उद्यम

सेलरोटी पकाउने सोखले उद्यमी बनेका नन्द-भाउजू

इकागज |
माघ २३, २०७९ सोमवार २१:९ बजे

टङ्कीसिनवारी- इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजू हुन् । 

सेलरोटी बनाउन जान्ने उनीहरूलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उनीहरू पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गरिदिथे । 

विसं २०७३ सालमा उनीहरू सदस्य भएको ‘मायाको घर’ संस्थाको वार्षिकोत्सवमा सहभागीलाई के खुवाउने भनि पदाधिकारीबीच छलफल हुँदा नन्द भाउजूले सेलरोटी पकाएर खुवाउने जिम्मा लिइन् । वार्षिकोत्सवका सहभागी सबैले उनीहरूले पकाएको सेलसोटी औधी मीठो मानी खाए । सेलरोटीको स्वादका चर्चा इटहरी बजारमा फैलियो ।


वार्षिकोत्सवमा सहभागी भएका एकले आफ्नो घरमा पूजा रहेको भन्दै सोही समयमा एक सय वटा सेलरोटीको अर्डर दिए । नन्द, भाउजूले भोलिपल्ट सय सेलरोटी पकाएर सहभागीको घरैमा पुर्‍याइदिए । सेलरोटीको प्रशंसा त्यहाँ पनि भयो । यो उनीहरूको व्यावसायिक सुरुवात थियो । त्यसपछि इटहरी, धरान र विराटनगरका विभिन्न ठाउँबाट पूजाआजा, व्रतबन्ध, पास्नीका लागि अवसरमा सेलरोटीको अर्डर आउन थाल्यो ।

इटहरी, धरान र विराटनगरका सुपरमार्केटले पनि नन्द, भाउजूले पकाएको सेलरोटी खोज्न थाले । नन्द, भाउजूले सोखका रूपमा थालेको सेलरोटीले बिस्तारै व्यवसायको रूप लियो । उनीहरूले यसका लागि कम्पनी दर्ता गर्नुभयो र सेलरोटी पकाउँदै बिक्री गर्न थाले ।

उनीहरूले अहिले ‘अर्गानिक चन्द्रमा कोशेली तथा मसला उद्योग’मार्फत् सेलरोटी पकाउँदै आउनुभएको छ । यसका लागि पाँच जनाले जागिर पाएका छन् । सेलरोटी पकाउने काममा मात्र सीमित नभएर नन्द भाउजूको जोडीले उद्योगको दायरा फराकिलो बनाउँदै लगे । हाल उनीको कम्पनीमा अनर्सा, सुत्केरी मसला, बेसार, मसौरा, मकैको चामल, जौ चना मिश्रित सातुको पनि उत्पादन भइरहेको छ । 

हाल विराटनगर–२ स्थित शङ्करपुरमा आयोजना गरिएको ‘सिएनआइ एक्स्पो–२०७९’मा पनि उनीहरूले स्टल राखेका छन् । स्टलमा पकाएको सेलरोटी चाख्न उपभोक्ताको बाक्लो भिड देख्न सकिन्छ । 

एक्स्पोमा नन्द र भाउजूले दैनिक पाँच सयदेखि आठ सय सेलरोटी बिक्री गर्दै आएका छन् । एउटा सेलरोटीलाई रु ३० मा बिक्री गर्छन् । भाउजू रिता मिश्रले संस्थामा खाजाका रूपमा पकाएर बाँडिएको सेलरोटीले आफूलाई उद्यमी बनाएको बताउँछिन् । 

उनले सेलरोटीको अर्डर अत्यधिक हुन थालेपछि उद्योग खोलेर काम सुरु गरेको बताइन् । अन्य खाद्यान्न सामग्रीसँगै उत्पादनको काम पनि थालेको बताइन् । मिश्रका अनुसार उनीहरूले हाल दैनिक तीन हजार सेल पकाउने र यसबाट सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत हुन्छ । 

सीमित जनशक्तिका कारण उत्पादन विस्तार गर्न अझै नसकिएको उनको भनाइ छ । मिश्रले उधारोमा सामान लिने अनि समयमै पैसा नतिर्ने कतिपयको प्रवृत्तिका कारण समस्या भएको बताइन् । रासस


Author

थप समाचार
x