सरकार

गृहमा हुनसक्छ शक्ति बस्‍नेतको 'इन्ट्री' : भौतिक छाड्‌न श्रेष्ठ तयार, ऊर्जा वा सहरीतिर सर्ने मोदीको चाहना

इकागज |
चैत १४, २०७९ मंगलबार १०:२१ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न छलफल तीब्र पारेका छन् । मन्त्रालयको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।

कांग्रेसलाई ८ मन्त्रालय र माओवादीले ५ मन्त्रालय पाउने गरी प्रचण्डले तयारी गरेका छन् । त्यसैगरी एकिकृत समाजवादीले २ र जनता समाजवादीले २ मन्त्रालय पाउनेगरी खाका तयार गरेको बालुवाटार स्रोतले जनाएको छ ।


त्यसैगरी प्रचण्डले बनाइएको खाकामा सत्तासाझेदारी साना दललाई एक-एक मन्त्रालय छुट्याइएको छ । उक्त खाकालाई सत्तागठबन्धनको बैठकमा पेश गरेर अन्तिम रुप दिने तयारी छ ।

प्रधानमन्त्री प्रचण्ड रहेकाले माओवादीले अर्थ वा गृह मन्त्रालय एक पाउनुपर्ने बताएको थियो । जसअनुसार माओवादीले थप एक मन्त्रालय पाएमा गृहमन्त्रालयमा दाबी गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री प्रचण्डले थप एक मन्त्रालयमा गृह मन्त्रालय माओवादीले राख्‍ने बताइसकेको प्रचण्ड निकट एक नेताले बताए ।

माओवादीले राज्यमन्त्रीको ठाउँमा गृह मन्त्रालय पाएमा शक्ति बस्‍नेतलाई गृहमन्त्री बनाउने प्रचण्डको तयारी छ । 'अहिले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डको सहयोगी बनेर सबै काम शक्ति बस्‍नेतले गरिरहनु भएको छ' माओवादीका एक नेताले इकागजसँग भने 'माओवादीले गृह मन्त्रालय पाएमा शक्ति बस्‍नेत नै मन्त्री बन्‍नु हुनेछ ।'  पार्टीमा उपमहासचिवको जिम्मेवारीमा बस्‍नेत छन् ।

यता उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पनि माओवादीले गृह मन्त्रालय पाएमा आफूलाई गृहमन्त्री बनाउन प्रचण्डलाई दबाब दिइरहेका छन् । 'नारायणकाजी श्रेष्ठको गृहमा दाबी छ । यदी गृह नपाए श्रेष्ठ भौतिक नछाड्‌ने कुरा छ' ती नेताले भने ।

त्यसैगरी सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पनि आफूलाई मन्त्रालय फेरिदिन प्रचण्डलाई पटकपटक आग्रह गर्दै आएका छन् । मोदीले सामान्य प्रशासन मन्त्रालयमा बसेर काम देखाउन नसक्ने प्रचण्डसामू बताइसकेका छन् । मोदीलाई ऊर्जा वा सहरी विकास मन्त्रालयमध्ये एउटा दिने तयारी प्रचण्डले गरेका छन् ।

र, यो पनि


Author

थप समाचार
x