ऊर्जा

भारतले दियो नेपाललाई ३७५ मेगावाट निर्यात गर्ने अनुमति [पत्रसहित]

विकास थापा |
चैत २३, २०७८ बुधबार १४:३१ बजे

फाइल तस्‍बिर

काठमाडौं ः प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण लगत्तै भारतले नेपाललाई ३७५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ । 

प्रधानमन्त्री र देउवाको भ्रमण लगत्तै भारतले नेपाललाई यति धेरै परिमाणमा बिजुली निर्यात गर्ने अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । नेपालले वर्षायामअघि नै भारतले अनुमति दिनुपर्ने माग गरेको थियो ।


व्यापार विभागका निर्देशक अधिकारीका अनुसार भारतले कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), लिखु–४ (५२.४ मेगावाट) मध्य मर्स्याङ्दी (७० मेगावाट), मर्स्याङ्दी (६९ मेगावाट) त्रिशुली र देवीघाट (३९ मेगावाट) गरी ३७५ मेगावाटको बिजुली निर्यात गर्ने अनुमति दिएको हो । नेपालदेखि सीमापारसम्म विद्युत प्रवाह गर्दा बाटाेमा ३ प्रतिशत प्राविधिक चुहावट हुने भएकाले खुद निर्यात भने २६४ मेगावाट मात्र हुनेछ । भारतकाे केन्द्रीय विद्युत प्राधिकरणले एनभीभीएन (भारतीय ऊर्जा दलाल कम्पनी) लाई लेखेकाे पत्रमा पनि ३ प्रतिशत प्राविधिक चुहावटकाे बन्दाेबस्त गरेकाे छ । एनभीभीएनले आज बुधबार प्राधिकरणलाई इमेल गरी ३७५ मेगावाटकाे बिजुली  निर्यातसम्बन्धी अनुमति दिइएकाे जानकारी गराएकाे हाे ।

‘भारत सरकारको यो निर्णय नेपाल–भारत संयुक्त भिजन स्टेटमेन्टको बुँदा नंं ३.१ (सी) र बुँदा ६ को कार्यान्वयको सुरुवात हो,’ प्राधिकरणकाे विद्युत व्यापार विभागका  निर्देशक अधिकारीले बुधबार इकागजसँग भने, ‘भारत सरकारको यो निर्णय स्वागतयोग्य कदम हो । यसबाट नेपालको जलविद्युत् विकासका लागि ढोका खोलेको छ र भारतीय विद्युत् बजार खुला भएको छ ।’

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतले नेपालको जगेडा बिजुली खरिद गर्ने, नेपालको बिजुली बंगलादेशसम्म जान दिने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) दु्रतगतिमा बनाउन निर्देशन दिने, जलस्रोत र जलबिद्युतका मामिलामा आपसी सम्मान र आपसी सहमति कायम गर्ने सहमति भएको थियो ।

यसअघि भारतले नेपाललाई उसैले निर्माण गरेका त्रिशुली र देवीघाट (कूल ३९ मेगावाट) को मात्र निर्यात अनुमति दिएको थियो । दुई वर्षअघिदेखि वर्षायाममा नेपालको बिजुली खपत हुन नसकी जगेडा रहँदै आएको थियो । 

गत फागुनमा सम्पन्न नेपाल भारत ऊर्जा सचिवस्तरीय नवौं ‘संयुक्त सञ्चालन समिति’ (जेएससी) को बैठकमा नेपालले वर्षायामअघि नै जगेडा बिजुली निर्यात गर्न औपचारिक रुपमै आग्रह गरेको थियो । 

उक्त बैठकमा भारतले वर्षायामअघि नै निर्णय गरिने प्रतिबद्धता जनाएको थियो । अब आउने वर्षयाममा करिब एक हजार मेगावाट विजुली जगेडा हुने देखिएको छ । यो वर्ष ७ सय मेगावाट खेर गएको थियो ।

र, याे पनि

के भारत सच्चिएको हो त ?


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x