सरकार

प्रदेश १ एमाले संसदीय दलको बैठक

विकास बजेटलाई मन्त्रालय फुटाउनमा खर्च गरेर सत्ता टिकाउन खोजेको आरोप

बाबुराम भण्डारी |
माघ १२, २०७८ बुधबार २३:२९ बजे

विराटनगर - प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको वर्तमान सरकारले मन्त्रालय फुटाएर सत्ता टिकाउन खोजेको आरोप लगाउँदै सरकारका कामकारबाहीमाथि छानबिन गर्ने घोषणा गरेको छ ।

बुधबार प्रदेशसभा सचिवालयस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले सरकारले विकास बजेटलाई मन्त्रालय फुटाउन र मन्त्री थप्नका लागि खर्च गर्न खोजेको भन्दै विरोध जनाउने निर्णय गरेको हो । 


गठबन्धन दलका सांसदहरुका क्षेत्रमा मात्रै योजना र बजेट निकासा गर्ने र एमालेका सांसदले जितेका क्षेत्रमा बजेट कटौति गर्न खोजेको एमालेले आरोप लगाएको छ । सरकारले त्यसो गरे एमालेले डटेर मुकाविला गर्ने दलको बैठकले निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । ‘मन्त्रालय फुटाउने कोसिस भइरहेको छ, हाम्रोतर्फबाट त्यसमा आपत्ति रहेको छ’ प्रमुख सचेतक राजभण्डारीले भने, ‘जनताका नाममा विनियोजित रकम रोकिनु हुन्न, मन्त्रालय फुटाएर बजेट दुरुपयोग गर्न पाइदैन ।’ 

एमाले संसदीय दलका नेता भीम आचार्यको अध्यक्षतामा पुर्वमुख्यमन्त्री शेरधन राईसहितको उपस्थितिमा बसेको बैठकले सरकारविरुद्व आक्रामक भएर उत्रिन सांसदहरुलाई निर्देशन दिएको जनाइएको छ । एमालेको तत्काल संसद बैठक सुचारु गर्न सरकारस“ग माग गरेको छ । संसद बैठक स्थगित भएको तीन महिना पुग्न लाग्दापनि सरकारले संसदलाई बन्दी बनाएको भन्दै जनतको बोल्ने थलोलाई तत्काल सुचारु गर्न माग गरेको हो । गत मंसिर १ गते प्रदेशसभाबाट मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत लिएपछि प्रदेश १ को संसद बैठक अनिश्चितकालका लागि स्थगित छ । 

एमाले प्रमुख सचेतक राजभण्डारीले संसद सञ्चालनमा सरकार अनुदार देखिएको आरोप लगाए । उनले दलको बैठकले तत्काल बैठक सुचारु गर्न माग गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले सरकारको गतिविधिबारे अनुसन्धान र छानबिनका लागि पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे, पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तुलसीप्रसाद न्यौपाने, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत र प्रमुख सचेतक राजभण्डारी रहने गरी समिति बनाउने निर्णय गरेको छ ।

एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेटलाई वर्तमान सरकारले तोडमोड गर्न खोजेको भन्दै उक्त समितिले त्यसको मन्त्रालगत खोजविन गरी सात दिनभित्र दलका जानकारी गराउने निर्णय भएको प्रमुख सचेतक राजभण्डारीले बताए । सरकारले विभागीय मन्त्रीनै नियुक्त नभएका मन्त्रालयले सरकारले स्वकीय सचिव नियुक्ति गरेर लोकतान्त्रिक विधिकै धज्जी उडाएको एमालेले ठहर गरेको छ । कार्यकर्ता भर्ति गर्ने मनसायले सरकारले त्यस्तो कार्य गरिरहेको आरोप लगाउँदै त्यस्ता कार्य तत्काल रोक्न पनि माग गरेको छ । एमालेले वर्तमान सरकारका मन्त्रीहरुले गाडीहरुको चरम दुरुपयोग गरेको आरोप लगाएको छ । 

‘हिजो मुख्यमन्त्री शेरधन राईले एउटा गाडी चढ्दा आलोचना भएको थियो, आज मन्त्रीहरुले श्रीमतीलाई अफिस पु¥याउने र घर लैजाने काममा मन्त्रालयका गाडी प्रयोग गरिरहेका छन्’ प्रमुख सचेतक राजभण्डारीले भने, ‘मन्त्रालयका गाडीहरु मनपरी ढंगले चलाइएको पाइएको छ ।’ 

बैठकले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन नगराउने योजनामा लागेको भन्दै त्यसो गरिए एमालेले दलकै तर्फबाट सशक्त रुपमा प्रतिवाद गर्ने चेतावनी दिएको छ । एमालेले कोभिड १९ विरुद्धको खोप अभियान प्रभावकारी रुपमा सञ्चालन नभएको भन्दै खोपलाई अझ व्यवस्थित ढंगले जनताले सर्वसुलभ ढंगले पाउने गरी उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

बेमौसमी वर्षाका कारण क्षति पुगेका किसानहरुलाई अघिल्लो सरकारले राहत दिने निर्णय गरेकोले  निर्णय कार्यान्वयन गर्न सरकारस“ग माग गरेको छ । घोषणा गरिएको राहत अहिलेसम्म वितरण नभएको भन्दै तुरुन्त वितरण गर्न संसदीय दलले माग गरेको छ । एमालेले किसानहरुलाई तुरुन्त मलखादको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x