फुटबल

फिफा विश्वकपः क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

इकागज |
मंसिर २८, २०७९ बुधबार २:४० बजे

काठमाडौँ- अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्यो । अर्जेन्टिनालाई फाइनलमा पुर्याउन जुलियन अल्भारेजले २ तथा कप्तान लियोनल मेस्सीले १ गोल गरे ।


मेस्सीले ३४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।  क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । 

जारी विश्वकपमा मेस्सीको यो पाँचौ गोल हो । उनी गोल्डेन बुटको समेत दावेदार बनेका छन् । फ्रान्सका कायलियन एमबाप्पेले पनि ५ गोल गरेका छन् ।

अल्भारेजले ३९ औँ तथा ६९ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

अर्जेन्टिनाले फाइनलमा अब मोरक्को र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


Author

थप समाचार
x