अर्थ / बाणिज्य

वायुसेवा निगमका १४ पाइलटमाथि जहाज उडाउन प्रतिबन्ध

विकास थापा |
साउन ३२, २०७८ सोमबार १८:१२ बजे

काठमाडौँ -  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्ना पाइलटहरुको अनिवार्य गतिविधिलाई अद्यावधिक गर्न नसकेकाले १४ जना पाइलटले ठूला जहाजै उडाउन नपाउने भएका छन् । वाइडबडीका तीन र न्यारोडीका ११ जना पाइलटले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम पालना गर्न नसकेका कारण यी दुवैथरि जहाज उडाउन नपाएका हुन् । आइकाओको नियमानुसार तीन अवस्थामा पाइलटलाई उडाउन प्रतिबन्ध छ ।

पहिलो बिरामी परेमा (मेडिकल), दोस्रो पाइलटले ६, ६ महिनामा लिनुपर्ने सिमुलेटर ट्रेनिङ (तालिम) नलिएमा र तेस्रो ९० दिनभित्र तीनपटक ‘टेक अफ’ र ‘ल्याण्डिङ’ (विमान उडाउने) नगरेमा ।


निगमको न्यारो बडीका आठ पाइलटहरुले सिमुलेटर ट्रेनिङ नलिएको ६ महिना बितिसकेको छ । आगामी अगष्ट ३१ ताखिरमा अरु दुईजना वरिष्ठ पाइलटले पनि उडाउन नपाउने अवस्थामा पुगिसकेका छन् । कोभिड १९ का कारण उडान संख्या अति नै कम भएकाले चारजना पाइलट ९० दिनसम्म जहाज नउडाइकन बसे ।

निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उडान अनुमतिका लागि निवेदन दिएको थियो । प्राधिकरणले यस्ताखाले पाइलटलाई त्यतिकै उडान अनुमति दिन पाउँदैन । उसले आइकाओको अनुमति लिनुपर्छ । प्राधिकरणले एक साताअघि यस्तो अनुमतिका लागि आइकाओलाई पत्राचार गरे पनि अहिलेसम्म आएको छैन । 
९० दिनसम्म विमान तीनपटक टेक अफ र ल्याण्डिङ गर्न नपाएका न्यारोबडीतर्फका पाइलटहरुमा नगेन्द्र भट्टराई, सिर्जना रावत र नृपेन्द्र भट्टराई छन् । 

त्यसैगरी ६, ६ महिनासम्म पनि सिमुलेटर ट्रेनिङमा सहभागी हुन नपाएको कारण विमान उडान प्रतिबन्धमा परेका पाइलटहरुमा क्याप्टेन रविन्द्रकुमार शेरचन, प्रदीप राजभण्डारी, यामप्रसाद ज्वार्चन, लालबहादुर थाकाली, उत्तम घिमिरे, योगेश हिरचान, सोनी राणा र दिपुराज ज्वार्चन छन् । न्यारोबडी मात्र होइन, वाइड बडीका दुई वरिष्ठ पाइलटहरु पनि यस्तै सिमुलेटर तालिम नलिएका कारण प्रतिबन्धमा परेका छन् । क्याप्टेन विजय लामा र समझकुमार श्रेष्ठलाई निगमले यस्तो तालिममा पठाएन । 
वाइड बडीकै क्याप्टेन सुनीलकुमार श्रेष्ठ भने ९० दिनभित्र तीनपटक उड्न नपाएर प्रतिबन्धमा परेका छन् ।

अगष्ट महिनापछि यस्तो तालिममा निगमले आफ्ना क्याप्टेनलाई नपठाउने हो भने वाइड बडीमा पनि अरु दुईजना पाइलट प्रतिबन्धमा पर्ने भएका छन् । आइकाओको नियमअनुसार जहाज उडाउन नपाई प्रतिबन्धमा परेका पाइलटहरुको हकमा पुनः तालिम लिएर तीनपटक उडान भरेपछि उनीहरु पुनः योग्य मानिन्छन् । अब वाइड बडीमा जम्मा चार जना क्याप्टेनले मात्र विमान उडान गर्न सक्छन् । त्यसमा दुईजना नेपाली र दुई भारतीय छन् । बाँकी १० कोपाइलटहरु छन् । 

नियमानुसार एउटा जहाजमा सामान्यतया सात जना पाइलट र सातजना कोइपाइलट हुनुपर्छ । निगमका चारवटा विमानका लागि कोपाइलटसमेत ५६ जना पाइलटको आवश्यकता पछ । ‘केही गरी फ्लाइट आयो भने निगमको जहाज उड्न सक्ने अवस्थामा छैन,’ निगम स्रोत भन्छ, ‘सेड्युल फ्लाइटहरु गर्न अप्ठेरो पर्न सक्छ, अबको अर्काे १५ दिनपछि थप चार पाइलट निस्कँदै (प्रतिबन्ध) छन् ।’

अन्तर्राष्ट्रिय उडानमा पनि निगमसँग प्रतिस्पर्धा गरिरहेको हिमालय एयरलाइन्स (न्यारो बडी) का कुनै पनि पाइलटहरु अहिलेसम्म प्रतिबन्धमा परेका छैनन् ।स्रोतका अनुसार निगम व्यवस्थापनको ध्यान निगमको निजीकरणमा बढी केन्द्रित भएको र पाइलटहरुको प्राविधिक अद्यावधिक गर्ने प्रक्रियामा गम्भीर नभएकाले यो अवस्था आइपरेको हो । 

यस सम्बन्धमा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले पाइलटका सम्बन्धमा आफूलाई जानकारी नभएको र फ्लाइट अपरेशन विभागमा सम्पर्क गर्न आग्रह गरे ।
फ्लाइट अपरेशनका निर्देशक दिपुराज ज्वार्चनले विभिन्न कारणले गर्दा उडान प्रतिबन्ध लागेको बताए । विशेष गरी कोभिड १९ को आउजाउमा भएको प्रतिबन्ध, कोरानाको नयाँ भेरियन्ट (डेल्टा) का कारण तालिम दिने देशमा लगाइएका थप प्रतिबन्धले यस्तो अवस्था आउन पुगेको ज्वार्चनले उल्लेख गरे ।

कतिपय पाइलटलाई कोरोना भएको, कतिपय बिदामा बसेका लगायत व्यक्तिगत कारण र कोरानाका कारण समयमा ‘पाइलट प्रोफीसेन्सी चेक’ गर्न नपाएको उनको भनाइ छ ।निगमले भारत लगायत अन्य देशमा पनि तालिम दिनका लागि प्रक्रिया अघि बढाइसकेको उनले बताए ।   


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x