स्वास्थ्य

सुदूरपश्‍चिममा भित्रियो कोभिडको नयाँ प्रकार

नवराज पनेरु |
चैत २२, २०७७ आइतबार ६:४५ बजे

फाइल तस्बिर सेती अस्पताल

धनगढी : सुदूरपश्‍चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रकार भित्रिएको छ । प्रदेशका तीन जनामा नयाँ प्रकार (भेरियन्ट) कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्‍चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
 
उनले थपे, ‘नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौं । उनीहरूमध्ये तीन जनामा भेरियन्ट देखिएको छ ।’
 
उनका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका व्यक्तिमा संक्रमण देखिएको हो । उनीहरू अहिले होम आइसोलेसनमा छन् । सुदूरपश्चिम प्रदेशमा अहिले भारतबाट स्वदेश फर्किनेको संख्या निकै बढेपछि कोभिडको संक्रमण दर बढ्ने र नयाँ प्रकारको कोभिडले नियन्त्रणमा थप जटिलता आउने देखिएको छ । 

भारतबाट फर्कने नेपालीको एन्टीजेन परीक्षण गर्दै आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । गड्डाचौकी र गौरीफन्टा नाका हुँदै दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको संख्या सात सयदेखि एक हजारको हाराहारीमा रहँदै आएको छ । भारतमा कोरोनाको संक्रमण बढेपछि मजदुरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन् । रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको संख्यासमेत बढ्दो छ ।


के हो कोभिडको नयाँ प्रकार ?
सन् २०१९ को अन्तिममा चीनको वुहान सहरबाट फैलिएको काभिडको प्रकृतिमा निकै परिवर्तन आइसकेको छ । प्रकृति फेरिएपछि नयाँ भेरियन्ट पनि भिन्न किसिम छ । प्रयोगशालामा गरिएको अध्ययनमा भाइरसको संक्रमित पार्न सक्ने क्षमता पनि बढेको पाइएको छ । यस्तोमा आगामी दिनमा कोभिड संक्रमित तीव्र गतिमा फैलिन सक्ने चिन्ता बढेको छ । 

अहिले देखिएको भेरियन्टको सुरुआत सेप्टेम्बरको मध्यमा बेलायतको दक्षिणपूर्वमा देखिएको थियो । अहिलेसम्म कोभिड भाइरसविरुद्धको खोपको असर नयाँ भेरियन्टमा पनि रहने बताइएको छ । नयाँ भेरियन्टमा पनि अन्य लक्षण र यसले पार्ने असरमा कुनै परिवर्तन नआएको हुँदा खोपले भेरियन्टमा पनि काम गर्ने चिकित्सकहरू बताउँछन् । 
 


Author

थप समाचार
x