वातावरण

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले उठाउने एजेण्डा के ?

इकागज |
कात्तिक ३०, २०८० बिहीबार १४:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई अवसरका रूपमा प्रयोग गर्ने बताएको छ  ।​

युएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका बारेमा आफ्ना एजेण्डा गहन रूपमा प्रस्तुत गर्ने बताएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका कारण परेका असर र प्रभावका बारेमा रोडम्याप बनाएर प्रस्तुत हुने बताए ।


सरकारले कुन-कुन विषयलाई प्राथमिकतामा राख्ने भनेर विज्ञहरूसँग छलफल गरेको र सम्मेलनमा सबैले नेपालको तर्फबाट एउटै आवाज उठाउने उनकाे भनाइ छ । उनले राम्रो एजेण्डा र राम्रो टिम भए नेपालले आफूलाई परेका प्रभाव र असरका बारेमा विश्वमञ्चमा आफ्नो आवाज उठाउनसक्ने जिकिर गरे ।

सहसचिव पौडेलले औपचारिक कार्यक्रमबाहेक पनि अन्य कार्यक्रममा एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरका बारेमा नेपालका समस्या बुलन्द गर्ने उद्देश्य राखेको बताए । उनका अनुसार नेपालले हिमालको समस्याका बारेमा पनि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा आवाज उठाउने छ । हिमालको विषय एक देशको विषय नभएकाले हिमाल भएका देशहरू मिलेर आवाज उठाउन सकिने उनले उल्लेख गरे ।

उनले हिमाललाई छुट्टै एजेण्डा बनाएर जान अन्य देशहरूसँग पनि छलफल गर्नुपर्ने भएकाले अरु देशसँगको छलफल जारी रहेको बताए ।


Author

थप समाचार
x