अर्थ / बाणिज्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रीकालीन सफल उडान

धनबहादुर गुरुङ |
फागुन १८, २०७९ बिहीबार ७:३० बजे

फोटो : मोहन भण्डारीको फेसबुकबाट

पोखरा - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रीकालीन उडान भएको छ । बुधबार राति विमास्थलमा सौर्य एयरलाइन्सको जहाज अवतरण भएको हो ।

काठमाडौंबाट ३३ जना यात्रु बोकेर आएको नाईन एन एएमई जेट इन्जिन जहाज राति ८.४५ बजे सफल अवतरण गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । पोखरा आएको जहाज पुनः यात्रु बाकेर काठमाडौं नै फर्किएको उनले बताए ।


‘काठमाडौंबाट ३३ जना यात्रु बोकेर आएको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भयो,’ उनले भने, ‘उक्त जहाजले पोखराबाट ४६ जना यात्रु बोकेर पुनः काठमाडौं नै फिर्ता भएको छ ।’ 

सौर्य एयरलाइन्समार्फत् पोखरा रात्रीकालीन उडान गरेका यात्रु मोहन भण्डारीले सफल अवतरण गरेको फेसबुकमार्फत् जानकारी दिएका छन् । ‘खराब मौसमका कारण ढिलाइ भए पनि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो आईएफआर उडान सफलतापूर्वक सम्पन्न गरेको छ । सौर्य एयरलाइन्सको समर्पित टोलीले कडा मिहिनेत गरेर यो सम्भव बनायो,’ उनले भने, ‘यस ऐतिहासिक क्षणको एक हिस्सा हुन पाउँदा म रोमाञ्चित छु ।’ 

पोखरा विमानस्थलको इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) फेब्रुअरी २३ बाट लागू भएको थियो । त्योसँगै रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको म्याचुरिटी पिरियड पुरा भएको उनले जानकारी दिए । फ्लाइट प्रमाणित नेपाल नागरिक उड्डयन प्राधिकरणले चोक जाँच गरेर रात्रिकालीन उडान गर्न अनुमति दिएको हो । 

प्राधिकरणले बुद्धलाई अनुमति दिइसकेको उनले बताए । यसअघि बुद्धले फागुन २५ गते रात्रीकालीन उडानका लागि अनुमति लिएको थियो । त्योभन्दा अघि नै सौर्य एअरलाइन्सले बुधबार सफल रात्रीकालीन उडान गरेको हो । 

 


Author

थप समाचार
x