जात्रा-पर्व

जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ

इकागज |
जेठ १५, २०८१ मंगलबार १६:१८ बजे

रौतहट- जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध बारा गढीमाई मन्दिरमा पूजा गरिन्छ । त्यही स्थान हो रौतहटको गुजरा नगरपालिका वडा-३ सिमरी गाउँमा रहेको नवनिर्मित गढीमाई मन्दिर ।

यो मन्दिरको मंगलबार उद्घाटन गरिएको छ । वडा ३ को विनियोजित रकमबाट सिमरीमा ऐतिहासिक गढिमाई मन्दिर निर्माण भई मंगलबार विधिवत् रूपमा मेयर सन्तलाल चौधरीले उदघाटन गरेका हुन् । वडाको कोषबाट कुल १० लाख रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भएको वडाध्यक्ष अशोक चौधरीले बताएका छन् । यसअघि सानो तथा जीर्ण मन्दिरमा पूजा हुँदै आएको थियो ।


सिमरी गाउँस्थित नवनिर्मित गढीमाई मन्दिरमा बत्ती बालेर पूजा गरेपछि मात्र विश्वप्रसिद्ध बाराको ठूलो गढीमाई मन्दिरमा बत्ती बालेर पूजा सुरू हुने परम्परा रहेको छ ।

यस पटक सिमरीस्थित गढीमाई मन्दिरका पुजारी तान्त्रिक उमाशंकर धामी कछडिया उक्त मन्दिरमा विधिवत पूजा गरेर बारा बरियारपुरस्थित गढीमाई मन्दिर पुगेपछि मात्र त्यहाँ पूजा सुरू हुने बताइएको छ । यसअघि उनका बुवा दुखन धामी कछडिया तान्त्रिक पुजारी रहेका थिए ।

चार वर्षअघि उनको मृत्यु भएपछि परम्परा अनुसार उनका जेठा छोरा उमाशंकर धामी कछडियाले तान्त्रिक पुजारीको रूपमा जिम्मेवारी पाएका छन् ।

प्रत्येक पाँच वर्षमा विश्वप्रसिद्ध बारास्थित गढीमाई मन्दिर लाग्ने मेलामा नेपाल-भारतलगायत संसारको धेरै देशबाट लाखौं मानिस मेला भर्न आउने गर्दछन्।

पाँच वर्षे मेलाको अवसरमा गढीमाई मन्दिरमा सेतो मुसा, बोका, परेवा, सुँगुर, राँगा गरी पञ्चबली दिने परम्परा रहेको छ ।

सबैभन्दा बढी बली चढाउने भएकाले बाराको वरियारपु स्थित गढीमाई मेलाको अन्तर्राष्ट्रिय चर्चा छ ।

मन्दिर व्यवस्थापन पक्षबाट पञ्चबली चढाएपछि सर्वसाधारणले भाकलअनुसार बली चढाउने गर्छन् ।

गढीमाई मन्दिरमा तान्त्रिक धामीले आफ्नो शरीरको पाँच स्थानबाट रगत निकालेर चढाएरपछि बली सुरू हुन्छ ।

अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बली भएको गढीमाई पूजा व्यवस्थापन समितिले जनाएको छ । भाकल पूरा भएर मेला भर्न पूजा गर्न आउने भक्तजनहरूले हजारौं परेवा उडाउने गर्छन् ।

बारा गढीमाई मन्दिरमा पूजा हुनुअघि रौतहट गुजारा नगरपालिका-३ सिमरी गाँउमा रहेको गढीमाई मन्दिरमा तान्त्रिक पुजारी उमाशंकर धामी (कछडिया)ले विशेष पूजा, आराधाना गरेसँगै आफ्नो शरीरको पाँच ठाउँबाट रगत निकाली नर बलीस्वरुप रगत चढाउने परम्परा रहेको छ । त्यसपछि रांगा, बोका, परेवा र पाठीको बली दिएर मन्दिरमा बत्ती बालेर तान्त्रिक पुजारी धामी बारा गढीमाई मन्दिरमा जाने गर्दछन् ।

तान्त्रिक पूजारी कछडिया, बारा गढीमाईका मूल पुजारी मंगल चौधरी, अन्य पुजारीहरूका साथमा रही रातभर पूजा हुन्छ । पूजा-आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफैं बत्ती बल्छ र पञ्चबली हुने गरेको पुजारी उमाशंकरले बताएका छन् ।

परापूर्वकलदेखि हिन्दु धर्म संस्कृतिमा पशु बलीलाई शक्तिसँग जोडेर हेर्ने प्रचलन रहिआएको छ। शक्तिस्वरुपा देवीलाई खुसी बनाउन बली अनिवार्य भएको प्रचलन रहिआएको छ ।

विश्वप्रसिद्ध पञ्च वर्षीय गढीमाई मेला यस वर्ष आगामी मन्दिरमा लाग्दैछ । गढीमाई मेला २०८१ मंसिर १ गते देखि मंसिर ३० गते एक महिनासम्म मेला लाग्ने छ ।

गढीमाई मन्दिरमा विशेष पूजा तथा राँगा बली मंसिर २३ गते तदनुसार डिसेम्बर ८ तारिक र बोका बली त्यसको भोलिपल्ट मंसिर २४ गते हुने मेला व्यवस्थापन समितिले सार्वजनिक गरेको छ ।

बारा गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने एक महिने मेलाको लागि स्थानीयहरू एक वर्ष अगाडिदेखि तयारी सुरू गर्ने गर्दछन् । सो क्षेत्रको प्रत्येक घरमा आफन्तहरू मेला हेर्न महिनाभरि बस्ने कारण आ-आफ्नो क्षमता अनुसार खाने/बस्ने व्यवस्था गर्ने गरेको स्थानीयहरूले बताएका छन् ।


Author

थप समाचार
x