वातावरण

अझै चार दिनसम्म लूको सम्भावना

इकागज |
जेठ २९, २०८० सोमबार १७:४५ बजे

फाइल फोटो

काठमाडौँ - विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ ।

काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भएको देखिन्छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ ।


मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ ।

साथै बागमती प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशको पश्चिमी भू–भागमा थोरै तापक्रम घटे पनि अत्यधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ । महाशाखाले ती भू–भागहरूमा आगामी चार दिन (जेठ ३० देखि असार १ गते) सम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

मधेस प्रदेशको पूर्वी भू–भागमा तापक्रम केही घट्ने सम्भावना देखिए पनि गर्मीको सम्भावना रहनाका साथै देशको पश्चिमी पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको छ । ती भू–भागहरूमा पनि गर्मीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ । कोशी प्रदेशमा बदली र वर्षाको सम्भावना रहेकाले तापक्रम घट्नाका साथै अत्यधिक गर्मीको नहुने देखिन्छ । रासस


Author

थप समाचार
x