फुटबल

एएफसी छनोटमा मेघराज केसीको असफल रणनीति

सञ्जीव शाह |
भदौ २६, २०७९ आइतबार १४:५५ बजे

काठमाडौँ- बहराइनमा जारी एएफसी यू-२० च्याम्पियनसीप २०२३ को छनोटअन्तर्गत नेपाल पहिलो खेलमै भुटानसँग पराजित भएपछि नेपाली टिम तथा मुख्य प्रशिक्षक मेघराज केसीको आलोचना सुरु भएको छ । 

गत अगस्टमा भारतमा सम्पन्न साफ च्याम्पियनसीपमा भारतसँग ८-० ले पराजित भएपछि नै मेघराज केसीले नेपाली यू-२० राष्ट्रिय टिममात्र नभएर फुटबलबाटै टाढिने दाबी गर्दै सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । तर अर्को खेलमा बंगलादेशसँग एक-एक गोलको बराबरी खेलेपछि त्यो विषय त्यसै सेलाएर गयो । न केसीले टोली छोडे न एन्फाले नै हारको विवेचना गर्यो ।


अखिल नेपाल फुटबल संघले भारतसँगको फराकिलो हार बारे सार्वजनिक रुपमा कुनै धारणा सार्वजनिक गरेन बरु उनै केसीलाई एएफसी च्याम्पियनसीपको छनोटका लागि मुख्य प्रशिक्षकमा निरन्तरता दियो । परिणाम स्वरुप दक्षिण एसियामा एउटा कमजोर टोलीको रुपमा चित्रित गरिएको भुटानले नेपाललाई २-० अन्तरले हरायो ।

खेलमा हारजित सामान्य हो तर नेपालले भुटानविरुद्ध जसरी खेल्यो त्यसले नेपाली टोली र प्रशिक्षक केसी दुवैको कमजोरी छताछुल्ल भएको छ । 

भुटानविरुद्ध मुख्य प्रशिक्षक केसीको रणनीति पूर्णरुपमा असफल देखिएको थियो । साफमा भारतसँग पराजित हुँदा अपनाएको असफल रणनीति नै केसीले भुटानविरुद्ध अपनाएपछि पुनः असफलता हात लागेको खेल हेर्ने जोसुकैले अनुमान गर्न सक्छन् । 

प्रशिक्षक केसी आफैँले भुटानविरुद्धको पराजय स्वीकार्य नहुने प्रतिक्रिया दिए । तर उनले आफ्नो रणनीतिको बारेमा केही बताएनन् । 

नेपालले सुरुदेखि नै सर्ट पासमार्फत फाइनल थर्डमा पुग्ने रणनीति लिएको थियो । तर नेपालका कुनै पनि खेलाडीले फाइनल थर्डमा पुगेर भुटानको रक्षा पङ्क्तिलाई तोड्न सकेनन् । नेपाली खेलाडीको खुट्टाबाट भुटानको रक्षापङक्तिले विना कष्ट बल खोसिरहेका थिए । उल्टै भुटानले हाइ बलमा सजिलैसँग दुई गोल गर्यो । भुटानले गरेको गोल देखेपछि धेरैको अपेक्षा थियो केसीले रणनीति परिवर्तन गर्छन् तर दुई गोल खाएपछि पनि ‘सर्ट पास’ रणनीतिले काम नगरेको केसीले महसुस गरेनन् । उनी त्यही रणनीतिमा अडिग रहे । फलस्वरुप नेपालले कमजोर टिम भुटानसँग हार बेहोर्न बाध्य भयो ।  

भारतविरुद्धको खेलमा सुरुवात गरेका ८ खेलाडी भुटानविरुद्ध पनि मैदानमा उत्रिएका थिए । भुटानविरुद्ध खेलेका गोलरक्षक इश्वर गुरुङसहित स्ट्राइकर आयुष घलान, डिफेन्डर अजय चौधरी, स्ट्राइकर कृतिस रत्न छुन्चु, मिडफिल्डर दिपेश गुरुङ, स्ट्राइकर आशिष राई, डिफेन्डर अविशेक वाइवा र फरवार्ड सुगम सुवालले भारतविरुद्ध पनि सुरुवाती-११ मै थिए । 

तर सिनियर टिम, नेपाल सुपर लिग तथा सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका कप्तान आयुष घलानले एउटा ‘सट’ पनि पोस्टमा हान्न सकेनन् । ए डिभिजन लिग तथा अन्य घरेलु प्रतियोगितामा खेलिसकेका अन्य खेलाडी पनि भुटानविरुद्ध दबाबमा खेल्न बाध्य भएका थिए । र त्यो दबाबलाई कम गर्न मुख्य प्रशिक्षक केसी असफल रहे । 

मिडफिल्डमा नेपालले बललाई आफ्नो नियन्त्रमा राख्न नसक्दा डिफेन्डरहरुले पनि बलमाथिको नियन्त्रण पटक पटक गुमाएका थिए जसका कारण नेपालले गोल खान पुगेको थियो । 

भुटानविरुद्धको खेलअघि आगामी वर्ष हुने च्याम्पियनसीपमा छनोट हुने मुख्य केसीको दाबी पनि निराधार रहेको पुष्टि भएको छ । 

च्याम्पियनसिपमा नेपालले अब बलिया टोलीहरु बहराइन र कतारसँगै बंगलादेशको पनि सामना गर्नुपर्नेछ । तर त्यसअघि भुटानविरुद्धको पराजयले नेपाललाई उसको स्तर देखाइदिने कामसमेत गरेको छ । तर भुटानले देखाइदिएको यो स्तरबाट प्रशिक्षक केसीले केही पाठ सिक्छन् भन्ने विश्वास गर्न गाह्रो छ । प्रशिक्षकको रुपमा देशलाई यस्तै नतिजा दिइरहने हो भने केसी र एन्फा दुवैले यो विषयमा गम्भीर भएर सोच्नु फुटबलको हितमा हुनेछ । 
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x