अर्थ / बाणिज्य

कालोसूचीमा पर्नुपर्ने चिनियाँ ठेकेदारलाई सिद्धबाबा सुरुङको ठेक्का

बुटबल–नारायणगढ र सेनाको फास्ट ट्रयाक अलपत्र

विकास थापा |
माघ २०, २०७८ बिहीबार १९:११ बजे

ग्राफिक्स : यमन मानन्धर [फोटो स्रोत : सामाजिक सञ्जाल]

काठमडौँ - बुटबल–नारायणगढ सडक र नेपाली सेनाको फास्ट ट्र्याकको ठेक्का पारी काम अलपत्र पारेको चिनियाँ ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेशनले सिद्ध बाबा सुरुङ मार्गको ठेक्का हात पारेको छ । सडक विभाग अन्तर्गतको आयोजनाले आज बिहीबार खोलको टेण्डरमा उक्त कम्पनीले २५ प्रतिशतभन्दा कममा हालेको हो । चाइना स्टेटले ६ करोड ११ लाख ८४ हजार अमेरिकी डलर (७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ) मा ठेक्का पाएको हो ।

सडक विभागले यो सुरुङ मार्गको ठेक्का ९ अर्ब ८९ करोड २६ लाख रुपैयाँमा प्रतिस्पर्धा गराएको थियो । तर चाइना स्टेटले २५.७९ प्रतिशत कममा हालेको थियो । ठेक्कामा नौ कम्पनी सहभागी थिए । चार कम्पनी मात्र प्राविधिक तर्फको प्रतिस्पर्धामा सहभागी थिए । यो ठेक्कामा अधिकांश चिनियाँ ठेकेदारले प्रतिस्पर्धा गरेका थिए ।
राज्य संयन्त्रलाई प्रभावमा पारी पटक–पटक कालोसूचीमा पर्नबाट जोगिंदै आएको चिनियाँ स्टेट कन्स्ट्रक्सनले बुटबल–नारायणघाट सडक अलपत्र पार्दै आएको छ । तीन वर्षअघि पूरा हुनुपर्ने यो सडक सात वर्ष बितिसक्दा पनि पूरा गरेको छैन । 


यही कम्पनीले सेनाको २५ अर्ब रुपैयाँको फास्ट ट्रयाक पनि हात पारेको छ । तर ठेक्का सम्झौताअनुसार साइटमा परिचालन गर्नुपर्ने यन्त्र उपकरण लगायतका आवश्यक बन्दोबस्ती गरेको छैन । सबैभन्दा थोरैमा ठेक्का पार्ने, पेश्की रकम लिने र काम नगर्ने अनि फेरि अर्काे ठेक्का लिने गर्दै आएको यो कम्पनीले सिद्धबाबाको सुरुङ अलपत्र पार्ने विभागका अधिकारीहरु चिन्तित छन् । नेपाल सरकारको आफ्नै लगानीमा बन्न लागेको यो आयोजना अलपत्र परेमा सडक विभागले अन्य सुरुङ मार्ग अघि बढाउन सक्दैन । 

कुन ठेकेदारको कति प्रस्ताव  

बुटबल–तानसेन सडकअन्तर्गत सिद्धबाबा भन्ने ठाउँमा हरेक वर्ष पहिरो जाँदा धेरै नेपालीले ज्यान गुमाइसकेका छन् । नेपाली जनताको ज्यान जोगाउने उद्देश्यले नेपाल सरकारको आफ्नै स्रोतमा बन्न लागेको यो आयोजनामा काम नगर्ने भनेर जान्दा जान्दै पनि कालोसूचीमा नराखी यसैलाई ठेक्का दिनु दुर्भाग्य रहेको विभागका अधिकारीहरु बताउँछन् ।

‘नेपालमा तीन, चारवटा ठेक्काबापत पेश्की रकम मात्रै ५, ६ अर्ब यो कम्पनीले लगिसकेको छ,’ स्रोतले भन्यो, ‘सम्झौता अनुसार काम गर्दैन तर कालोसूचीबाट जोगिन हाकिम रिझाउँछ, यो जगजाहेर छ ।’ इकागजलाई विभागबाट आज प्राप्त विवरण अनुसार चाइना स्टेटभन्दा २१.१६ प्रतिशत कममा कोभेक–सीआरइजीसी संयुक्त उपक्रमले हालेको थियो । उसको ठेक रकम ७ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ थियो । 

त्यसैगरी तेस्रो कम रकममा हाल्ने अर्काे चिनियाँ ठेकेदार हो सीसीइसीसी–सीआरसीसी १४–सियूयान संयुक्त उपक्रम थियो । यो कम्पनीले ९ अर्ब ८० करोड रकम कबोलेको थियो । यो रकम ०.९३ प्रतिशतले मात्र कम हो । 

यही ठेक्कामा चाइना फस्र्ट हाइवे इन्जिनियरिङले ठेक रकमभन्दा १८.६३ प्रतिशत (११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ) बढीले हालेको थियो । ठेक्काको प्राविधिक मूल्यांकनमा चाइना गेजुवा ग्रुप कम्पनी, शर्मा–जेडआइसीजी संयुक्त उपक्रम, एससीसीइ–एनके संयुक्त उपक्रम, एसपीपी जेभी र केएमसी–भीसीपीएल संयुक्त उपक्रम परेनन् । सिद्धबाबाको खतरनाक पहिरोको पाँच किलोमिटर क्षेत्रमध्ये १.२ किलोमिटर सुरुङ खन्न ठेक्का गरिएको थियो ।  यससम्बन्धी आयोजना प्रमुख प्रभात झा सम्पर्कमा आउन चाहेनन् ।  


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x