स्वास्थ्य

तीव्र फैलिँदै ‘बिए डट फाइभ’ : ‘डेल्टा’मा झैँ स्वाद र गन्ध गुमाउँदै विरामी, सचेत बन्न विज्ञहरूको सुझाव

कमल विष्ट |
असार ३२, २०७९ शनिबार १४:५५ बजे

शुक्रबार दिउँसो टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई भेट्न एकजना विरामी आए । २४ वर्षीय ती बिरामीलाई पाँच दिनअघि ओमिक्रोनको उपप्रजाति ‘बिए डट फाइभ’ पुष्टि भएको थियो । खलखल पसिना आउने, काम ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएपछि परीक्षण गर्दा उनमा ‘बिए डट फाइभ’को संक्रमण देखिएको थियो । 

केही दिनको आराम र हेरविचारपछि उनी तङ्ग्रिँदै गए । पसिना, ज्वरो र खोकी उल्लेख्य मात्रामा घट्यो । तर, स्वाद र गन्ध फिर्ता हुन सकेन । उनलाई आफूले स्वाद र गन्ध गुमाइरहेको छु भन्ने थाहै थिएन । पाँचौ दिनमा मात्र हेक्का भयो । त्यसपछि उनी मनमा ठूलो डर बोकेर तत्कालै टेकु अस्पताल पुगे । 


‘ती विरामी आफूले स्वाद र गन्ध थाहा नपाइरहेकोमा बडो चिन्तित थिए । स्वाद र गन्ध अब कहिल्यै फर्कँदैन कि भन्ने चिन्ताले उनलाई गाँजेको थियो,’ डा. पुनले सुनाए, ‘मैले चिन्ता नलिनुस्, एक डेढ सातामा फर्किहाल्छ भनेपछि उनी अलि शान्त भएर गए ।’

ती बिरामीले सुनाएको उक्त लक्षणले डा. पुनको एउटा शंकालाई पुष्टि गरिदियो । डा. पुनले विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यममा विभिन्न ‘भाइरोलोजिष्ट’का लेखहरू पढ्दा थाहा पाएका थिए, ‘बिए डट फाइभ’बाट संक्रमित हुँदा बिरामीले स्वाद र गन्ध गुमाउँछ । उनी यो विषयमा थप अध्ययन गरिरहेका थिए । आफूकहाँ आउने बिरामीलाई उनी गन्ध र स्वाद गुमाउनुभएको छ कि छैन भनेर सोध्दथे, तर कसैले पनि यस्तो सिकायत गरेको थिएन ।

‘हिजो आएका बिरामीलाई मैले के–के भएको छ भनेर सोध्दा उनले सबैभन्दा पहिला स्वाद र गन्ध गुमाएको बताए । डेल्टा भेरियन्टबाट संक्रमित हुँदा गन्ध र स्वाद सबैले गुमाउँथे । तर, ओमिक्रोनमा त्यो थिएन । तर, यसको नयाँ उपप्रजाति बिए डट फाइभमा त्यो लक्षण फेरि देखिएको छ,’ डा. पुनले भने । 
यस विषयमा आफूले थप अध्ययन गरिरहेको उनले बताए । 

तीव्र फैलिँदै ‘बिए डट फाइभ’

नेपालमा असार १६ गते ओमिक्रोनको उपप्रजाति ‘बिए डट फाइभ’ पहिलोपटक भेटियो । त्यसयता यो तीव्र रुपमा फैलिरहेको छ । असार १७ देखि ३१ गतेसम्मको तथ्यांक हेर्ने हो भने कोरोना तीन गुणाले बढिरहेको छ ।

असार १७ गते २ हजार ८ सय १४ नमुना परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएकोमा असार ३१ गते शुक्रबार ३ हजार ७ सय १८ नमुना परीक्षण गर्दा २ सय २९ जनामा संक्रमण देखिएको छ । 

असार १ देखि असार ३१ सम्म आइपुग्दा संक्रमण १० गुणाले बढेको छ । यसरी दिन दुई गुणा रात चौगुणा बढ्दै गइरहेको कोरोनाप्रति सबै सचेत हुनुपर्ने डा. पुन सुझाउँछन् । 

२०२२ को सुरुवातमा दक्षिण अफ्रिकामा देखिएको यो नयाँ उपप्रजाति हालसम्मकै संक्रामक छ । यसको संक्रमण (आर नट) १८ जुन छ । अर्थात एकजना संक्रमितले १८ जनासम्मलाई कोरोना सार्न सक्छ । ओमिक्रोनको संक्रमण दर १४ छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कुल जनसंख्याको करिव ७० प्रतिशत नागरिकले मात्र पूर्ण मात्र खोप र ३२ प्रतिशतले मात्र बुस्टर डोज पाएका छन् । ‘बिए डट फाइभ’को जोखिम पूर्ण मात्र खोप लगाइसकेकाहरूलाई पनि हुने भएकाले सबैले सावधानी अपनाउन आवश्यक रहेको उनी बताउँछन् । 

‘ती युवकले पूर्ण मात्रा खोप लगाएका थिए, तर पनि उनमा संक्रमण देखियो । पूर्ण मात्रा लगाएकाहरूलाई पनि यसको जोखिम छ,’ उनले भने, ‘हामी फेरि एकपल्ट सचेत हुनुपर्ने बेला आएको छ ।’

त्यसो त यो हालसम्मकै संक्रामक भए पनि डेल्टा र ओमिक्रोन जति घातक नभएको उनी बताउँछन् । तर, जनस्वास्थ्यका मापदण्ड अनुशासित भएर अपनाउनुपर्ने उनको भनाइ छ । 

‘अहिले बन्दाबन्दी छैन । बिस्तारै सबै क्षेत्रहरू चलायमान हुँदैछन् । मानिसहरूले कोरोना बिस्तारै बिर्सिन थालेको देखिन्छ । सबैले मास्क लगाएको देखिँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामी सबै सचेत हुन आवश्यक छ । हामीले फेरि गम्भीर भएर जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्ने देखिन्छ । र, मास्कको प्रयोग गर्ने, साबुन–पानीले हात धुने, भौतिक दूरी कायम गर्नेलगायतका मापदण्डहरू सबैलाई थाहा छ ।’

दक्षिण अफ्रिकामा भेटिएको यो प्रजाति अहिले विश्वव्यापी रुपमा फैलिरहेको छ । बेलायत, जर्मनी, अमेरिकालगायत विभिन्न मुलुकमा पुगिसक्यो । छिमेकी मुलुक भारतमा पनि पछिल्लो समय दिनप्रतिदिन बढिरहेको छ । 

गत मार्चमा यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरिसकेको छ । यो कत्तिको खतरनाक छ भनेर पूर्ण अध्ययन भने भइसकेको छैन। 

सचेत रहन विज्ञको सुझाव

जनस्वास्थ्यविद् प्रा. डा शरदराज वन्त फेरि एकपल्ट नागरिक र सर्वसाधारण गम्भीर बन्नुपर्ने बेला भएको मान्छन् । उनी भन्छन्, ‘अहिले जोखिम कम भएको भएको हो, जोखिमबाट मुक्त भइसकेका होइनौँ । जोखिमका स्रोतहरू अझै पनि विद्यमान छन् । त्यसैले हामी अझै पनि सचेत हुन आवश्यक छ ।’

मुख्यरुपमा तीनवटा कुरामा हामीले ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘यी हामीले नजानेका कुरा पनि होइनन् । विगत तीन वर्षदेखि सुन्दै र देख्दै आएका कुरा हुन्,’ उनले भने, ‘पहिलो कुरा त नागरिक नै सचेत हुन जरुरी छ । नागरिकले मास्क लगाउने, साबुन–पानीले हात धुने, भौतिक दूरी कायम गर्नेलगायतका जनस्वास्थ्यका मापदण्ड अनुशासित भएर पालना पर्छ ।’

उनले अगाडि भने, ‘अहिले अवस्था त गम्भीर भइसकेको छैन । न बन्दाबन्दी गर्नुपर्ने अवस्था छ न त आवश्यकता नै । तर, हामी अहिलेदेखि नै सचेत हुन आवश्यकता भने छ । यो बेला त्रसित हुनेभन्दा पनि सावधान हुने हो । हामी जहाँ छौँ, जे गरिरहेका छौँ, हामीले जनस्वास्थ्यका मापदण्ड अपनाउन सक्छौँ । हामी अहिले नै सचेत भयौँ भने गम्भीर अवस्था नै आउँदैन ।’

डा. वन्तले सुझाएको दोस्रो उपाय हो– सरकारले परीक्षण र बुस्टर डोजको दायरा बढाउनुपर्ने । अनि अन्तिम चाहिँ, संक्रमितले अपनाउनुपर्ने सावधानी । आफूलाई संक्रमण पुष्टि भइसकेपछि संक्रमितले आइसोलेसनमा बस्नेदेखि लिएर सामाजिक दूरी कायम गर्नेलगायतका कार्यहरू गम्भीरतापूर्वक अपनाउनुपर्ने उनको भनाइ छ । 

‘संक्रमण पुष्टि भइसकेपछि बिरामी उन्मुक्त भएर हिँड्नु हुन्न । उसले आफ्नो कारणले अरु संक्रमित हुनसक्छ भन्ने कुराको राम्रोसँग हेक्का राख्नुपर्छ,’ उनले भने । 
उनले थपे, ‘पूर्ण मात्रा खोप र बुस्टर डोज दुवै लगाइसकेकाहरूले पनि जनस्वाथ्यका मापदण्ड पालना गर्नुपर्छ । सबै जिम्मेवार हुन आवश्यक छ ।’


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x