । उनको पनि स्तन क्यान्सरको कारण अपरेसन गरेर एउटा स्तन निकालिएको थियो । फेरि नबल्झियोस् भनेर उनी औषधी खाइरहेकी छिन् । भक्तपुर क्यान्सर अस्पालमा अहिले फलोअपका बिरामीहरु घटेका छन् । ‘फलोअपमा आउनुपर्नेहरु कोही डरले कोही अस्पताल र घर टाढा भएर आउन सकिरहेका छैनन्,’ अस्पतालकी मेडिकल अफिसर डा. आकृति पाण्डेले भनिन् । ‘फलोअपमा नआउँदा फेरि क्यान्सर बल्झिने सम्भावना हुन्छ,’ अस्पतालका स्तन क्यान्सर विशेषज्ञ डा.उत्सवमान श्रेष्ठले भने, ‘समयमा फलोअप गर्न नसकेको खण्डमा क्यान्सर पुनः बल्झिने संभावना हुन्छ ।’ 

भक्तपुर क्यान्सर अस्पतालमा कोभिड सुरु हुनुभन्दा पहिला स्तन क्यान्सर जचाउनका लागि ओपीडीमा तीन सयका हाराहारीमा मानिसहरु आउँथे । अहिले मुस्किलले सय जना पुग्छन् । डा. श्रेष्ठका अनुसार पहिला दिनमा ११/१२ जना नयाँ स्तन क्यान्सरका भएका बिरामीहरु पत्ता लाग्थे भने अहिले मुस्किलले चार,पाँच जना मात्रै पत्ता लाग्छन् ।  ‘यो तथ्यांकले पनि कोभिडका कारण स्तन क्यान्सरका बिरामीहरु कसरी घरभित्रै थुनिएका छन् भन्ने देखाउँछ,’ डा. श्रेष्ठले भने, ‘त्यस्तै सुरुमा  पहिलो र दोस्रो स्टेजका बिरामीहरु धेरै आउँथे भने अहिले अन्तिम स्टेजमा पुगेपछि मात्रै बिरामीहरु आउन थालेका छन् ।'

रोग लागेको थाहा पाए पनि बिरामीहरु अहिले अस्पताल आउनै डराउने डा. श्रेष्ठले बताए । ‘कोभिड डरले मानिसहरु क्यान्सर पालेर बसिरहेका छन्,’ उनले भने, ‘पहिला क्यान्सर भन्नेबित्तिकै तर्सिएर आउनेहरु पनि अहिले चुपचाप घरमै बसिरहेका छन् ।’ कतिपय अवस्थामा भने चिकित्सकहरुलाई नै कोभिड पाजेटिभ देखिएकाले जनशक्तिमा समेत कमी रहेको उनले बताए ।

दोब्बर आर्थिक भार
अस्पतालले पीसीआर परीक्षण नगरी उपचार नगराउने भएकाले धेरै बिरामीहरुमा आर्थिक भार परेको अस्पतालका शल्य चिकित्सिक डा. मनिष रोयले बताए । ‘जुनसुकै अस्पतालले पनि अहिले पीसीआर परीक्षण नगरी उपचार गर्दैनन्,’ उनले भने, ‘यसले पनि बिरामीलाई थप आर्थिक भार पारेको छ । यसका कारण पनि उपत्यकामै बस्नेहरु पनि उपचारमा आउन गाह्रो मान्छन् । उपत्यका बाहिरका झन् कसरी आऊन् ।’

अस्पतालमा अर्को एउटा समस्या पनि छ । तत्काल अप्रेसन गर्नुपर्ने बिरामीहरुलाई नसकिएको गुनासो डा. रोयले गरे । ‘तत्काल अप्रेसन गर्नुपर्ने कतिपयलाई कोभिड पोजेटिभ देखिएकाले अप्रेशन गर्न सकिएको छैन,’ उनले भने, ‘पोजेटिभ देखिंदादेखिदै हामीले अप्रेसन गर्न मिल्दैन । बेहोस बनाएर अप्रेसन गर्नुपर्ने भएकाले जोखिम हुन्छ । अप्रेसन नै गर्नुपरे पनि पीपीईदेखि सबै कुरा बिरामी आफैले व्यवस्था गर्नुपर्छ । यसकारण पनि बिरामीलाई पहिलाको भन्दा आर्थिक भार बढी पर्छ ।’

डा. श्रेष्ठ र डा. रोय बिरामीलाई सबेसम्म फोन, भाइबर, म्यासेन्जर र ह्वाट्स एपबाट परामर्श दिन्छन् । ‘क्यान्सर भन्नेबित्तिकै मानिसहरु आत्तिन्छन्,’ डा. उत्सवले भने, ‘अस्पताल आउँदा झनै कोरोनाको जोखिम हुने भएकाले सामान्य अवस्थाका बिरामीहरुलाई सकेसम्म भर्चुअल काउन्सिलिङ दिने गरेका छौँ ।’

अहिलेको अवस्थामा क्यान्सरबाट मात्रै नभएर कोरोनाबाट बच्न पनि उत्तिकै सजग हुनुपर्ने डा. रोयले बताए । ‘क्यान्सरबाट बच्ने होडमा कोरोना लाग्न सक्छ यसमा ध्यान पु¥याउनुपर्छ,’ उनले भने, ‘क्यान्सरको उपचार गराइरहेका बिरामीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले एकदमै ध्यान पुर्‍याउनुपर्छ । कोरोनासँगै क्यान्सरलाई पनि ध्यान दिनुपर्छ ।’

हरेक वर्ष अक्टोबर महिनालाई विश्वभर ‘स्तन क्यान्सरबारे सचेतना’ महिनाको रुपमा मनाउने गरिन्छ । ‘पहिलाका वर्षहरुमा अक्टोबर महिनामा स्तन क्यान्सरसम्बन्धी धेरै कार्यक्रमहरु गरिन्थ्यो,’ डा. श्रेष्ठले भने, ‘यो वर्ष स्तन क्यान्सरका लागि सचेतना माहिना ‘जूम मिटिङ’ मा मात्र सीमित भयो ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x