ऊर्जा

विद्युत् क्षेत्रमा भारतसँग ऐतिहासिक सहमति

१. जगेडा बिजुली किन्ने २. बंगलादेशसम्म जान दिने ३. पहिलोपटक समान आधारमा तय गर्ने

विकास थापा |
चैत १९, २०७८ शनिबार १७:५३ बजे

काठमाडौं – भारतले पहिलोपटक नेपालमा जगेडा बिजुली भएकोमा बधाइ दिंदै ती बिजुली आफूले खरिद गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको औपचारिक वार्तापछि आयोजित कार्यक्रममा घोषणा गरे, ‘हामी नेपालको बिजुली खरिद गर्नेछौं ।’

यो घोषणालाई संयुक्त विज्ञप्तिमा पनि समेटिएको छ । संयुक्त विज्ञप्तिभित्र रहेको ‘संयुक्त भिजन स्टेटमेन्ट’ मा पनि भारतले नेपालको बिजुली खरिद गर्ने उल्लेख छ । भिजन स्टेटमेन्ट बुँदामा परेको यो विषयलाई भारतीय विद्युत् मन्त्री र नेपालको ऊर्जा मन्त्रीबीच साइडलाइनमा छलफल पनि भएको प्रधानमन्त्री देउवाको भारत भ्रमणमा सहभागी ऊर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘भारतीय विद्युत् मन्त्री राजकुमार सिंहले नेपालको आगामी जगेडा बिजुली खरिद गर्न प्रक्रिया अघि बढाइदिने हाम्रो ऊर्जामन्त्री पम्फा भुसाललाई भनिसक्नु भएको छ,’ ती अधिकारीले शनिबार टेलिफोनमा इकागजसँग भने ।


यसअघि भारतले आफूले बनाएको त्रिशुली र देवीघाट (जम्मा ३९ मेगावाट) मात्र खरिद गर्दै आएको थियो । यसबाहेक नेपालले माथिल्लो तामाकोसी (४५६ मेगावाट), भोटेकोसी (४५ मेगावाट) लगायतका ७ सय मेगावाटका आयोजनाको सूचीसहित भारतीय विद्युत मन्त्रालयलाई प्रस्ताव गरेको थियो । भारतीय प्रधानमन्त्री मोदीसँग भएको सहमतिअनुसार अब आगामी दिनमा नेपालमा हुने जगेडा बिजुलीले भारतमा निर्वाध प्रवेश पाउने भएको छ । ‘भारतीय प्रधानमन्त्रीले नै पहिलोपटक भन्नुभयो कि भारत नेपालको बिजुली खरिद गर्छ भनेर,’ ती अधिकारी भन्छन्, ‘यो स्वीकार्यता नेपालको लागि ठूलो उपलब्धि हो ।’

भारतले पहिलोपटक नेपालसँग जलस्रोत र जलविद्युत्का मामिलामा ‘नेगोसिएसन’ (वार्ता) गर्दा ‘आपसी समानता र आपसी सम्मानका आधारमा’ गर्ने भएको छ । त्यसैगरी भिजन स्टेटमेन्टमा दुई देशबीचको ऊर्जा सहकार्य बीबीआइएन (भुटान, बंगलादेश, भारत र नेपाल) संरचना तहसम्म विस्तार गर्ने उल्लेख छ । यो भनेको नेपालले बंगलादेशसम्म आफ्नो बिजुली बिक्री गर्न पाउनु हो । नेपालले यो अवधारणालाई निकै महत्व दिंदै आएको थियो । भारतकै असहयोगका कारण बंगलादेशसम्म नेपालले बिजुली निर्यात गर्न पाएको थिएन । तर यसपालि भारतले प्रष्ट रुपमा यही संरचना उपयोग गर्ने सहमति गरेपछि नेपाल निकै आशावादी भएको ऊर्जाका ती अधिकारीले बताए । 

‘हाम्रो लागि बीबीआइएन नै हो । बंगलादेश यसमा पर्छ । बीबीआइको तहसम्म जुन भिजन स्टेटमेन्टमा आयो त्यो राम्रो हो, सार्क, सासेक र बिमस्टेकभन्दा पनि महत्वपूर्ण बीबीआइएन हो,’ उनले भने । 

भिजन स्टेटमेन्टमा दुवै देशले जलविद्युत्मा द्विपक्षीय सहयोगमा अवसर सरहेकोमा सहमति गरेका छन । यसअन्तर्गत जलविद्युत्को संयुक्त विकास गर्ने, सीमापार प्रसारण लाइन निर्माण गर्ने, दुईतर्फी विद्युत आयात–निर्यात गर्ने, दुवै देशको ग्रीड (प्रसारण लाइन) सिंक्रोनाइज (एक रुप) तुल्याउने, संस्थागत सहयोग, ज्ञान र प्रविधिको हस्तान्तरण रहेका छन्  । 

‘अनपेसिडेन्डेट बिनिफिट (अभूतपूर्व फाइदा) हरु दुवै देशका लागि विद्यमान भइसकेपछि ती सहयोगको अवसरलाई बीबीआइएनको तहसम्म जोड्ने भनिएको छ,’ उनले भने, ‘नेपालले विगतदेखि यसैका लागि प्रयास गर्दै आएको थियो । 

भारतले नेपालसँगको ऊर्जा सहकार्यलाई पहिलोपटक जलवायु परिवर्तनको मुद्दासँग जोडेर सहकार्य गर्ने सहमति गरेको छ । भिजन स्टेटमेन्टको अर्काे बुँदामा भारतले ग्लास्गो सम्मेलन (कोप २६) र सन् २०१५ को पेरिस सम्मेलनमा गरेको प्रतिबद्धता पूरा गर्न नेपालसँग जलविद्युत्मा सहकार्य गर्ने घोषणा गरेको छ ।  ‘भारतले नेपालसँगको जलविद्युत्  सहकार्यलाई आधारशिला बनाउने भनेर लेखेको छ,’ ती अधिकारीले भने, ‘जलवायु पविर्तन लाई जोडेर भारतले सहमति गरेको छ ।’

नेपालले पनि भारतीय लगानीकर्तालाई आमन्त्रण गरेको घोषणा भिजन स्टेटमेन्टमा गरेको छ । ‘भारतीय लगानीकर्ताहरुलाई जलविद्युत् लगायत नवीकरणीय ऊर्जामा फाइदा छ भन्नेमा दुवै देशका प्रधानले सहमति गरे,’ ती अधिकारीले भने, ‘यसबाट दुवै देशमा रोजगाारी सिर्जना, औद्योगिकीकरण, अर्थतन्त्रको सुदृढीकरण, विदेशी मुद्रा आर्जनलगायतका फाइदाहरु  हुन सक्छ भनी नेपालले भारतीय लगानीकर्तालाई निमन्त्रण गरेको छ ।’

यसैगरी दुई देशबीच महाकाली सन्धिको अभिन्न अंग मानिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको दू्रतगतिमा यसको विस्तृत प्रतिवेदन (डीपीआर) बनाउन आफ्ना सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिने बुँदा पनि भिजन स्टेटमेन्टमा समेटिएको छ । २०५२ साल माघ २९ गते भएको महाकाली सन्धिमा ६ महिनाभित्र पञ्चेश्वरको डीपीआर तयार गर्न सहमति भएको थियो । तर दुवै देशबीच डीपीआरको मस्यौदामा उल्लिखित विवादास्पद विवरणमा सहमत हुन सकेका छैनन् ।

दुई देशका प्रधानमन्त्रीले राम्रो वातावरणमा वार्ता तथा छलफल भएको, दुवै देशका भूगो, इतिहासका आधारमा बाँधिएको सम्बन्धलाई अझै सदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन । विद्युत् क्षेत्रमा दुवै देशले हासिल गरेका उपलब्धिहरुलाई स्मरण गर्दै नेपाल जगेडा बिजुलीको देश हुन लागेकोमा प्रशंसा गर्दै भारतीय प्रधानमन्त्री मोदीले बधाइ नै दिएका थिए ।  प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुवै देशले संयुक्त रुपमा जारी गरेको ६ बुँदे ‘भिजन स्टेटमेन्ट’ को अन्तिम बुँदामा समानता, आपसी सम्मानका आधारमा एक देशले अर्काै देशलार्ई विद्युत् क्षेत्रमा पारस्परिक सहयोग गर्ने उल्लेख छ । 

नेपालले यसलाई अत्यन्त महत्वपूर्ण उपलब्धिको रुपमा लिएको छ । विगतमा भारतले आफूलाई ‘ठूल्दाई’ सरह ठानी नेपाललाई असमान तवरले विद्युत लगायत अन्य क्षेत्रमा व्यवहार गर्दै आइरहेकोमा यसपालि जारी संयुक्त विज्ञप्तिमै उल्लेख हुनु अन्यन्त सुखद भएको प्रधानमन्त्री भ्रमण टोलीमा सहभागी ती भने । ‘यो बुँदाले नेपाल र भारतको हैसियत समान भएको छ, हामीहरुको गुनासो नै विगतमा समान हैसियत भएन भन्ने थियो’ ती अधिकारीले भने, ‘यसैका आधारमा विद्युत् क्षेत्रमा सहयोगहरु अघि बढ्नेछ, त्यसलाई प्राथमिकीकरण गरेर अघि बढ्नेछ ।’

नेपाली प्रधानमन्त्री देउवाले पनि समिापार विद्युत नियमन बनाएर नेपाललाई बजार पहुँच गराएको, भारतसँग व्यापार गर्न समर्थ तुल्याएकोमा भारतको प्रशंसा गरे । ‘नेपालले विभिन्न पूर्वाधार र क्षमता अभिवृद्धिमा भारतले पुर्‍याएको सहयोगको देउवाले प्रशंसा गर्नुभयो,’ उनले भने । 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x