जात्रा-पर्व

कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार

इकागज |
कात्तिक २६, २०८० आइतबार २०:८ बजे

काठमाडौँ- यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार प्रा डा देवमणि भट्टराईले जानकारी दिए । 


तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज साँझ दीपावली गरिँदै छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शनिबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन शनिबार सन्देशवाहकका रूपमा काग तिहार र धन्वन्तरी जयन्ती मनाइएको थियो । आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो । त्यसै साँझदेखि यम दीपदान पनि सुरु भएको छ ।       

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ । भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० : ५१ बजे उत्तम रहेको समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । रासस


Author

थप समाचार
x