अर्थ / बाणिज्य

पोखरेलीको आधा दशक लामो सपना पूरा

धनबहादुर गुरुङ |
पुस १७, २०७९ आइतबार २१:२३ बजे

पोखरा- पुस १७, २०७९ पोखरेलीहरूका लागि विशेष बन्यो ।

आइतबार पोखरेलीको ५० वर्ष लामो सपना पूरा भएको दिन रह्यो । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको प्रांगणमा पानस दीप बालेर उद्घाटन गरेसँगै पोखरेलीको सपना पूरा भएको हो । विमानस्थलमै बनेको स्तम्भ अनावरणले झनै यसलाई बलियो बनायो ।


आइतबार पोखरामा नयाँ बनेको पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा मानव सागर उर्लिएको थियो । वर्षौदेखिको सपना पूरा भएको खुसीयाली मनाउन हजारौं पोखरेली उद्घाटन स्थलमा पुगेका थिए । विशाल मानवसागरका बीच उपप्रधानमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकीका मुख्यामन्त्री कृष्णचन्द्र नेपली पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, नवनिर्वाचित प्रदेश तथा संघका सदस्यहरूसँगै अन्य सहभागीहरूको उपस्थितिमा विमानस्थलको प्रधानमन्त्री दाहालले विधिवत् उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि प्रधानमन्त्री दाहालले विमानस्थलले राष्ट्रको आर्थिक विकासमा टेवा पुर्‍याउने बताए । यसले पोखराको पर्यटन क्षेत्रलाई पनि टेवा पुर्‍याउने उनको भनाइ थियो । ‘पोखरा अब सिधै धेरै देशसँग हवाई सम्पर्क गर्ने केन्द्र बनेको छ,’ उनले भने, ‘यसले कास्की जिल्लासँगै देशकै अर्थतन्त्र विकासमा महत्वपूर्ण योगदान दिने निश्चित छ ।’ कास्केलीहरूले विमानस्थल निर्माणका लागि गरेको लामो संघर्ष, आन्दोलन र अनसनका कारण यो कार्य सफल भएको उनले सुनाए । यसमा आफ्नो पनि साथ सहयोग रहेको उनले बताए ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताए । उनले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उनको भनाइ थियो । मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नुपर्ने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सरकारसमक्ष आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई यहाँ आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको बताए । सो अवसरमा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गरिएको थियो ।

विमानस्थल उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकीसहितको प्रदर्शन, फेसन सो कार्यक्रम गरिएको छ । बिहान अमरसिंह चोकदेखि विमानस्थलसम्म झाँकी, र्‍याली आयोजना गरिएको थियो । झाँकी, र्‍यालीमा २० हजारभन्दा बढी सहभागी भएको पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले बताए । झाँकी, र्‍याली बाहेक पनि हजारौंको संख्यामा मानिसहरू खुसी साट्न विमानस्थल पुगेको उनको भनाइ छ । 

अञ्चलाधीश शंकरराजको परिकल्पनामा कस्केलीको साथ

तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने परिकल्पना बनाए । यसका लागि उनी प्रस्ताव लिएर तत्कालीन राजा वीरेन्द्रसँग पुगेका थिए । सुरुमा राजा वीरेन्द्रले अस्वीकार गरे । त्यसको सात दिनपछि फेरि वीरेन्द्रले पाठकलाई बोलाएर वृत्तान्त सोधे । पाठकले यहाँको आवश्यकता र भावी रणनीति सुनाए । अन्ततः वीरेन्द्र उनका कुरामा राजी भए ।  

त्यसपछि २०३२ सालमा विमानस्थलका लागि जग्गा अधिग्रहणको काम सुरु भयो । त्यसबेला ३ हजार १ सय ६ रोपनी अधिग्रहण गरिएको थियो । पछि ६ सय २९ रोपनी अधिग्रहण भयो । पटक–पटक गरेर ४ हजार रोपनी अधिग्रहण गरी २२ अर्ब लगानीमा विमानस्थल निर्माण गरिएको हो ।

विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा ऋण दिएको छ । एक्जिम बैंकले दिएको रकममध्ये २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशतमा २ प्रतिशत ब्याज लाग्ने छ । २ हजार ५ सय मिटर रन–वे भएको पोखरा विमानस्थलमा एयरबस–३२० उडान र अवतरण हुन सक्छ । यहाँबाट नजिकका गन्तव्यमा उडान भर्ने योजना प्राधिकरणको छ ।


Author

थप समाचार
x