उद्यम

पुनहिल यात्रामा फुरेको नेपाली ब्राण्ड 'स्न्याकअन'

सञ्जीव शाह |
फागुन १५, २०८० मंगलबार १६:४१ बजे

काठमाडौँ- काठमाडौँ युनिभर्सिटी अफ म्यानेजमेन्टबाट स्नातकको पढाइ पूरा गरेपछि आकांक्षा जोशी व्यवसाय गर्ने सोचमा पुगिन् ।

स्नातक पढ्दा पाठ्यक्रम आफैँमा उद्यमशीलता र नवप्रवर्तनलाई लिएर उत्साहित पार्ने खालको थियो नै, काठमाडौँ युनिभर्सिटी अफ म्यानेजमेन्टको वातावरण तथा स्नातकको अन्तिम शैक्षिक सत्रमा 'नेक्स्ट भेन्चर कर्प' मा गरेको  कामले आकांक्षालाई आफ्नै व्यवसाय सुरु गर्न उत्प्रेरित गर्‍यो ।


त्यसैको परिणाम हो नेपाली ब्राण्ड 'स्न्याकअन' । स्न्याकअन सम्भवतः नेपालमै पहिलो पटक उत्पादित 'ग्रानोला बार' हो । जुन पदयात्राका क्रममा स्वस्थ खानेकुराको रूपमा प्रयोग गर्न सकिन्छ ।

'स्न्याकअन' कम्पनी सुरु गर्नुको पछाडि पनि एक रोचक कथा छ । खासमा पोखरानजिकैको पुनहिलको पदयात्राका क्रममा आकांक्षामा यो व्यवसाय गर्ने विचार आएको हो । पुनहिल विश्वका उत्कृष्ट पदमार्गमध्येको एक अन्नपूर्ण पदमार्गमा पर्छ र यो विदेशीसँगै नेपालीहरूको आकर्षक गन्तव्य पनि हो । धौलागिरी हिमाल हेर्नका लागि ३ हजार २ सय १० मिटरको उचाइमा रहेको पुनहिल सबैभन्दा उपयुक्त स्थान मानिन्छ ।

'यो विचार (आइडिया) पुनहिलको पदयात्राका क्रममा फुरेको हो । अधिकांश विदेशी पैदलयात्रीले यात्राका क्रममा बट्टामा राखिएका (प्याकेजिङ) खानेकुरा आफ्नै देशबाट ल्याउने गरेको देखेँ । त्यो कुरा मलाई मन परेन । मलाई लाग्यो नेपाल एक पर्यटकीय देश भएकाले यात्रीहरूलाई प्रदान गरिने सेवाहरूमा नेपाल नै एक कदम अगाडि हुनुपर्छ,' आकांक्षा सम्झिन्छन् ।

उक्त पदयात्राबाट फर्किएपछि आकांक्षाले विद्यालयका साथी अनिश रौनियारसँग पर्यटकका लागि चाहिने 'प्याकेज्ड गुड्स (प्याक गरिएको खानेकुरा)' को कमीलाई पूर्ति गर्न सकिन्छ भनेर छलफल गरिन् ।

त्यसपछि उनीहरू नेपालमा 'ग्रानोला बार' उत्पादन सुरु गर्ने निष्कर्षमा पुगे । अमेरिकाबाट स्नातकको पढाइ पूरा गर्नुका साथै नेपालमा व्यवसाय गर्ने अनिशको लगावका कारण उनी आकांक्षासँगै यो व्यवसाय सुरु गर्नका लागि उत्तम सह-संस्थापक ठहरिए ।

सन् २०२० देखि नै उनीहरू उक्त व्यवसायका लागि काम गरे पनि कोभिड-१९ महामारीकै बीच उनीहरूले सन् २०२१ मा आधिकारिक रूपमा कम्पनी दर्ता गरे ।

आकांक्षा र अनिशले सन् २०२१ को अगस्टबाट 'स्न्याकअन' नामबाट कम्पनीको काम सुरु गरे पनि कोभिडका कारण सबै जना घरमै बस्न बाध्य भएकाले उनीहरूले सन् २०२१ को अन्त्यपछि मात्र सही ढंगले कामलाई निरन्तरता दिए ।

'हाम्रो व्यवसाय नेपालमै पहिलोपटक स्वस्थ खाद्य उत्पादन गर्ने व्यवसाय हो । हामी सबै प्राकृतिक, प्रिजर्भेटिभ ग्रानोला बार, नट बटरहरू जस्तै पिनट बटर, काश्यु (काजू) बटर र आलमोन्ड (बदाम) बटर उत्पादन गर्छौं । ग्रानोला बार वा न्यूट्रिशन बार नेपाली बजारका लागि एकदमै नयाँ अवधारणा हो । विदेशमा भने यो लामो समयदेखि प्रयोग हुँदै आएको छ,' आकांक्षा बताउँछिन् ।

आकांक्षाका अनुसार मानिसहरूले यसलाई अन्य 'प्याकेज्ड' खाजाका लागि स्वस्थ विकल्पको रूपमा उपभोग गर्ने गरेका छन् । तर, नेपालमा यो व्यवसाय नयाँ भएका कारण उपभोक्तालाई यसबारेमा जानकारी दिनु चुनौतीपूर्ण छ ।

'उपभोक्तालाई हाम्रो उत्पादनबारे बुझाउनु निकै कठिन छ । अधिकांशले यसलाई चकलेटको रूपमा लिन्छन् । त्यसैले हामीले उनीहरूलाई 'ग्रानोला बार' स्वस्थ चकलेट अथवा त्यसको विकल्प भएको भन्ने बुझाउन खोज्छौं ।'

नेपाली उपभोक्तालाई आफ्ना उत्पादनबारे उचित जानकारी दिनुपर्ने चुनौती हुँदाहुँदै उनीहरू भने विदेशीसँगै नेपालीलाई लक्षित गरेर बजार विस्तार गर्ने सोचमा पुगेका छन् ।

'हामीले हाम्रो उत्पादन विदेशीलाई मात्र लक्षित गर्ने उद्देश्य रहे पनि बिस्तारै हामीले यसमा नाफाका लागि प्रशस्त ठाउँहरू पायौँ । त्यसपछि हामीले नेपाली बजारमा पनि हाम्रा उत्पादनलाई पठायौँ किनभने नेपालीले पनि स्वस्थ, प्राकृतिक र सहज उपभोग गर्न सक्ने उत्पादनहरू उपभोग गर्न सक्छन् भन्ने हामीलाई लाग्यो,' आकांक्षा थप्छिन् ।

समयसँगै यसबारे मानिसहरूले बुझ्न थालेको तथा विदेशमा झैँ यस उत्पादनबारे केही समयमा नेपाली उपभोक्ताका लागि सामान्य झैँ लाग्न थाल्नेमा आकांक्षा विश्वस्त छिन् । 'पछिल्ला वर्षहरूमा, मानिसहरूले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिन थालेका छन् र उनीहरूले यस्ता उत्पादनहरूमा पनि खोजिरहेका छन् । त्यसैले हामी भविष्यमा ठूलो बजारका लागि आशावादी छौं ।'

हाम्रा उत्पादनले समाजमा स्वस्थ खानेकुराको विकल्पका लागि एक बजार सृजना गरिरहेको छ र अहिले समयमा भनेको अस्वस्थ खाने बानी त्यागेर दैनिकीमा स्वस्थ खाना/खाजा अपनाउनु उत्तम समय भएको आकांक्षाको भनाइ छ ।

आकांक्षा र अनिशको 'स्न्याकअन' कम्पनीले नाफा मात्र कमाउने नभएर सामाजिक उत्तरदायित्वलाई पनि महत्व दिएको छ ।

उनीहरूले सामाजिक पहलको रूपमा 'म खेलाडी' नामक परियोजना सुरु गरेका छन्, जहाँ उनीहरूले नेपाली खेलाडीहरूलाई आफ्ना कथाहरू बाँड्न प्लेटफर्म प्रदान गर्ने तथा उनीहरूलाई अन्तर्राष्ट्रिय खेलहरूका लागि सहयोग गर्न अझ राम्रो के गर्न सकिन्छ भन्नेबारे जानकारी प्रदान गर्ने गरेका छन् ।

'नेपाली खेलकुदको राम्रो प्रतिनिधित्व नभएको र उनीहरूका कथाहरू पर्याप्त नसुनाइएका कारण हामीले सो पहल गरिरहेका हौँ । यसका अतिरिक्त हामी उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलका लागि हुने प्रशिक्षणको क्रममा मद्दत गर्न निश्चित अवधिका लागि इनर्जी पार्टनरको रूपमा सहयोग पनि गर्छौ,' उनले भनिन् ।

अर्कोतर्फ वातावरणमा आफ्ना उत्पादनका कारण नकारात्मक असर नगरोस् भन्नेप्रति पनि उनीहरू सचेत छन् । जसका कारण उनीहरूले प्याकेजिङका लागि 'क्राफ्ट पेपर' प्रयोग गर्दै आएका छन् ।

क्राफ्ट पेपर बायोडिग्रेडेबल हो र पुन: प्रयोग गर्न सकिन्छ । साथै यसले प्लास्टिक वा स्टाइरोफोम प्याकेजिङभन्दा वातावरणमा कम प्रभाव पार्छ ।

'पूर्णतया कागजमा आधारित नभए पनि यसले इकोसिस्टम सहयोग गर्ने तथा हाम्रो प्लास्टिक प्रयोग नगर्ने प्रयासमा योगदान गर्छ । यसमा हामी धेरै गर्व गर्छौं, र हाम्रो कम्पनी बढ्दै जाँदा हामी दिगोपन र नैतिक अभ्यासहरूको लागि अझ राम्रो र ठूलो प्रभाव पार्ने उपायहरू लागू गर्नेछौं भन्ने कुरा सुनिश्चित गर्नेछौं,' उनी थप्छिन् ।

कम्पनी सुरुवात गरेको धेरै समय नभए पनि उनीहरू व्यवसायको उचित नतिजाका लागि धैर्यता अपनाउन सफल भएका छन् । किनभने आफैँ केही सुरुवात गर्न धैर्यता चाहिन्छ भनेर उनीहरूले राम्ररी बुझेका छन् ।

'आफैँ केही सुरुवात गर्न धैर्यता ठूलो कुरा हो । सानो कम्पनी होस् वा ठूलो, नतिजा सधैं ढिलो नै आउँछ । अत्यधिक अधीर र छिटो नतिजा चाहने पुस्ताको भए पनि मेरो व्यवसायले पक्कै पनि मलाई अझ धैर्य बन्न सिकाएको छ,' आकांक्षा बताउँछिन् ।

'हामी भविष्यमा निश्चित रूपमै हाम्रो व्यवसायलाई विस्तार गर्ने नै छौँ तर यसका लागि केही समय लाग्छ । हामी सधैं 'स्न्याकअन' लाई एसियाली बजारमा गुणस्तरीय उत्पादनहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने ठूलो लक्ष्यतर्फ काम गरिरहेका छौँ,' उनले सुनाइन् ।

तर, यसका लागि उनीहरूले नेपालको आयात/निर्यातसम्बन्धी नियम र कानुनहरूमा सकारात्मक परिवर्तनको अपेक्षा गरेका छन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x