फुटबल

एनएसएलले नेपाली फुटबलको शाख जोगाउन सक्छ !

सञ्जीव शाह |
मंसिर २५, २०८० सोमबार ७:१३ बजे

काठमाडौँ- केही वर्षअघिसम्म नेपालमा सबैभन्दा बढी रुचाइएको तथा हेरिने खेल फुटबल थियो । तर, पछिल्लो समय नेपाली फुटबलले त्यो 'चार्म' भने गुमाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले घरेलु मैदानमा खेल्ने प्रतियोगिता र खेल हेर्न दर्शकहरू रंगशालासम्म आउने गरे पनि नेपालमा आयोजना हुने अन्य फुटबल प्रतियोगितामा दर्शकहरूको उपस्थिति घट्दै गएको छ । 


अझ अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने लिग तथा फुटबल प्रतियोगिताहरूमा दर्शकको संख्या न्यून हुन्छ । अर्कोतर्फ एन्फाले लिग तथा अन्य प्रतियोगिता आयोजनाका लागि प्रायोजक पाउन पनि फलामको च्यूरा चपाउनु जतिकै भएको छ । 

जसका कारण एन्फाले आयोजना गर्ने लिग तथा अन्य प्रतियोगिता तोकिएको समयमा नखेलाइने अथवा आयोजना नै नहुने अवस्था सृजना भइसकेको छ । गत वर्ष एन्फाले सहिद स्मारक 'सी' फुटबल लिग समेत आयोजना गर्न सकेको थिएन । 

नेपालमा नियमित रूपमा फुटबल लिग/प्रतियोगिता नभइरहेको अवस्थामा काठमाडौँमा अहिले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा. लिले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) आयोजना गरिरहेको छ । 

एनएसएलले कसरी नेपाली फुटबलमा सहयोग गर्छ ?
एनएसएलमा सहभागी टिमहरू धनगढी एफसी, पोखरा थन्डर्स, एफसी बुटबल लुम्बिनी, ललितपुर सिटी एफसी, एफसी चितवन, काठमाडौँ रेजर्स एफसी स्पोर्टिङ इलाम एफसी, झापा एफसी र वीरगंज युनाइटेड एफसीले उच्च क्षमता भएका विदेशी खेलाडी पनि भित्र्याएका छन् । 

सहभागी क्लबहरूले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनुका साथै कुनै पनि खेलमा ५ विदेशी खेलाडी मैदान उतार्न पाउँछन् । दोस्रो संस्करणको एनएसएलका लागि सहभागी क्लबहरूले ४७ जना विदेशी खेलाडी भित्र्याएका छन् । 

स्पेन, फ्रान्स, सर्बिया, घाना, क्यामरुन, सेनेगल, नाइजेरिया, उज्वेकिस्तान, लेवनान, गुएना, भारत, मोन्टेनेग्रो, अमेरिका, प्यालेस्टाइन र कंगोबाट क्लबहरूले खेलाडी भित्र्याएका छन् । 

नेपालमा फुटबल गतिविधि कम भइरहेको तथा वर्षको ९/१० महिना फुटबल चल्ने अवस्था नभएको अवस्थामा एनएसएलले नेपाली फुटबलको क्यालेन्डरलाई केही पूर्णता दिने एनएसएलका निर्देशक तथा सह-संस्थापक श्रेयांश कार्कीले बताउँछन् । 

'सहिद स्मारक 'ए' डिभिजन लिग ४/५ महिनालाई भए पनि एनएसएलले अर्को दुई महिना खेलाडीलाई व्यस्त राख्न मद्दत गर्छ,' कार्कीले इकागजसँग भने । 

उनले नेपाली खेलाडीले क्षमतावान विदेशी खेलाडीसँग खेलेर अनुभव बटुल्न सक्ने समेत बताए । 

यता क्षमतावान विदेशी खेलाडीका कारण एनएसएलको स्तर अन्य नेपाली फुटबल प्रतियोगिताभन्दा माथि रहेको स्पोर्टिङ इलामका मुख्य प्रशिक्षक मेघराज केसी पनि बताउँछन् । 

'एनएसएलका खेलहरू उच्च स्तरका छन् । सहिद स्मारक 'ए' डिभिजन फुटबल लिगभन्दा एनएसएलको स्तर राम्रो छ,' केसीले इकागजलाई बताए । 

केसीका अनुसार एनएसएल खेल्न उच्च क्षमता भएका विदेशी खेलाडी खेल्न आएका तथा उनीहरूसँग खेल्ने बानी परेको खण्डमा नेपाली खेलाडीको पनि क्षमतामा विकास हुनेछ । 

पारिश्रमिक र विदेश गएका खेलाडी फर्काउन एनएसएलको भूमिका
क्षमता विकाससँगै एनएसएलमा खेल्दा नेपाली खेलाडीले राम्रै पारिश्रमिक पाउँछन् । जारी सिजनको एनएसएलमा नेपाली खेलाडीले सर्वाधिक ३ लाख ५० हजारसम्म पनि पाउँछन् । त्यसैगरी, न्यूनतम ८० हजार पारिश्रमिक पाउँछन् । 

जसका कारण बिस्तारै विदेश पलायन भएका खेलाडी पनि पुनः नेपालमा आएर फुटबल खेल्ने वातावरण सृजना हुँदैछ । यसको पछिल्लो उदाहरणका रुपमा अस्ट्रेलिया पुगेको केही समयभित्रै विमल घर्तीमगर एनएसएल खेल्न नेपाल आइपुगे । उनी अहिले एफसी चितवनबाट खेलिरहेका छन् । 

विमल अस्ट्रेलिया पुगिसकेको अवस्थामा एफसी चितवनले उनलाई 'आइकनिक प्लेयर' को रूपमा टिममा स्थान दिएको थियो । र पुनः नेपालमा खेल्न पाउने भएपछि विमलले सामाजिक सञ्जालबाटै खुसी साटेका थिए ।

खासमा पछिल्लो समय नेपालको राष्ट्रिय टिम तथा सहिद स्मारक 'ए' डिभिजन फुटबल लिग खेलेका ५० भन्दा बढी खेलाडी विदेश पलायन भइसकेका छन् र उनीहरू पुनः नेपालमा आएर खेल्न सक्ने वातावरण विकास हुन सकिरहेको छैन । 

तर, यस्तो अवस्थामा भने एनएसएलले नेपालमै रहेका खेलाडीलाई उचित पारिश्रमिक तथा विदेशमा रहेका नेपाली खेलाडीलाई समेत फर्काउन सक्ने आधार बनाइरहेको छ । 

'एनएसएलमा हामीले पारिश्रमिक बढाउँदै लगेका छौं । खेलाडीहरूलाई छोटो समयमा राम्रो कमाउने मौका दिएका छौँ । यसले गर्दा खेलाडीहरू विदेश जाने क्रम अझै घट्छ होला,' निर्देशक कार्कीले भने । 

कार्कीका अनुसार एनएसएलले 'आइकनिक क्याटेगोरी' मा विदेश गइसकेका तथा फुटबल पनि खेलिरहेका खेलाडीलाई स्वदेशमा खेल्ने मौका दिएको छ । 

अर्कोतर्फ प्रशिक्षक केसी पनि नेपालमा नियमित फुटबल भइरहेको खण्डमा नेपाली खेलाडी विदेश जाने क्रम रोकिन सक्ने विश्वास व्यक्त गर्छन् । 

'नेपाल सुपर लिग जस्ता प्रतियोगिताहरू देशमा कम्तीमा ८ देखि ९ महिना आयोजना भइरह्यो भने खेलाडीले नियमित खेलिरहन पाउने र खेलबाट आम्दानी गर्न सक्यो भने उनीहरू विदेश जाने क्रम रोकिन्छ,' प्रशिक्षक केसी थप्छन् । 

'नियमित रूपमा खेल आयोजना भएन भने खेलाडीलाई कमाइ नभए पनि नेपालमै बसिराख्न भन्न सक्दैनौँ,' केसीले इकागजलाई भने । 

पारिश्रमिकको समस्या र एनएसएल
खासमा पछिल्लो समय नेपालबाट खेलाडी पलायन हुनुमध्येको एक कारण भने खेलेर पनि समयमा पारिश्रमिक नपाउनु । नेपाली खेलाडीले लामो समयदेखि क्लबहरूले खेल्न लगाउने तर समयमा पारिश्रमिक नदिने गुनासो गर्दै आएका छन् । 

खेलेर पनि खेलाडीले पारिश्रमिक नपाउने विषयमा नियामक निकाय बलियो हुनुपर्ने प्रशिक्षक केसीको धारणा छ । 

'कुनै क्लबले खेलाडीलाई रकम दिएको छैन भने क्लबलाई कारबाही गर्न सक्नुपर्‍यो । खेलाडीले रकम लिएर भागेको छ भने खेलाडीलाई कारबाही गर्न सक्नुपर्‍यो । यसबारे जिम्मेवार निकायले हेर्नुपर्छ,' उनी थप्छन् । 

तर एनएसएलका निर्देशक कार्कीका अनुसार एनएसएल निकै व्यवस्थित रहेको तथा पारिश्रमिकको कुनै समस्या नरहेको बताउँछन् । 

'एनएसएल निकै व्यवस्थित छ । एनएसएलका क्लबहरू व्यावसायिक रूपमा संचालन भइरहेका छन् । जसका कारण खेलाडीलाई पारिश्रमिक नदिने समस्या आएको छैन । पहिलो सिजनमा पनि यस्तो गुनासो आएको थिएन र भविष्यमा पनि नआउँला,' कार्की थप्छन् । 

एनएसएलले दर्शक तान्दै
पछिल्लो समय एनएसएल हेर्न दर्शकहरू पनि फुटबल रंगशालासँग पुग्ने गरेका छन् । यसका लागि एनएसएलसँगै सहभागी क्लबहरूले पनि विभिन्न योजनाहरू अघि सारेका छन् । 

कतिपय क्लबले आफ्ना समर्थकलाई नि:शुल्क टिकट बाँड्नेदेखि कतिपय क्लबले 'क्विज' खेलाएर विजेतालाई नि:शुल्क टिकट वितरण गर्ने गरेका छन् । 

त्यसैगरी, एनएसएल आयोजकले नै प्रत्येक खेलपछि एक दर्शकलाई 'फ्यान अफ द म्याच' नगद ५ हजार समेत प्रदान गरिरहेको छ । यसले पनि दर्शकलाई मैदानसम्म पुर्‍याउन मदत गरेको छ । 

कार्कीका अनुसार एनएसएलमा फुटबलको स्तर एकदम राम्रो छ जसका कारण दर्शकलाई रंगशालासम्म तान्छ । साथै उनीहरूलाई मनोरञ्जन प्रदान गर्न 'चियर लिडर' पनि राखिएको उनको भनाइ छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x