फुटबल

खप्तड गाेल्डकप: जब ११ खेलाडीसँग ७ जनाले फुटबल खेले

इकागज |
चैत १५, २०७९ बुधबार २१:० बजे

कैलाली - बेथितिको पराकाष्ठामा पुग्दै गरेको नेपाली फुटबलमा बुधबार एउटा दुर्लभ घटना भएको छ । कैलालीको धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्यामरुनी टोली एभिनियर एफसी ९ खेलाडीको साथमा मैदान उत्रियो । प्रतियोगितामा सहभागी एकमात्र विदेशी टोली एभिनियरका खेलाडीहरू समयमा धनगढी नपुगेका कारण त्यस्तो जात्रा देखिएको हो ।

‘एभिनियरले खेलाडी आउँदैछन् भनेर केही समय खेल ढिला गरायो । तर अन्तिमसम्म पनि नआइपुगेपछि ९ खेलाडीमात्र उतारिएको हो,’ आयोजकका एक अधिकारीले भने । आयोजकका अनुसार एभिनियरले आफ्ना एक खेलाडीको भिसा सकिएको र अर्का एक खेलाडीको श्रम स्वीकृति प्रक्रिया पूरा नभएका कारण कम्तिमा ११ खेलाडी पनि उपस्थित गराउन नसकेको हो ।


फुटबल ११ खेलाडीको खेल हो । तर मनाङ मर्स्याङ्दी क्लबविरुद्धको सेमिफाइनलमा पहिलो रोजाइमा दुई खेलाडी कम लिएर मैदान उत्रिएको अफ्रिकी टोली दुई खेलाडीले पहिलो हाफमै रातो कार्ड सामना गरेपछि सात खेलाडीको भरमा आधाभन्दा बढी समय मैदानमा संघर्ष गर्यो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियमअनुसार मैदानमा सातभन्दा कम खेलाडी भए खेल गराउन मिल्दैन । पहिलो रोजाइमा ११ खेलाडी मैदान प्रवेश गर्नैपर्छ ।

एन्फाको स्वीकृतिप्राप्त प्रतियोगितामै यस्तो हुँदा समेत नेपाली फुटबलको सर्वोच्च निकाय भने बेखबर छ । एन्फाको प्रतिस्पर्धा निर्देशक सञ्जिव मिश्र भन्छन्, ‘९ खेलाडीको भरमा खेल गराएको विषयमा हामीलाई कुनै जानकारी छैन् । सामान्यतया त्यसो गर्न मिल्दैन ।’ मिश्रका अनुसार एन्फाको आयोजनामा जारी शीर्ष डिभिजनको लिगमा कम्तीमा १६ खेलाडी नभईकन खेल सुरु गर्न मिल्दैन ।

एभिनियरका जोर्डन जुनियरले दुई पहेलो कार्डसँगै रातो कार्ड सामना गरेपछि टोली २४औं मिनेटमा आठ खेलाडीमा सीमित भएको थियो । त्यसको सात मिनेटपछि ३१औं मिनेटमा गोलकिपर यो नापोकोन एनले पेनाल्टी बक्स बाहिर आएर हातले बल रोके बापत सोझै रातो कार्ड सामना गरेपछि टोली सात खेलाडीमा सीमित भयो ।

खेलमा मनाङले सुडिजो अजमोल जमालको ह्याट्रिक तथा जीवन गुरुङ, अनिल गुरुङ र प्रसन्न श्रेष्ठको एक/एक गोलमा ६-० को अग्रता जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
 


Author

थप समाचार
x