अर्थ / बाणिज्य

दबाबका बीच नयाँ चरणको आर्थिक सुधारका योजनासहितको बजेट ल्याए- अर्थमन्त्री पुन

इकागज |
जेठ १६, २०८१ बुधबार १५:१ बजे

काठमाडौँ  - अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउँदा आफू दबाबमा रहेको बताएका छन् ।

बुधबार बजेट बारे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले यस अघिका प्रक्षेपणहरु पुरा नहुँदा आफू बजेट बनाउने क्रममा दबाबमा रहेको बताएका हुन् ।


उनले बजेट बारे जानकारी दिँदै युवाहरूलाई विदेश पठाउन रोक्न, देश भित्रका अवसर नखोजेर सजिलै विदेश जान खोज्ने प्रवृतिलाई रोक्न बजेटले प्रयास गरेको बताए । आफूहरु कुनै व्यक्ति वा नेताहरूको कमजोरीलाई भन्ने भन्दा पनि हाम्रो अर्थतन्त्रको समग्र स्वरूपलाई नै समीक्षा गरेर बजेट ल्याएको दाबी गरे ।

उनले हाम्रो छिमेकमा कस्तो अर्थतन्त्र निर्माण हुँदै छ र हाम्रो देश सुहाउँदो बजेट ल्याउने प्रयास गरेको बताए । उनले अब देशमा नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएको भन्दै आयोग नै गठन गरेर अगाडि जाने व्यवस्था गरेको बताए ।

अर्थमन्त्रीले अहिले २०-२५ प्रतिशत मात्र खर्च गरेको बताउँदै अब निजी क्षेत्रलाई अगाडि बढाएर जाने नीति लिएको स्पष्ट गरे । ठूला पूर्वाधार जस्तै विमानस्थल तथा सिग्नेचर पूर्वाधारमा अब निजी क्षेत्रलाई पनि लगानी गर्न प्रेरित गर्ने व्यवस्था बजेटमा गरेको बताए ।

अर्थमन्त्री पुनले प्रदेशको विशेषता अनुसारको कार्यक्रम ल्याइएको बताए । बजेटमा कोशीलाई उद्योग, बागमतीमा सूचना प्रविधि, गण्डकीलाई पर्यटक, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिममा धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्ने योजना बजेटमा ल्याएको बताए ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् ।

अर्थमन्त्री पुनले संसदमा बजेट सार्वजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ । 


Author

थप समाचार
x