अर्थ / बाणिज्य

हलिउड हिरो डी क्याप्रियोले घुमेको बर्दिया तपाईं नजाने ?

विष्णु विश्‍वकर्मा |
माघ २४, २०७७ शनिबार १८:१३ बजे

बर्दिया:  पर्यटकीय नगर बर्दियामा आन्तरिक पर्यटन आकर्षित गर्न अझै चुनौती रहेको निश्कर्ष यहाँका पर्यटन व्यवसायीहरूको छ । पर्या-पर्यटन विकास मञ्‍चका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले हलिउड हिरो लियोनार्दो डी क्याप्रियोले घुमेको बर्दियामा तपाई अझै नघुम्‍ने ? भन्दै आन्तरिक पर्यटक बढाउनु पर्ने बताएका हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्‍ज घुम्‍न काठमाडौँदेखि अमेरिका, युरोप र हलिउडका हिरोसम्म आए पनि कर्णाली र सुदुपश्‍चिमबाट पर्याप्त पर्यटक ल्याउन चुनौती रहेको उनको भनाई छ ।


स्वास्थ्य, पर्यावरण र पर्यटनका विकासका लागि टुर दी ठाकुरद्वारा साइकल र्‍याली कार्यक्रमको समापनमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘ओस्कार जितेका हलिउड हिरो डी क्याप्रियोले घुमेको बर्दिया हो’ उनले भने, ‘हलिउड हिरो, विदेशी पर्यटक र काठमाडौँबाट आउने पर्यटकको घुइँचो लागेपनि त्यही अनुसार दोब्बर रुपमा आन्तरिक बढाउन चुनौतिपूर्ण छ ।’

डी क्याप्रियो सन् २०१० मा नेपाल आउँदा बर्दिया राष्ट्रिय निकुञ्‍ज घुमेका थिए । विश्व वन्यजन्तु कोषले बाघ संरक्षण दूत नियुक्त गरेपछि बाघ संरक्षणमा टेवा पुर्‍याउन डीकाप्रियो बर्दिया आएका हुन् ।

डी क्याप्रियो बर्दिया आएर तीन दिन बिताएको वास्तविकता पथप्रदर्शक राजनराम चौधरीले इकागजमार्फत सार्वजनिक गरेका थिए । मञ्‍चका अध्यक्ष भट्टराईले हलिउड हिरोदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटक आउने बर्दियामा आन्तरिक पर्यटन बढाउन प्रचार प्रसारमा जोड दिए ।

‘बर्दियालाई अन्तराष्ट्रिय मिडियाले घुम्‍नैपर्ने ठाउँका रुपमा प्रचार-प्रसार गरिरहेका छन् । तर नेपालमै आन्तरिक पर्यटकले त्यति चाँसो दिएको पाइँदैन’ उनले भने, ‘अब आन्तरिक तथा बाह्य पर्यटक बढाएर बर्दियालाई नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ ।’

बर्दिया राष्ट्रिय निकुञ्‍च बाघ तथा हात्तीका लागि प्रख्यात ठाउँ हो । जहाँ सजिलै जंगल सफारी गर्दा बाघ देख्‍न पाइन्छ भने नजिकै कर्णाली पुल पनि हेर्न पाइन्छ ।कोभिड-१९ महामारीले थलिएको पर्यटनलाई उकास्‍न नेपालगञ्‍ज साइक्लिङ क्लब र नाट्टा बाँकेले नेपालगञ्‍जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल र्‍याली गरेको छ ।

पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कोभिडपछि यो नेपालकै पहिलो ठूलो पर्यटन गतिविधिका रूपमा लिइएको छ । कार्यक्रममा विश्‍व साइकल यात्री पुष्कर शाह, पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनन्जय रेग्मी, नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाँई लगायत दुई सयबढी पर्यटन व्यवसायीको सहभागिता छ । 

र यो पनि...
- लियोनार्दो डी क्याप्रियोसँग राजनका तीन दिन


Author

थप समाचार
x