नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ, हत्या अभियुक्त एमाले सांसद कोइरीलाई प्रहरीले भेट्दैन

काठमाडौँ - नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयले निर्देशन दिए पनि उनी पक्राउ परेका छैनन् । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार सांसद कोइरीलाई पक्राउ प्रहरीलाई लिखित निर्देशन दिएका थिए । मौखिक निर्देशन दिँदा कोइरी पक्राउ नपरेपछि गृह मन्त्रालयले लिखित निर्देशन नै दिएको थियो ।
सांसद कोइरीमाथि कर्तव्य ज्यानको मुद्दा लागेको छ । त्यसयता उनी फरारको सूचीमा छन् । उनलाई सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न भएको आरोप लागेको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
फरार भनिएका सांसद कोइरी पुस २६ गते प्रतिनिधि सभा बैठकमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका थिए ।
कर्तव्य ज्यान मुद्दामा फरार सांसद गृहको निर्देशनपछि पनि पक्राउ नपरिरहेका बेला १० वर्षअघि ट्याक्टर जलाएको आरोपमा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ परेका छन् । सांसद चौधरीलाई प्रहरीले बिहीबार बाँकेको गाभरबाट पक्राउ गरिएको हो । उनलाई बाँकेबाट पक्राउ गरेर काठमाडौँ ल्याएर कैलाली लगिएको छ ।
नेपाल सरकारको वार्ता टोली र थारू संयुक्त संघर्ष समितिबीच १० वर्षअघि(२०६९ साल जेठ १०) भएको सहमतिविपरीत चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल सरकारको वार्ता टोली र थारू संयुक्त संघर्ष समितिसँग भएको १० बुँदे सहमतिको बुँदा नम्बर ८ मा थारूहरूको चरणाबद्ध आन्दोलनका क्रममा पक्राउ परेकालाई निसर्त रिहा गर्ने, आन्दोलनको क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो ।
नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीलाई ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैद र बिगोको फैसला सुनाएको थियो । कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते ६ महिना कैद र ८ लाख १८ हजार ४ सय २३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । उक्त घटनामा अरुणसहित परशुराम चौधरी र वीरबहादुर चौधरीलाई दोषी ठहर गरेर कैद र जरिवाना तोकिएको थियो ।
तत्कालीन बलिया गाविस–५ का महादेव बजगाईंले २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै चौधरीविरुद्धमा २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
चौधरीलाई तत्काल रिहा गर्न नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया