अर्थ / बाणिज्य

दिक्क लाग्यो ? जाउँ न त ड्रिम वर्ल्ड एम्यूजमेन्ट पार्क

इकागज |
मंसिर १३, २०८० बुधबार १२:३८ बजे

काठमाडौँ- चन्द्रागिरि नगरपालिका-७ स्थित घुमाउनेटोलमा शनिबारदेखि  ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । निरन्तर १८ महिना निर्माण कार्य गरेर नेपालमा  हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफ़ल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको हो ।


६ करोड लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रिडी आर्ट तथा विभिन्न आकृतिहरूको भरिएका छन् । पर्याप्त पार्किङस्थलसहितको सो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसँग रमाउन फास्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि सञ्‍चालन गरिएको छ ।

पार्कका अध्यक्ष सुमन किशोर पुनले आधुनिक तथा व्यस्त जीवनशैली, बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सिमित भएर उकुस-मुकुस वातावरणमा आफ्नो दिनचर्या खुम्च्याउनुपर्ने अवस्थामा रहेको, घुमफिर  गरेर आनन्द लिने र शरीर तथा मनलाई पुनर्ताजगी दिने वस्तु तथा स्थलको माग दिनदिनै बढ्दै गइरहेकाले ड्रिम वर्ल्डको परिकल्पना गरिएको बताए ।

उनले पत्रकारहरूको जिज्ञासालाई सम्बोधन गर्दै भने 'ड्रिमवर्ल्ड एउटा घरभित्र निर्माण गरिएको मनोरञ्जनात्मक पार्क हो । यो एउटा सपनाको संसार नै हो । यस घरभित्र नयाँ र आकर्षक विषेश प्रविधियुक्त वस्तु, चित्र तथा मनोरञ्जनका साधनहरूबाट नौलो र रोचक अनुभवहरू प्राप्त गर्न गर्न सकिन्छ । सबै उमेरका व्यक्तिहरू यहाँ भिडियो तथा तस्बिरहरू खिच्दै यहाँ भएको रेस्टुरेन्टमा विभिन्न परिकारहरू खाँदै  रमाउन सक्ने पुनले बताए ।

नेपालमै पहिलोपटक कम मूल्यमा एकै ठाउँमा त्यो पनि एउटै भवन भित्र धेरै सुविधा प्राप्त गर्न सकिने गन्तव्यका रुपमा यसलाई विकास गरिएको जानकारी गराउँदै उनले  काठमाडौँ उपत्यकाको भिडभाडबाट  केही पर गएर शान्त प्राकृतिक वातावरणमा रम्न चाहानेहरूका लागि चन्द्रागिरिमा अवस्थित यो क्षेत्र आफैँमा महत्वपूर्ण रोजाइमा पर्न सक्छ भन्ने विश्वास लिएको उनले बताए ।

ड्रिमवर्ल्डभित्रका आकृति तथा संरचनालाई क्रमश: थ्रिडी आयामको भ्रम (3D ILLUSION), दिव्य कोठा (DIVINE ROOM), भ्रमको हल (HALL OF ILLUSION), बलहरूको क्षेत्र (BUBBLE ZONE), बालबालिका क्षेत्र (KIDS ZONE), प्रेमको यात्रा (JOURNEY OF LOVE ), इन्टरगालेक्टिक स्पेस (INTERGALACTIC SPACE) गरेर सात सेग्मेण्टमा बाँडिएको पुनले जानकारी दिए । 

व्यस्त जीवनबाट थकित र पट्यार लागेको मानसिकतालाई पुनर्ताजगी दिन, आफ्ना नानीबाबुहरूलाई पनि केही सिक्न र सिकाउन Dream World Amusement एउटा उचित गन्तव्य बनेको देखिने उनले बताए ।

शनिबारदेखि १  महिनासम्म सबै आगन्तुकहरूलाई सेवा सुरु भएको अवसरमा नियमित टिकट मूल्यमा २५ प्रतिशत छुट गरेर प्रतिव्यक्ति रू ४५० मात्र कायम गरिएको जानकारी ड्रिम वर्ल्डले जनाएको छ ।


Author

थप समाचार
x