फुटबल

एफए कप फाइनल : युनाइटेडले सिटीलाई रोक्न सक्ला ?

इकागज |
जेठ १९, २०८० शुक्रबार १३:३२ बजे

काठमाडौँ- शनिबार हुने एफए कप फुटबल प्रतियोगिताको फाइनलमा दुई चिर-प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड खेल्दैछन् । सिटी र युनाइटेडबीचको फाइनल खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट वेम्बली स्टेडियममा सुरु हुनेछ ।

खासमा युनाइटेड र सिटी पहिलो पटक एफए कपको फाइनलमा भिड्न लागेका हुन् । दुवै टिमका लागि एफए कपको फाइनल महत्वपूर्ण छ ।


मुख्य प्रशिक्षक पेप गुआर्डियोला सिटीलाई सन् २०१९ पछि पहिलो पटक एफए कपको उपाधि दिलाउन चाहन्छन् । यसका साथै सन् १९९९ मा युनाइटेडले एकै सिजनमा इंग्लिस प्रिमियर लिग, एफए कप तथा च्याम्पियन्स लिग जित्ने कायम गरेको कीर्तिमान नजिक पनि सिटी पुग्न चाहन्छ । सिटीले आउँदो जुन ११ मा इस्तानबुलमा इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल्ने तालिका रहको छ ।

अर्कोतर्फ गत फेब्रुअरीमा लिग कपको उपाधि जितेको युनाइटेड एफए कपको उपाधि जितेर अर्को ट्रफी चुम्न चाहन्छ । यसका साथै युनाइटेडलाई लिगमा तेस्रो स्थानमा उभ्याएका मुख्य प्रशिक्षक एरिक टेन हागका लागि पनि पहिलो सिजन प्रभावकारी रूपमा अन्त्य हुनेछ ।

तर, लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको सिटीलाई रोक्न भने युनाइटेडलाई त्यति सहज भने पक्कै हुने छैन ।

‘फाइनलमा हामी सबथोक लगाएर भिड्ने छौ,’ एफए कपको सेमिफाइनलमा ब्राइटनलाई पराजित गरेपछि युनाइटेडका प्रशिक्षक टेन हागले बताएका रोयटर्सले उल्लेख गरेको छ ।

सन् २०१९ मा सिटीलाई इंग्ल्यान्डको तीनवटै घरेलु प्रतियोगिताको उपाधि दिलाएका गुआर्डियोलाले यस सिजनमा एफए कप तथा च्याम्पियन्स लिगको उपाधि दिलाउन सके सिटीलाई विश्वकै सबैभन्दा सफल टिमको रुपमा स्थापित गर्नेछन् ।

समग्रमा युनाइटेड १३ औँ तथा सिटी ७ औँ पटक एफए कपको उपाधि उचाल्न चाहन्छ ।


Author

थप समाचार
x