फुटबल

नेपाली फुटबल खेलाडीको विदेश पलायन रोक्न के गर्ने ?

सञ्जीव शाह |
मंसिर १९, २०८० मंगलबार १६:३० बजे

तस्बिरः एफसी चितवन

काठमाडौँ- विगतका वर्षहरूमा फाट्टफुट्ट रूपमा नेपाली खेलाडीहरू विदेश पलायन हुने गरे पनि केही वर्ष यता खेलाडी पलायनको तथ्याङ्क भने कहालीलाग्दो छ । खासगरी नेपालमा धेरै रुचाइएको खेल फुटबल भए पनि विदेशिने खेलाडीमा भने फुटबलर कै संख्या धेरै देखिन्छ ।

पछिल्ला केही वर्षमा नेपाली राष्ट्रिय फुटबल (सिनियर तथा जुनियर) टिम तथा 'ए' डिभिजन लिग खेल्ने क्लबबाटै खेलिसकेका ५० भन्दा बढी फुटबल खेलाडीहरू विदेश पलायन भएका छन् । ती खेलाडीको मुख्य गन्तव्य भने अस्ट्रेलिया बनेको छ ।


यसको पछिल्लो एक उदाहरणको रूपमा विमल घर्तीमगरलाई लिन सकिन्छ । उनी नेपालमा सर्वाधिक रुचाइएका तथा लामो समयदेखि राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी पनि हुन् । सन् २०१५ को यू-१९ साफ च्याम्पियनसीपको उपाधि नेपालले जित्दा विमल नेपाली टिमको कप्तान थिए । तर, उनी पनि नेपाल फुटबल खेलेरै जीविकोपार्जन गर्न नसक्ने अवस्थामा पुगे । हुन् त नेपाल सुपर लिग खेल्न विमल अहिले नेपालमा छन् ।

नेपाली फुटबल खेलाडीको पहिलो रोजाइ अस्ट्रेलिया नै किन ?

खासमा फुटबल खेललाई पनि निरन्तरता दिन पाइने तथा आम्दानी पनि हुने उद्देश्य बोक्दै नेपाली खेलाडीहरू अस्ट्रेलिया पुगेका हुन् । र, नेपाली खेलाडीहरू अस्ट्रेलियामा रमाई समेत रहेका छन् ।

सबक्लास ४०० भिसा अन्तर्गत अस्ट्रेलिया पुग्ने नेपाली फुटबल खेलाडीहरू नेपालीहरूले नै सञ्चालन गरिरहेका नेपाली क्लबहरूमा आबद्ध हुने गरेका छन् । अस्ट्रेलियाको स्थानीय नेपाली क्लबको निम्तोमा अस्ट्रेलिया पुग्ने खेलाडीहरूले केही महिनापछि आफ्नो भिसालाई विद्यार्थी भिसामा स्थानान्तरण गराउन पाउने अस्ट्रेलिया सरकारको प्रावधान छ र यसकै फाइदा नेपाली खेलाडीहरूले लिने गरेका छन् ।

अस्ट्रेलियाको अध्यागमन नीति अनुसार सबक्लास ४०० भिसा अन्तर्गत अस्ट्रेलिया पुग्नेहरूले उक्त भिसा परिवर्तन गरी विद्यार्थी भिसा लिन पाउने प्रावधान छ ।

केही समयअघि इकागजसँगको कुराकानीमा अस्ट्रेलियन नेप्लीज फुटबल संघका पूर्व अध्यक्ष राजु मानन्धरका अनुसार अस्ट्रेलियामा स्थापना भएका नेपाली फुटबल क्लबहरूले नेपालबाट गएका खेलाडीहरूलाई फुटबल खेलमा मात्र सीमित नराखेर उनीहरूलाई आवास तथा रोजगारका लागि समेत अवसर जुटाइदिने गरेको बताएका थिए ।

पलायन भएका केही खेलाडी

विमल घर्तीमगर, पुजन उपरकोटी, अभिषेक रिजाल, विमल बस्नेत, दिनेश राजवंशी, तेज तामाङ, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, रजिन धिमाल, विशाल राई, आशिष लामा, दर्शन गुरुङ, सन्तोष तामाङ, हेमन गुरुङ, सुमन अर्याल, आकाश बुढामगर, नवीन गुरुङ, नितिन थापा, आकाश बुढामगर, राजन गुरुङ, सुनिल बल, सरोज दाहाल, नीरकुमार राई, कमल थापा हेमन्त रानामगर, सुमन लामा, विमल राना, विमल बस्नेत, रितिक खड्का, मिक्छेन तामाङ, सन्जोग राई, रविशंकर पासवान, दीपकराज सिंह ठकुरी ।

खेलाडी पलायनको कारण ?

पछिल्लो समय नेपालमा लिग तथा अन्य फुटबल प्रतियोगिताहरू समयमा आयोजना हुन सकिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नै आर्थिक अवस्था कमजोर भएका कारण नियमित रूपमा लिग आयोजना गर्न नसकिएको स्वीकार्दै आएको छ ।

एन्फाले लिग आयोजनाका लागि उचित प्रायोजक नपाउने अवस्था छ र यसका कारण एन्फाले लिगसँगै अन्य प्रतियोगिता आयोजना गर्न सकिरहेको छैन ।

त्यसैगरी, नेपालको लिगमा सहभागी हुने क्लबहरूको आम्दानी पनि खासै छैन । उनीहरूले पनि प्रायोजकबाट उचित प्रायोजन पाउने गरेको अवस्था नभएका कारण ती क्लबहरूमा आबद्ध खेलाडीहरूले समयमा पारिश्रमिक पाउने गरेका छैनन् ।

र, समय-समयमा खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो पोख्ने गरेका छन् । जसका कारण नेपाली फुटबल खेलाडीहरूले नेपालमा फुटबल खेलेर भविष्य देख्न छाडिसकेको अवस्था छ ।

नेपालका चर्चित खेलाडीहरू अनन्त तामाङ तथा डोना थापाले सामाजिक सञ्जालमार्फत नै क्लबहरूले समयमा पारिश्रमिक उपलब्ध नगराएको भन्दै आक्रोश पोखेका थिए ।

यता लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका तथा फुटबल खेल्न नेपाल आइरहने खेलाडी हुन् जगजित श्रेष्ठ । उनले बाध्यतावश् नेपाली खेलाडीहरू विदेश पलायन हुन बाध्य भएको दाबी गरेका थिए ।

उनले नेपालमा नियमित फुटबल नहुने र खेलाडीहरूले खान, लाउन तथा परिवारलाई पाल्नका लागि बाध्य भएर पनि विदेशिन परिरहेकाे बताएका थिए ।

खेलाडी कसरी नेपालमै टिकाउने ?

अहिले नेपालमा जारी नेपाल सुपर लिग (एनएसएल) ले विदेश पलायन भएका खेलाडीलाई पनि नेपाल फर्काउन सफल भएको छ । त्यसको उदाहरण हो विमल घर्तीमगर । विमल जस्तै थप खेलाडी फुटबल खेल्नकै लागि पनि नेपाल फर्काउन अन्य प्रतियोगिता आयोजकहरूले खेलाडीलाई फकाउन सक्नुपर्छ । र, नेपालमा टिकाइराखे वातावरण बनाउन सक्नुपर्छ ।

त्यति मात्र नभएर एन्फा पनि गम्भीर भएर लाग्नुपर्ने अवस्था आइसकेको छ । फुटबल विश्लेषक संजिव मिश्रका अनुसार खेलाडीलाई नेपालमा टिकाइ राख्नका लागि गम्भीर बन्नुपर्ने हुन्छ । केही समयअगाडि गरिएको कुराकानीमा उनले क्षमतावान् खेलाडी कम हुँदा समस्या आउने भएका कारण एन्फाले खेलाडीको संख्यामा पनि ध्यान दिनुपर्ने बताएका थिए ।

साथै एन्फाले फुटबलको राजनीतिसँगै नियमित लिग आयोजना गर्ने, खेलाडीहरूको क्षमता विकासमा लगानी गर्ने, क्लबहरूले नियमित पारिश्रमिक दिनुपर्ने अन्य प्रतियोगिताहरू नियमित रूपमा आयोजना गर्न सकिए खेलाडीलाई टिकाउन सक्ने अवस्था आउन सक्छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x