अर्थ / बाणिज्य

कोसी कोरिडर २२० केभी प्रसारण लाइन पूरा हुँदै

प्रदेश नं. १ मा २ हजार मेगावाट जलविद्युतको ढोका खुल्दै

विकास थापा |
बैशाख ७, २०७८ मंगलबार १८:१३ बजे

काठमाडौँ : कोसी कोरिडर अन्तर्गत ५१६ मेगावाट जलविद्युत् बनाइरहेका २८ वटा प्रवर्द्धक कम्पनीरुका लागि खुसीको खबर । पाँच वर्षपछि २२० केभीको कोसी कोरिडर प्रसारण लाइन (सवस्टेशनसमेत) निर्माणको अन्तिम चरणमा पुगेको छ । कोसी कोरिडरको कूल ३२६ वटा टावरमध्ये अब तीनवटा मात्र निर्माण गर्न बाँकी रहेको आयोजना प्रमुख राजन ढकालले बताए । उनका अनुसार आगामी जून (जेठ-असार) सम्ममा आयोजनाको सम्पूर्ण कार्य पूरा भई बिजुली वहन गर्न सक्नेछ ।

यसबाट विद्युत् खरिद सम्झौता (पीपीए) सकेर निर्माणाधीन ५१६ मेगावाटका २८ वटा कम्पनीलाई ठूलो राहत पुग्‍ने भएको छ । आयोजना निर्माण भएर पनि प्रसारण लाइन पूरा नभएकाले ती उत्पादित बिजुली खेर जाने ठूलो चिन्ता प्रवर्द्धक  र प्राधिकरण दुवैलाई थियो ।


संखुवासभाको शितलपाटीदेखि बानेश्वर, त्यहाँबाट तेह्रथुमको वसन्तपुरदेखि सुनसरीको इनरुवासम्म र ताप्लेजुङको ढुंगेसाँघुदेखि वसन्तपुरसम्म गरी कूल १४० किलोमिटर लामो प्रसारण लाइन निर्माणका क्रममा ३२६ वटा टावर ठड्याउनुपर्छ । तीमध्ये तीनवटा मात्र बनाउन बाँकी रहेको हो । ‘अब संखुवासभा, धनकुटा र सुनसरीमा एक, एक वटा टावर बन्‍न बाँकी छन्,’आयोजना प्रमुख ढकालले मंगलबार इकागजसँग भने, ‘तिनको जग बनाउने कार्य भइरहेको छ ।’

प्रसारण लाइन निर्माणका क्रममा वसन्तपुर थप ३४ वटा रुख काट्नुपर्ने भएपछि विद्यमान वातावरण संरक्षण नियमावली, २०७७ अनुसार पूरक वातावरणीय परीक्षण (आईईई) गर्नुपर्ने भएकाले अनुमति प्राप्त गर्न ढिला भएको पनि ढकालले बताए ।

वन मन्त्रालयले अर्को सातासम्म पूरा वातावरणीय परीक्षण स्वीकृत गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै ढकालले स्वीकृति हुनेबित्तिकै वन क्षेत्रमा तार तान्‍न र टावर खडा गर्न सकिने बताए । त्यसैगरी स्थानीय वासिन्दाले अवरोध गरेका ठाउँमा पनि सहमति भइसकेको छ । ‘यी सबै काम पूरा भएपछि जूनमा आयोजनाको सम्पूर्ण काम सकिन्छ,’ ढकालको भनाइ थियो । 

दुई वर्षअघि प्रसारण लाइन निर्माण गर्नुअघि आयोजनाले सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो । तर वसन्तपुरमा आएर सामुदायिक वनले अवरोध गरेपछि सवस्टेशन र त्यसको आसपासका केही क्षेत्र (थप २ हेक्टर बढी जग्गा लिनुपर्ने अवस्था) चाहिने भयो । वनले पुनः अद्यावधिक प्रतिवेदन माग गर्दा सिंगो आयोजना पर धकेलिएको हो ।
धनकुटाको छथर गाउँपालिकामा पहिला टावर गाडिने ठाउँ महालक्ष्मी नगरपालिकामा पर्ने भनिएको र पछि त्यो छथर जोरपाटी गाउँपालिकामा परेकाले विवाद भएको थियो । 

यसैगरी धरानस्थित विष्णुपादुकामा ऐलानी जग्गामा बसोबास गरिरहेका स्थानीय वासिन्दाहरुले उक्त जग्गाको मुआब्जा पाउनुपर्ने भन्दै एउटा टावर गाड्न रोकेका थिए । ऐलानी जग्गालाई पनि मुआब्जा उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेपछि यो समस्या समाधान भएको हो । 

कूल ११ अर्ब रुपैयाँको यस आयोजनाको तीनवटा लट बनाई ठेक्कापट्टा गरिएको थियो । पहिलो लटमा इनरुवा-वसन्तपुर-बानेश्वर-तुम्लिङटार २२० केभी (१०५ किलोमिटर लामो) डब्बल सर्किट प्रसारण लाइन थियो । यसको ठेक्का २०७२ फागुन १३ गते भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लिमिटेडले ३ करोड ७३ लाख अमेरिकी डलरमा पाएको थियो । सम्झौताअनुसार काम सुरु गरेको ३६ महिना (२०७६ जेठ ३० गते) पूरा गर्नुपर्ने थियो ।

त्यसैगरी दोस्रो लट इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटार गरी तीन ठाउँमा २२० केभीका सवस्टेशन निर्माणको ठेक्का २ करोड ५३ लाख अमेरिकी डलरमा भारतकै लार्जन एण्ड टर्बोले पाएको थियो । २०७५ असार २७ गते यसको ठेक्का सम्झौता भएको थियो । यो लटको काम सम्झौताअनुसार २०७७ वैशाख ११ गते पूरा हुनुपर्ने थियो । 

त्यसैगरी ३५ किलोमिटर २२० केभीको प्रसारण लाइन र दुईवटा सवस्टेशन (वसन्तपुर र ढुंगेसाँघुमा) को ठेक्का पाएको तेस्रो लटको ठेकेदार भारतकै केइसी इन्टरनेशनले गत मंसिर २५ गते काम सम्पन्‍न गर्ने सम्झौता थियो । 

स्थानीय वासिन्दाका अवरोध, वनले रुख छपान र कटान अनुमतिमा गरेको विलम्ब, धरान उपमहानगरपालिकाका मेयरले गरेको अवरोध लगायतका अनगिन्ती कारणले निर्धारित समयमा आयोजना पूरा हुन नसकेको हो । अब आयोजनामा खासै ठूलो समस्या नभएकाले जून महिनामा पूरा हुने आयोजना प्रमुख ढकालले विश्वास व्यक्त गरे । यस कोरिडर अन्तर्गत ताप्लेजुङमा २१८ मेगावाटको जलविद्युत् निर्माणका लागि आठ वटा कम्पनीले पीपीए गरिसकेका छन् ।

त्यस्तै संखुवासभामा २१५ मेगावाटको जलविद्युतका लागि १० वटा कम्पनीले प्राधिकरणसँग पीपीए गरिसकेका छन् । भोजपुरमा आव कम्पनीका ७० मेगावाट, तेह्रथुममा १३ मेगावाटका दुईवटा कम्पनी गरी कूल ५१६ मेगावाटका लाग २८ वटा कम्पनीसित पीपीए भएका छन् । यो कोरिडर निर्माण भएपछि ताप्लेजुङ (तमोर) तर्फ एक हजार र संखुवा सभा (अरुण) तर्फ एक हजार गरी २००० मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि ढोका खुल्नेछ । यो प्रसारण लाइनले दुई हजार मेगावाट विद्युत् वहन गर्न सक्छ ।  


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x