अर्थ / बाणिज्य

मधेश सरकारको ५७ प्रतिशत बजेट मात्र खर्च

सुभाष कर्ण |
असार २८, २०८० बिहीबार १९:५६ बजे

जनकपुरधाम- मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/०८० मा आधा बजेट मात्रै खर्च गरेकाे छ ।

प्रदेश सरकारले ४७ अर्ब दुई करोड ५० लाख ५२ हजार ११७ रुपैयाँको बजेट २७ अर्ब ३३ लाख १२ हजार ८८८ रुपैयाँ अर्थात ५७.४२ प्रतिशत मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 


कार्यालयले जनाए अनुसार चालूतर्फ ५१.९४ प्रतिशत अर्थात १० अर्ब ७७ करोड ७६ लाख १३ हजार २४० रुपैयाँ र पुँजीगततर्फ ६१.७५ प्रतिशत अर्थात १६ अर्ब २२ करोड ५६ लाख ९९ हजार ६४२ रुपैयाँ खर्च भएको छ । सरकारले चालूतर्फ २० अर्ब ७४ करोड ९६ लाख ६६ हजार ४०७ रुपैयाँ र पुँजीगततर्फ २६ अर्ब २७ करोड ५३ लाख ८५ हजार सात रुपैयाँ बजेट छुट्याएको थियो । 

मन्त्रालयगत रूपमा सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयले खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयको ७८.१८ प्रतिशत बजेट खर्च भएको छ । सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेट खर्च भएको छ । मुख्यमन्त्री कार्यालयले २८.०४ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ ।

त्यस्तै, उद्योग, पर्यटन तथा वन मन्त्रालयले ५२.३६ प्रतिशत, कानुन, मधेश प्रदेश सभाले ६७.७७ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ५८.४९ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ७६.०९ प्रतिशत, अर्थ मन्त्रालयले ४४.९४ प्रतिशत, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयले ४७.४१ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४३.९८ प्रतिशत खर्च लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

त्यसैगरी, गृह तथा सञ्चार मन्त्रालयले ५२.६१ प्रतिशत, वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयले ४२.९५ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ५७.८० प्रतिशत, खानेपानी तथा ऊर्जा मन्त्रालयले ६४.६३ प्रतिशत, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले ५०.८६ प्रतिशत, प्रदेश नीति आयोगले १७.२३ प्रतिशत बजेट खर्च गरेको छ ।

विगतको आर्थिक वर्षभन्दा रकम बढी खर्च भए पनि प्रतिशतमा बजेट कम खर्च भएको हो । गत आ.व. २०७८/०७९ मा सरकारले करिब ६४.०४ प्रतिशत बजेट खर्च गरेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x