सुशासन

टेरामक्स प्रकरणको अध्ययन अनुसन्धान अन्तिम चरणमा पुग्योः प्रमुख आयुक्त राई

इकागज |
फागुन १५, २०८० मंगलबार १६:१५ बजे

फाइल फोटो

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले टेरामक्स प्रकरणको अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा राईले टेरामक्स प्रकरणमा बयान लिने काम सकिएको र अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । टेरामक्स प्रकरणमा तथ्य र प्रमाणलाई केलाउने काम भइरहेको उनको भनाइ छ ।


त्यस्तै उनले वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको जानकारी दिए । अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन कठिन भइरहेको र दुई पक्षीय सम्झौता नभइ सूचना दिन नसक्ने जवाफ आएकाले सरकारले यसमा ध्यान दिनुपर्ने उनले बताए । 

राईले सेक्युरिटी प्रेसको टेप प्रकरणको पनि अनुसन्धान भइरहेको भन्दै पोख्त प्रमाण र आधार नभएसम्म कसैलाई दोषी ठहर गर्न नहुने जिकिर गरे । अख्तियारका प्रमुख आयुक्त राईले अहिले सबै भन्दा बढी भ्रष्टाचार आइटि क्षेत्रमा देखिएकाले सुधारका लागि सरकारलाई १० बुँदे सुझाव दिएको जानकारी दिए । सार्वजनिक जग्गाको हिनामिना गर्ने प्रवृत्ति बढ्दो रहेको देखिएको भन्दै अख्तियारमा प्राप्त उजुरीलाई हेर्दा यसको रफ्तार बढ्दै गएको पाइएको उनले बताए । 

राईले चमेलिया, रामग्राम जग्गा लिज प्रकरण लगायतका विषयमा अध्ययन भइरहेको बताए । उनले गतबर्ष २८ हजार उजुरी परेकोमा ६५ प्रतिशत फछ्यौट भएको र अहिले पनि त्यही हाराहारीमा पुग्ने गरि उजुरी आइरहेको जानकारी दिए । 


Author

थप समाचार
x