फुटबल

यी हुन् यस सिजनका शीर्ष पाँच युरोपियन लिगमा सर्वाधिक गोल गर्ने खेलाडी

इकागज |
जेठ २२, २०८० सोमबार १६:२६ बजे

काठमाडौँ- अर्लिङ हालान्ड, रोबर्ट लेवान्डोस्की, क्रिस्टोफर एनकुन्कु र निक्लास फुलक्रग, भिक्टर ओसिमेंन र कायलियन एमबाप्पे २०२२-२३ को सिजनमा आ-आफ्नो लिगका शीर्ष गोलकर्ता भएका छन् । 

इंग्ल्यान्डः प्रिमियर लिग


म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्ड २०२२-२३ सिजनको प्रिमियर लिगको शीर्ष गोलकर्ता बनेका छन् । हालान्डले च्याम्पियन बनेको सिटीका लागि लिगमा ३५ खेलमा सर्वाधिक ३६ गोल गर्न सफल भए । हालान्डले टोटेनहमका ह्यारी केनलाई ६ गोलले पछि पार्दै प्रिमियर लिगको 'गोल्डेन बुट' जित्न सफल भए।

स्पेन: ला लिगा

बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्की २०२२-२३ सिजनको स्पेनिस ला लिगाको शीर्ष गोलकर्ता बनेका छन् । लेवान्डोस्कीले विजेता बार्सिलोनाका लागि लिगका ३४ खेलमा २३ गोल गरे । लेवान्डोस्कीले रियल मड्रिडका करिम बेन्जेमालाई ५ गोलले पछि पार्दै 'पिचिची ट्रफी' जित्न सफल भए । पेनाल्टीमा १ गोल पनि नगरि लेवान्डोस्कीले २३ गोल पूरा गरेका थिए ।

जर्मनी: बुन्डेसलिगा

आरबी लेप्जिगका स्ट्राइकर क्रिस्टोफर एनकुन्कु र वेर्डर ब्रिमेनका स्ट्राइकर निक्लास फुलक्रग २०२२-२३ सिजनको बुन्डेसलिगाको शीर्ष गोलकर्ता बनेका छन् । एनकुन्कुले २५ खेलमा १६ गोल र फुलक्रगले २८ खेलमा १६ गोल गरेका थिए । दुवै खेलाडीले बराबर गोल गरेका हुनाले गोल्डेन बुट अवार्ड बाँडेका छन् ।

इटाली: सिरी ए

नापोलीका स्ट्राइकर भिक्टर ओसिमेंन २०२२-२३ सिजनको ‘सिरी ए’ को शीर्ष गोलकर्ता बनेका छन् । ओसिमेंनले च्याम्पियन नापोलीका लागि लिगमा ३२ खेल खेल्दै २६ गोल गरे । ओसिमेंनले इन्टर मिलानका लाउटारो मार्टिनेजलाई ५ गोलले पछि पार्दै 'पाओलो रोसी अवार्ड' जित्न सफल भए ।

फ्रान्स: लिग वान

पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर कायलियन एमबाप्पे २०२२-२३ सिजनको फ्रेन्च लिग वानका शीर्ष गोलकर्ता बनेका छन् । एमबाप्पेले लिग वान विजेता पेरिसका लागि लिगका ३४ खेलमा २९ गोल गर्न सफल भए । एमबाप्पेले लियोनका स्ट्राइकर एलेक्जेन्डर लाकाजेटलाई २ गोलले पछि पार्दै लिग वानको गोल्डेन बुट जित्न सफल भए । एमबाप्पेले योसँगै लगातार ५ पटक लिग वानको गोल्डेन बुट जितेका हुन् ।


Author

थप समाचार
x