फुटबल

साफ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले भोलि कुवेतको सामना गर्ने

कुमार थापा |
असार ५, २०८० मंगलबार १६:१३ बजे

काठमाडौँ- भारतको बैँग्लोरमा भोलि (बुधबार) देखि साफ च्याम्पियनसिप सुरु हुँदैछ । जुन २१ बाट जुलाई ४ सम्म चल्ने प्रतियोगिताको खेलहरू बैँगलोरको श्री कान्तेराव स्टेडियममा हुनेछन् । 

साफको पहिलो खेलमा नेपालले भोलि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।


प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । आठ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा नेपाल सहित आयोजक तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत रहेका छन् । समूह 'बी' मा बंगलादेश, भुटान, लेबनान र माल्दिभ्स छन् । कुवेत र लेबनान पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिँदै छन् ।

मंगलबार भएको 'प्रि-म्याच' पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले आफू अन्य प्रशिक्षकको तुलनात्मक रूपमा कम अनुभवी भएपनि आफ्नो टीमले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

‘नेपाल बलियो प्रतिद्वन्द्वीसँग सामना गर्न पाउँदा खुसी छ र हामी राम्रो खेल खेल्ने आशा राख्छौं,’ प्रशिक्षक भिन्सेन्जोले भने ।

भिन्सेन्जोले साफको तयारीमा पर्याप्त समय नपाएको तर आफ्नो टोली राम्रो अवस्थामा रहेको दावी गरे ।

‘हामीसँग तयारीको लागि पर्याप्त समय थिएन तर हामीले फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने मौका पायौं, जुन राम्रो पनि भयो,’ प्रशिक्षक भिन्सेन्जोले थपे।

साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। नेपालले माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा फाइनलसम्म पुगेको थियो । फाइनल खेलमा नेपालले भारतसँग ३-० गोलको पराजय भोगेको थियो । नेपाललाई हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको थियो।

मुख्य प्रशिक्षक भिन्सेन्जोले घोषणा गरेको नेपाली टोलीमा गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ छन् । डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा छन् । मिडफिल्डरमा पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु  र आभास लामिछाने रहेका छन् ।

फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्ती मगर छन् ।


Author

थप समाचार
x