सरकार

मेरो पछिल्लो राजनीतिक कदमले देश र जनतामा नयाँ उत्साह थप्यो : प्रधानमन्त्री प्रचण्ड

इकागज |
चैत १७, २०८० शनिबार १८:९ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो पछिल्लो राजनीतिक कदमले देश र जनतामा नयाँ उत्साह थपिएको दाबी गरेका छन् ।

शनिबार काठमाडौँमा रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सकेसम्म देश र जनताको हितका लागि सबै दललाई विश्वासमा लिएर राष्ट्रिय सहमति कायम गर्नका लागि भूमिका खेलेको समेत दाबी गरे । उनले कतिपय अवस्थामा आफू एमालेसँग नजिक हुँदा कांग्रेसजनलाई र कांग्रेससँग नजिक हुँदा एमालेका साथीहरूलाई नमीठो लागेको पनि यथार्थ सुनाए ।


उनले आजको प्रमुख राजनीतिक कार्यभार प्राप्त राजनीतिक अधिकारहरू सुदृढ गर्दै संविधानको प्रगतिशील कार्यान्वयन सुनिश्चित गर्नु र त्यसको जगमा समाजवाद उन्मुख समृद्धि हासिल गर्नु रहेको बताए । प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिको राष्ट्रिय अभियान नै थाल्नुपर्ने बेलामा मुलुकलाई पछाडि फर्काउने या यथास्थितिमै राख्ने या कुनै पनि कोणको अतिवादलाई प्रश्रय दिने गतिविधिलाई अब कसैले कहिल्यै स्वीकार नगर्ने स्पष्ट पारे ।

प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा फेरबदल ल्याउने र बजेटलाई जनताको हितमा केन्द्रित गर्ने बताए । यो पटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू नयाँ रक्तसञ्चार तय गर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले मुलुकलाई चाहिएको सुशासन र समृद्धिको लागि त्यहीअनुसार आफ्नो भूमिका निर्वाह गर्न सञ्चार माध्यमलाई आग्रह समेत गरे ।


Author

थप समाचार
x