अर्थ / बाणिज्य

काठमाडौँ–दिल्लीको हवाई भाडा १५ हजार, काठमाडौँ–धनगढीको १७ हजार

इकागज |
असोज २९, २०८० सोमबार ९:५९ बजे

सुदूरपश्चिम- काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुर्‍याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।

देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । काठमाडौँबाट दिल्लीका लागि हवाई भाडा १५ हजार ८ सय रूपैयाँ छ । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु ७ हजार नौसयबाट वृद्धि गरी रु १७ हजारभन्दा बढी पुर्‍याएको गुनासो यात्रुको छ । यो समाचार तयार पार्दासम्म श्री एयरलायन्सले काठमाडौँ–धनगढीको हवाई भाडा कात्तिक १ गते १७ हजार १ सय ३१ रूपैयाँ तोकेको छ । त्यस्तै नेपाल एयरलाइन्सले कात्तिक १ गतेको काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडा १५ हजार ८ सय ३३ रूपैयाँ तोकेको छ ।


चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे । उनले भने, “काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा रु सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।”

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन ।

कात्तिक १ गतेका लागि नेपाल एयरलाइन्सले तोकेको काठमाडौँ–नयाँ दिल्लीको ​हवाई भाडा ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए ।

“मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ”, उनले भने, “चाड पर्वको बेला काठमाडौँबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडौँ जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।” भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ ।

हाल काठमाडौँ–धनगढीको भाडादर रु १४ हजार सात सय एकदेखि रु १७ हजार एकसय ८६ लिने गरिएको छ । धनगढीदेखि काठमाडौँसम्मको भाडा भने न्युनतम रु सात हजार नौ सय छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर(भ्याट) समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडौँमा रु चार सय र धनगढीमा रु पाँच सय तोकिएको छ ।

धनगढी विमानस्थलबाट बुद्धएयर र श्री एयरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ ।

कात्तिक १ गतेका लागि श्री एयरलाइन्सले तोकेको काठमाडौँ–धनगढीको ​हवाई भाडा ।
  
निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ । रासस


Author

थप समाचार
x