वातावरण

पानी पर्दा सर्वसाधारणलाई राहत

इकागज |
बैशाख २९, २०८१ शनिबार १८:२४ बजे

फाइल फाेटाे

सुदूरपश्चिम - लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै खडेरीको मारमा परेका नागरिकले राहत महसुस गरेका छन् । वर्षाका कारण राहत महसुस भएको स्थानीय झलक बोहोराले बताए । 

“पानी नपाएर मर्न थालेका बोटबिरुवा र कृषि बालीलाई आजको वर्षाले फाइदा पुगेको छ”, उनले भने, “गर्मीसँगै वन क्षेत्रमा बढेको डढेलोको समस्या रोक्नपनि वर्षाले सहयोग गर्नेछ ।” वैशाखदेखिको चर्को गर्मीसँगै बढेको तापक्रमले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरको जनजीवन कष्टकर बनेको थियो । 


 लामो समयदेखि पानी पर्न नसकेर उत्पन्न सुक्खा मौसम र बढेको गर्मीसँगै वनजङ्गल र गाउँवस्तीमा आगलागीका घटना बढेका थिए । कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज धनगढीमा आठ दशमलव आठ मिलिमिटर वर्षाको मापन भएको जानकारी दिए ।

उनले भने “आज पश्चिमी वायुको प्रभावले भएको वर्षाले जनस्वास्थ्यमा असर पुर्याउने प्रदूषित वायुलाई हटाएको छ, कृषि प्रणालीलाई पनि फाइदा पुर्याएको छ ।” गर्मी बढ्दै जाँदा यसवर्ष यही वैशाख २३ गने धनगढीको अधिकतम तापक्रम ४१ दशमलव पाँच डिग्री सेल्सियस मापन भएको थियो ।
रासस


Author

थप समाचार
x