उद्यम

महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत

इकागज |
साउन २६, २०८० शुक्रबार १३:१० बजे

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले यस्तो बताएका हुन् ।  उनले भने, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन । सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दुरगामी अवधारणा हो । महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशिन्छन् । महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ । त्यसैले यहाँ कसैले स्थिरता दिन सक्छन् भने त्यो महिलाहरुले मात्र दिन सक्छन् ।  ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको छ । यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्छ ।’


देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरुको सहभागिता रहेको पनि उनले बताए  ।  ‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ । डिटिजल संसारले एउटा अवसर पनि दिएको छ । बजारीकरण सहजै रुपमा गर्न सकिन्छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ,’ उनले भने । 

सा–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाझ पु¥याउनुपर्ने उनको भनाइ छ । यसमा सरकारले भरपूर सहयोग गर्ने उनले विश्वाससमेत दिलाए । दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सक्यो भने काम लाग्न सक्ने मन्त्री डा. महतले बताए।


Author

थप समाचार
x