जात्रा-पर्व

विवाह पञ्चमीकाे पाँचौँ दिन : मटकोर विधि सम्पन्न

सुभाष कर्ण |
मंसिर ११, २०७९ आइतबार १९:२५ बजे

जनकपुर- श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाँचौँ दिन आज माता जानकीको माइती भनिएकाे जनकपुरधामको जानकी मन्दिरद्वारा वैवाहिक पद्धतिको मटकोर विधि सम्पन्न गरिएको छ ।

जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको ब्याण्ड र अन्य बाजा गाजासहित कडा सुरक्षाका बीच जनकपुरधामस्थित प्रसिद्ध गंगा सागरबाट माटो खनेर मटकोर विधि सम्पन्न गरिएको हो ।


जानकी मन्दिरबाट गीतनाद संगै मटकोर विधिका लागि मन्दिरका सहायक महन्थ रामरोशन दासको नेतृत्वमा साधु सन्त, अयोध्याबाट जन्तीसहित देशविदेशबाट आएका हजारौं श्रद्धालु गंगासागर पुगेका थिए ।

गंगासागर पोखरीको घाटमा वैवाहिक गीतनादसहित मिथिला परम्परा महिलाहरूलाई सिन्दुरको पटमास, माता जानकीको स्वरूपलाई पूजापाठ र गंगा आरतीसहितका कार्यक्रम गरी सो पोखरीबाट माटो खनेर मटकोर विधि सम्पन्न गरिएको छ ।  

मटकोरमा खनिएका माटो मैथिली समुदायको वैवाहिक पद्धति अनुसार विवाहको मण्डपमा बनाइने बेदीका लागि प्रयोग हुने गरेको छ । माता जानकीको विवाह पनि मैथिली रीतिरिवाज अनुसार प्रत्येक वर्ष गरिँदै आएको छ । मटकोरमा गंगासागर पोखरीबाट खनिएको ती माटो भोलि (सोमबार) मनाइने विवाहोत्सवका लागि बनाइने मण्डपमा बेदी बनाइने छ ।

सो मटकोर विधिमा धनुषा क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य जुली महतो, मधेशी आयोगका अध्यक्ष विजय दत्त, प्रदेश सभा सदस्यद्वय दिपक ठाकुर, रामआशिष यादव र प्रदेश २ का डिआईजी मसउद आलम खाँ , धनुषाका एसपी बसन्त रजौरे लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत भोलि दिउँसो स्वयम्वर तथा राति जानकी मन्दिरको परिसरमा निर्माण भएको विवाह मण्डपमा प्रतीकात्मक विवाहको कार्यक्रम रहेको छ ।

सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत पर्सि १३ गते रामकलेवा गरी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ । रामकलेवामा भारतबाट आएका जन्ती तथा सरीयातीहरूलाई राखेर प्रसादको रूपमा भोजन गराई विदाई गरिनेछ ।

यसैबीच विवाह पञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ भने विद्यालयहरूमा तीन दिनको विदा दिइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा भोलि प्रदेशभर सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।

सप्ताहव्यापी रूपमा जनकपुरमा धुमधामका साथ मनाइने सीताराम विवाह पञ्चमीको अवसरमा प्रत्येक वर्ष प्रदेश सरकारले बिदा दिँदै आएको छ ।

यता विवाह पञ्चमीलाई दृष्टिगत गरेर तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि तीन पटक सञ्चालनमा ल्याइएको छ ।

सीताराम विवाह पञ्चमीको एक दिन अगाडि आजदेखि रामकलेवासम्म प्रत्येक दिन तीन पटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिएका छन् ।

कम्पनीले मङ्सिर ११, १२ र १३ गते गरेर भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान साढे ८ बजे , दिउँसो साढे १२ बजे तथा साढे तीन बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ ।

यसैगरी, जनकपुरधामबाट बिहान १०ः४५ बजे, १ः४० बजे र ५ः१५ बजे जयनगरका लागि छुट्ने प्रबन्ध सञ्चालक झाले जानकारी दिए । रेल सेवाले भारतबाट आउने तीर्थयात्रीहरूलाई जनकपुरधाम आउनका लागि निक्कै सहज भएको छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x