ऊर्जा

अघोषित लोडसेडिङको मार खेप्न नसक्दा कर्मचारी कटौती गर्ने तयारी

सरिता दाहाल |
चैत १८, २०७८ शुक्रबार १८:१५ बजे

मकवानपुर – फोर्स लोडसेडिङको मार खेप्न नसकेपछि मकवानपुरमा उद्योगहरुले उत्पादनसँगै कर्मचारी पनि कटौती गर्ने तयारी गरेका छन् ।
भारतको प्रतिस्पर्धी बजारबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली खरिद गर्ने गरी ‘बिड’ (बोलकबोल) गर्दा पनि अरुले नै महंगोमा किनेपछि उद्योगमा साँझ र रातिको समयमा बिजुली कटौती सुरु गरेको छ । यसले उद्योगहरुमा अघोषित ‘फोर्स लोडसेडिङ’ को अवस्था आएको छ ।

झण्डै एक सातादेखि फोर्स लोडसेडिङको मार खेप्दै आएका मकवानपुरका उद्योगीहरुले उत्पादन कटौती गरेसँगै कर्मचारी पनि कटौती गर्नुपर्ने अवस्था आएको उद्योगीहरुले बताउन थालेका हुन् । एक साताभन्दा बढी समयदेखि लगातार दैनिक ९ देखि १४ घण्टा लोडसेडिङ हँुदै आएपछि यो समस्या भएको उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले बताए ।


“कतिपय त उद्योगहरु नै बन्द गर्नुपर्ने अवस्थामा पुग्न लागिसके” उनले भने “१४ घण्टासम्म लोडसेडिङ भएपछि १०÷१२ घण्टा उद्योग चलाएर हामी खर्च धान्न सक्दैनौं, अब यस्तै भइराखे कर्मचारी नै कटौती गर्नुपर्ने हुन्छ ।” उत्पादन घटाउनु परेपछि उद्योगीहरूले खर्च धान्न नसक्ने हुँदा खर्च कटौती गर्न कर्मचारीसमेत हटाउनुपर्ने बाध्यता आउने उनले बताए ।

उद्योग संघ हेटौंडाका अनुसार हाल हेटौंडा औद्योगिक क्षेत्रमा ५ हजार ५ सय र मकवानपुरभरका उद्योगमा करिब ११ हजारले रोजगारी पाइरहेका छन् । कोरोना माहामारीमा उद्योगीहरुले कर्मचारीलाई अनिश्चितकालीन बिदा दिएपछि मजदुरको रोजीरोटी नै गुमेको थियो । अहिले फेरि त्यही अवस्था आउन लागेको उनले बताए । कोरोनाबाट थलिएपछि बामे सर्दै गरेको उद्योगहरु विद्युत कटौतीको कारण फेरि मारमा परेका छन् ।

बिना जानकारी विद्युत कटौती गर्दा करोडौं मूल्य पर्ने मेसिन चलिरहेको अवस्थामा एक्कासी रोकिँदा बिग्रने सम्भावना पनि धेरै हुने भएकाले यसो नगर्न अध्यक्ष प्याकुरेलले आग्रह गरे ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बिड नपरेका दिनमा साँझ र राति उद्योगहरूमा ३५० मेगावाटसम्मको बिजुली कटौती गर्न थालिएको छ । रूस–युक्रेन युद्धका कारण कोइलाको अभाव चर्किएपछि भारतमा बिजुलीको मूल्य उच्च दरमा पुगेको छ । विद्युत अभावको कारण हाल प्राधिकरण दैनिक २२ करोडसम्म घाटा व्यहोरिरहेको र यही अवस्था ३५ दिनसम्म रहे ८ अर्ब रुपैयाँ नोक्सानी हुने प्राधिकरणको दाबी छ । भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा बिजुली नै नपाएको हुनाले केही दिन नेपालमा बिजुली अभाव हुने अवस्था देखिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सिमेन्ट उद्योग संघ, स्टिल उत्पादक संघ लगायतका संघ संगठनले तोकिएको मूल्यमा नियमित विद्युत् आपूर्तिको दायित्व प्राधिकरणको हुने भएकाले यसतर्फ ध्यानाकर्षण गराउँदै आएका छन् ।

हाल करिब ३० प्रतिशत बिजुलीको माग आयातबाटै धान्नुपरेको छ । दैनिक ३१ हजार मेगावाट आवर बिजुलीको माग रहेकोमा १२ हजार मेगावाट आवर विजुलीमा भारतको भर पर्नुपरेको छ ।
 


Author

थप समाचार
x