फुटबल

अन्तत: उपाधिबाट वञ्चित बने रोनाल्डो–मेस्सीको वर्चश्व 'ब्रेक' गर्ने मिडफिल्डर माेड्रिच

‘जो क्लब फुटबलमा चम्किए, क्रोएसियालाई विश्वकपमा चम्काए’

इकागज |
मंसिर २८, २०७९ बुधबार १७:२ बजे

काठमाडौँ- फुटबल एउटा सुन्दर टिम ‘गेम’ हो । अर्थात् समूहमा तालमेल मिलाएर खेलिने खेल । तर त्यो टिममा एक जना सुन्दर, क्षमतावान् र ठूलो लक्ष्य भएको खेलाडी भयो भने त्यसले कुन हदसम्मको नतिजा दिन्छ भन्ने कुरा विश्वका केही सुपरस्टार खेलाडीको नाम उल्लेख गर्दा नै काफी हुन्छ ।

जसको अग्रपंक्तिमा आउँछन्, ब्राजिलका पेले, अनि अर्जेन्टिनाका म्यारोडोना हुँदै मेस्सीसम्म । पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो । वेल्सका लागि ग्यारेथ बेल लगायत ।


क्रोएसियाका लागि एउटा कुनै महान र विशेष क्षमतावान् खेलाडीको नाम लिने हो भने अग्रपंक्तिमा आउँछन्, लुका मोड्रिच । यो नाम स्वयं मोड्रिचले बनाएका हुन् ।

जसले पछिल्ला दुई संस्करणका विश्वकपमा सनसनी प्रदर्शन मात्रै गरेनन्, आफ्नो देशलाई कसैले नसोचेको जसरी विश्वकपको फाइनल र सेमिफाइनल पुर्याए ।

रुसमा सम्पन्न अघिल्लो विश्वकपमा मोड्रिचले क्रोएसियालाई फाइनल पुर्याएका थिए । तर उपाधि दिलाउन सकेनन् । फ्रान्सले क्रोएसियालाई हराउँदै विश्वकप ट्रफी चुम्यो । फ्रान्स फाइनलका लागि सक्षम थियो । अनुमानित र स्वभाविक थियो ।

तर, क्रोएसियालाई कसैले पनि फाइनल पुग्छ भनेर सोचेका थिएनन् । मोड्रिचकै कप्तानीमा क्रोएसियाले रुस विश्वकपको फाइनल खेल्यो । त्यतिबेला धेरैले सोचेका थिए, क्रोएसियालाई भाग्यले साथ दियो ।

विश्वकै सबैभन्दा सफल र उत्कृष्ट मिडफिल्डर मोड्रिच क्रोएसियाका सर्वकालीन महान खेलाडी हुन् । जसले मेस्सी र रोनाल्डोको बर्चश्व तोड्दै एकपटक बालोन डी’ओर अवार्ड पनि जितेका छन् ।

तर त्यो क्रोएसियाको भाग्य नभई एउटा सुन्दर टिमको नेतृत्व गरेका लुका मोड्रिचको मेहनत थियो । जो न डिफेन्डर हुन् । न त स्ट्राइकर नै । तर मिडफिल्डमा बसेर टिमलाई कसरी सन्तुलन मिलाएर जिताउनुपर्छ भन्ने कुरा विश्वमा केवल लुका मोड्रिचलाई मात्रै थाहा छ ।

कतार विश्वकप फुटबलमा सुरुवातमा औसत प्रदर्शन गरेको मोड्रिचको टिम क्रोएसियाले नकआउट चरणमा अब्बल प्रदर्शन गरेर देखायो । जुन कसैले सोचेका थिएनन् ।

यसपटक कम्तीमा सेमिफाइनलका लागि धेरैले अर्जेन्टिना, ब्राजिल, फ्रान्स, इंग्ल्याण्ड, पोर्चुगललगायत देशको नाम लिएका थिए । तर कसैले नसोचेको क्रोएसियाले लगातार दोस्रोपटक सेमिफाइनल खेल्यो ।

तर दुर्भाग्य सर्वकालीन महान फुटबलर बन्ने सुनौलो यात्रामा रहेका लियोनल मेस्सीको टिम अर्जेन्टिनालाई रोक्ने उनको योजना र टिमले सकेन । परिणामस्वरुप बुधबार बिहानै फाइनल पुग्ने दोस्रो अवसर गुमाउँदै क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलको नतिजा सुम्पियो ।

क्रोएसिया फाइनल पुग्न सक्षम टिम थियो, जसले क्वाटरफाइनलमा ब्राजिललाई हरायो । त्यसअघि प्रि–क्वाटरफाइनलमा जापानलाई पाखा लगायो । यद्यपि दुवै जित पेनाल्टी सुटआउटमा पुगेर प्राप्त भएका थिए ।

बलियो टिमसँग प्रतिष्पर्धा गरेर नसोचेको नतिजा निकाल्ने विशेष क्षमता मोड्रिचमा छ । जो अब सायद विश्वकपका मैदानमा देखिने छन् । किनकि ३७ वर्षका मोड्रिचले लगातार दुई संस्करणका विश्वकपमा क्रोएसियालाई चम्काए ।

क्लब फुटबल र क्रोएसिया फुटबल टिमको उत्तरार्धमा रहेका उनी अब करियरकै अन्तिम चरणमा छन् । तर जसरी एउटा मिडफिल्डरले एउटा औसत सोचिएको टिमको नेतृत्व कुशल रुपमा गर्छन्, त्यसले फुटबल खेलमा सुन्दरता थपिदिन्छ । अनि फुटबल हेरिरहने दर्शकलाई पनि रोमाञ्चित बनाउँछ । जुन मोड्रिचले पनि बनाए । मोड्रिचजस्ता महान मिडफिल्डर विश्व फुटबलमा अब सायदै देखिनेछन् । क्रोएसियामा त झन् उनको विरासत फर्काउने मिडफिल्डरको उदय हुन वर्षौ लाग्न सक्छ ।

सन् १९८५ मा एक मध्यमवर्गीय परिवारमा जन्मिएका मोड्रिच विश्व फुटबलमा सुनौलो नाम हो । रियल मड्रिड पुगेपछि सफलताको शिखर चुमेका मोड्रिचले पाँच पटक च्याम्पियन्स लिग जितेका छन् । ब्राजिलका कासिमेरो र जर्मनीका टोनी क्रुजसँगै पाँचपटक च्याम्पियन्स लिग जितेका मोड्रिच विश्व फुटबलमा मेस्सी र रोनाल्डोको वर्चश्वमा ब्रेक लगाउने एक्ला मिडफिल्डर हुन् ।

सन् २००९ देखि विश्वका उत्कृष्ट फुटबलरलाई दिइने बालोन डी’ओर रोनाल्डो र मेस्सीले जित्दै आएका थिए । सन् २००९ मा रोनाल्डोले जितेको बालोन डी’ओर त्यसपछि लगातार चार पटक मेस्सीले जितेका थिए ।

त्यसपछि दुईपटक रोनाल्डोले बालोन डी’ओर जिते । मेस्सी र रोनाल्डोले गरेर समग्रमा १० पटक बालोन डी’ओर कब्जा गरेका थिए । उनीहरुको वर्चश्व यति बलियो थियो कि त्यो कसैले तोड्नै सकेन ।

सन् २०१८ मा रोनाल्डो रियल मड्रिड छाडेर युभेन्ट्स पुगे । त्यही वर्ष लुका मोड्रिचले बालोन डी’ओर अवार्ड जिते । लगभग एक दसकदेखि बालोन डी’ओर जित्ने रोनाल्डो र मेस्सीको वर्चश्वमा मोड्रिचले ब्रेक लगाएका थिए ।

मोड्रिचले त्यही वर्ष बालोन डी’ओरसँगै फिफाको उत्कृष्ट खेलाडीको अवार्ड र युइएफए बेस्ट प्लेयर अवार्ड जितेका थिए । जबकि धेरैले मेस्सी र रोनाल्डोको वर्चश्व नेयमारले तोड्ने अपेक्षा गरेका थिए ।

विश्व फुटबलमा अहिले पनि रोनाल्डो, मेस्सीपछि उत्कृष्ट फुटबलरका रुपमा ब्राजिलका नेयमारलाई लिन्छन् । विश्वकै महंगा खेलाडीको कीर्तिमान रचेका नेयमार बार्सिलोनामा मेस्सीको छाँयामा परेपछि पीएसजी पुगेका थिए ।

पीएसजी पुगेर च्याम्पियन्स लिग फाइनल पुगे पनि उपाधि चुम्न सकेनन् । जसकारण उनी रोनाल्डो र मेस्सीको दबदबा तोड्न असफल भएका छन् । क्लब फुटबल होस् वा विश्वकप फुटबल नेयमारभन्दा भन्दा मोड्रिचले धेरै सुन्दर र महान खेलाडीको रुपमा आफूलाई प्रमाणित गरेका छन् ।

रियल मड्रिडबाट पाँच पटक च्याम्पियन्स लिग, चार वटा क्लब विश्वकप, तीन वटा ला लिगा, चार वटा स्पेनिस सुपरकप, एउटा स्पेनिस कप, चार वटा युइएफए सुपर कप उपाधि जितेका छन् ।

उनी बालोन डी’ओर, फिफा उत्कृष्ट खेलाडी, युइएफए सर्वोत्कृष्ट खेलाडी पनि हुन् । क्रोएसिया फुटबल इतिहासकै सबैभन्दा सफल र सातपटकका उत्कृष्ट खेलाडी मोड्रिचले विश्वफुटबलमा महान मिडफिल्डरको ‘ट्रेडमार्क’ छाडेर उपाधिबाट बिदा भएका छन् ।


Author

थप समाचार
x