जात्रा-पर्व

पोखराका गुरुङहरूले मनाए ट्होटें पर्व (फोटो फिचर)

धनबहादुर गुरुङ |
चैत २९, २०७९ बुधबार ८:४६ बजे

पोखरा - पोखरामा तमु (गुरुङ) समुदायले गुरुङहरूको मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व मनाएका छन् । तमु धिं नेपालको आयोजनामा मंगलबार सांस्कृतिक र्‍यालीसहित उनीहरूले ट्होटें पर्व मनाएका हुन् । हरेक वर्षको साउन र चैतको अन्तिम मंगलबार मनाउने यो पर्व मनाइन्छ । यो वर्ष पनि विविध कार्यक्रम गरी मनाइएको तमु धिं नेपालका महासचिव जुनाकुमारी गुरुङले जानकारी दिइन् । 

विगतमा आफ्नो ट्हो (राज्य) सुरक्षाका लागि मनाउने पर्व परिमार्जित स्वरूपमा पोखरामा मनाइएको महासचिव गुरुङले बताइन् । ‘गण्डकी लगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातीहरूको आज महान चाड हो,’ गुरुङले भनीन्, ‘वर्षको साउन र चैत महिनाको २ वटा मंलबारमा ट्होटें मनाउदै आएका छौ । यो परिवर्तित समायानुसार मनाएको छौ । यसले हाम्रो आफ्ना संस्कृति जर्गेनामा महत्वपूर्ण सहयोग हुने हाम्रो विश्वास छ ।’ 


पहिले गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले गुरुङहरूको पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरेको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले बताए । उनका अनुसार तमु धिंले २०५२ सालदेखि सामूहिकरूपमा ट्होटें मनाउँदै आएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ट्होटेंसहित ल्होसारमा महानगरले साथ दिने बताए । ‘विगतमा पनि तमु धिंसँग केही सहकार्य र सहयोग गरेका थियौं,’ प्रमुख आचार्यले भने, ‘आगामी दिनमा रातो किताबमा नै सहयोग गर्ने विषय उल्लेख गर्ने प्रतिवद्धता जाहेर गर्न चाहान्छु ।’

तमु (गुरुङ) भाषामा ट्होको अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ । यो पर्व वर्षमा उभौली र उधौली गरी दुइपटक मनाइन्छ । ट्होटेंको अवसरमा तमु धिं नेपालले आज पोखरा रंगशालाबाट ट्होटें र्‍याली पृथ्वीचोक, नयाँबजार हुदै तमु धिं नेपालको कार्यालयमा पुगेर मूल समारोहमा परिणत भएको थियो । 



Author

थप समाचार
x