ऊर्जा

उच्च जोखिम मोलेर भोट तान्न जबर्जस्ती मेलम्ची

एडीबीको आपत्ति

विकास थापा |
चैत ३०, २०७८ बुधबार १५:१५ बजे

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको मुख्य ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले आपत्ति जनाउँदा जनाउँदै सरकारले जबर्जस्ती मेलम्चीको पानी सुरुङमा हाल्न थालेको छ ।

हिजोबाट मेलम्ची खोलाको दैनिक २६० लिटर प्रतिसेकेण्ड पानी अल्टरनेटिभ डाइभर्सन सिष्टम (वैकल्पिक व्यपवर्तन प्रणाली) बाट सुरुङमा हालिएको हो । मुख्य दातृ निकाय एडीबीले सुरुङका गेटहरु बलियो नभएको, हातले ढोकाहरु खोल्न र बन्द गर्न नसकिने अवस्था रहेको र यसरी पानी पथान्तरण गर्दा ठूलो जोखिम हुने उल्लेख गर्दै मेलम्ची खानेपानी विकास समितिलाई सचेत गराएको थियो ।


आयोजना स्रोतका अनुसार एडीबीका पदाधिकारीले सरकारको सम्बद्ध निकायलाई भेटेर र इमेल गरेर हतारमा पानी नपठाउन सजग गराएको थियो । ‘सुरुङ प्रवेश गेटहरुमा साधारण रबरको सिल पनि छैन, त्यसलाई हातले सञ्चालन गर्ने भनिएको छ,’ आयोजना स्रोतले एडीबीको चासो उद्धृत गर्दै इकागजसँग भन्यो, ‘हाइड्रो–मेकानिकल तवरबाट गेट सञ्चालन गर्नुपर्नेमा हातले गरिएको छ, जुन चाहेको बेला बन्द गर्न सकिंदैन र ठूलो दुर्घटना हुने जोखिम छ ।’

मौसम परिवर्तनका कारण कति बेला बाढी पहिरो आउँछ भन्न नसकिने र यसअघि गत वर्ष असार १ गते साधारण पानी पर्दा पनि ठूलो बाढी (गेग्रान, लेदो, माटोढुंगासहितको) आएकाले मेलम्ची खानेपानीको मुहान संरचना क्षेत्र ध्वस्त भएको थियो । ‘पानी हुलिएको गेट हातले खोलिएको छ, कदाचित् बाढी आयो भने त्यसलाई बन्द गर्न सकिंदैन,’ स्रोतले जानकारी दियो, ‘गत वर्षको बाढी आउनु एक दिन अघि ढोका बन्द गरिएकाले सुरुङ बच्न सकेको थियो ।’

सुरुङभित्र रहेका फ्लसिङ गेट (सफा गर्ने ढोका) पनि न खोल्न सकिने न त बन्द गर्न सकिने अवस्थामा रहेको छ । ‘ त्यहाँ एटा फ्लसिङ गेट छ । त्यसको अवस्था पनि त्यस्तै छ । न खोल्न सक्छौं, न बन्द गर्न । बल्ल बल्ल बन्द गरेका छौं । त्यसमा पनि रबर सिलसमेत छैन । लिकेज भयो भने त्यो पनि समस्या छ ।’
एडीबीले आपत्ति जनाएको अर्काे विषय हो— सुरुङको इन्स्पेक्सन (निरीक्षण परीक्षण) नगरी पानी हुलिएको । ‘टनेल हेर्दाखेरी समस्या नहोला, तर ठेक्का सम्झौतामा यो एउटा मुद्दा बन्न सक्छ र पछि गएर ठेकेदारले दाबी गर्न सक्छ,’ स्रोत भन्छ, ‘१०, १५ दिन राम्रोसँग इन्स्पेक्सन गरेर त्यसलाई ठेक्कामै क्लोज गर्नुपथ्र्याे । त्यो पनि भएन ।’

सुरुङभित्रका गतिविधि नियाल्न राखिएका ‘मनिटरिङ डिभाइस’ (निगरानी उपकरण) हरुले ‘सेन्स’ (बोध) नगर्ने अवस्थामा रहेका छन् । त्यसलाई ठीक नगरीकन पानी हुलिएकाले सुरुङभित्र के भइरहेको छ भन्ने थाहा हुँदैन । 

स्रोतका अनुसार मुख्य रुपमा सुरुङको ढोका उच्च जोखिममा छ । ‘पानी परेन, बाढी आएन भने केही हुँदैन,’ स्रोतले भन्यो, ‘भगवान भरोसा भयो, केही गरी पानी परेर बाढी आइदियो भने सुरुङभित्रै छिर्छ, त्यो बेला हामी गर्न सक्छौ. कि सक्दैन, जोखिम न्यूनीकरणको दृष्टिबाट हेर्दा हामी जोखिममा नै छौं ।’

ठूलो वर्षा भइदियो भने स्थिति नियन्त्रणभन्दा बाहिर हुनेमा एडीबीले चेतावनी दिएको थियो । ‘वैशाखमा पानी नपर्ने भन्ने होइन, त्यसमाथि मौसम परिवर्तनको उच्च जोखिम कायमै छ,’ स्रोत भन्छ, ‘वैशाख १५ तिर पानी आउला, जेठको १५, १६ गतेतिर त सुरुङ बन्द गर्नैपर्छ, एक महिनाका लागि यति धेरै जोखिम लिनुको अर्थ थिएन।’

सरकारले गत पुसमा आएर चैत मसान्तभित्र पानी खुवाउने निर्णय लियो । तीन महिनाको अवधिमा सबै काम समानान्तर तवरले हुनुपर्नेमा त्यसो हुन नसकेको आयोजनाका कर्मचारी बताउँछन् । कतिपय पार्टपूर्जा बाहिरबाट आएन । ‘सरकारले जसरी पनि वैशाखमा पानी खुवाउनुपर्छ भनेर पेल्यो,’ एक कर्मचारीले बताए । 

वैकल्पिक उपाय (एडीएस) बाट पानी सञ्चालन नगर्न एडीबीले सरकारलाई पटक–पटक आग्रह गरेको थियो । एडीबीले वर्षायामअघि सम्भव छैन भनेको थियो । ढोकाहरु तयारी र उचित अवस्थामा राखेर राम्रोसँग निरीक्षण गरेपछि मात्र आगामी जेठ दोस्रो साता एडीएसबाट पानी पठाउन सकिनेतर्फ पनि एडीबीले सचेत गराएको ती कर्मचारी बताउँछन् । त्यो बेला (जेठ दोस्रो साता) पानी चलाएर केही फाइदा हुँदैनथ्यो, किनभने त्यतिबेला वर्षायाम सुरु भइसक्छ र यस्ता बेला एडीएसबाट पानी चलाउन सकिंदैन । 

‘मेलम्ची आयोजनाले माटो मात्र सफा ग¥यो सिष्टम चल्ने नचल्ने हेरेन,’ आयोजनाकै ती कर्मचारी भन्छन्, ‘पानी चलाउन डेब्रिस (अवशेष) सफा गरियो, हेडवक्र्स (मुहान) को अवशेष सफला भएकै छैन ।’

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेल यसरी पानी चलाउँदा अलि अलि मात्रै जोखिम हुने र ती जोखिम पन्छाउँदै अघि बढ्ने बताउँछन् । ‘जोखिम कति छ भन्ने थाहा पाउन पनि पानी चलाउनुपर्छ,’ उनले बुधबार इकागजसँग भने, ‘सरकारले अध्यादेशै ल्याएर चैत मसान्तमा पानी खुवाउने घोषणा गरेकाले पानी हुलिएको हो ।’

अहिलेलाई ढोकाहरुले हातैले चलाउने र चलाउँदै जाँदा पनि त्यसलाई हाइड्रो–मेकानिकलमा रुपान्तरण गरिने पौडेलले बताए । ‘कदाचित बाढी आयो भने सावधानी अपनाएर गर्छाैं,’ उनले भने, ‘फ्ल्यास फ्लड आउन सक्छ, त्यसको तयारी र सावधानी अपनाएका छौं ।’
उनले हिजोबाट २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हुलिएको बताए । अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा फ्लसिङ गरेपछि प्रशोधन केन्द्रमा पठाइने पौडेलले बताए ।

सुरुङभित्र स्वचालित तवरले पानी छिराउने र बन्द गराउने संरचना (गेट) लाई डेब्रिसले पुरेको छ । त्यो खोतल्ने काम बल्ल भएको छ । सबै खोतलिसकेपछि संरचनामा क्षति पुगे÷नपुगेको थाहा हुन्छ । क्षति नभएको भए मात्र सरासर काम गर्दा अर्काे वर्ष निर्माण सम्पन्न हुने पौडेल बताउँछन् । 
चुनावको संघारमा काठमाडौं उपत्यकाका प्यासी मतदातालाई पानी खुवाउन सके भोट तान्न सकिने ध्येयका साथ सरकारले जबर्जस्ती सुरुङमा पानी हुलेको पाइएको छ । 

दुई वर्षअघि यसैगरी उचित चेक जाँच नगरी सुरुङमा पानी हुल्दा गेट फुटी आयोजनाका एक इन्जिनियर र अर्का कर्मचारीको मृत्यु भएको थियो । 
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x