ऊर्जा

विश्व तापमान वृद्धिको खतरा झेल्दै नेपाल पनि

अचानक हिउँ पग्लन थालेपछि विद्युत् उत्पादन २५ प्रतिशतले बढ्यो

विकास थापा |
चैत १८, २०७८ शुक्रबार १७:७ बजे

काठमाडौं – भारतले भनेजति बिजुली नदिइरहेका बेला नेपालका हिमालमा जमेका हिउँ अचानक पग्लन थालेपछि जलविद्युत् उत्पादन ह्वात्तै २५ प्रतिशतले बढेको छ । यसका साथै विद्युत् ऊर्जा पनि गत वर्ष आजको दिनको तुलनामा दोब्बर उत्पादन भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार दिउँसोको समयमा १२ घण्टा अनवरत रुपमा उद्योगहरुलाई बिजुली दिइएको छ । राति भारतबाट बिजुली नआउने र बिहान र बेलुकी (पिक) बिजुली आपूर्ति सहज बनाउन खोला थुन्नुपरेकाले केही उद्योगले बिजुली नपाएको प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेश भट्टराईले बताए ।


भट्टराईका अनुसार देशका प्रमुख जलविद्युत् केन्द्रबाट यतिबेला विगतको तुलनामा दोब्बर बढी ऊर्जा उत्पादन भएको छ । ‘केही दिनयता खोलामा पानीको सतह बढेकाले ऊर्जा उत्पादन राम्रो भएको छ,’ भट्टराईले शुक्रबार इकागजसँग भने ।  कालीगण्डकी ‘ए’ (१४४ मेगावाट) विद्युत् केन्द्र प्रमुख पशुपतिराज गौतमका अनुसार विगत तीन दिनयता नदीमा पानी प्रवाह बढेकाले विद्युत् तथा ऊर्जा उत्पादन पनि बढेको छ । ‘पोहोर यतिखेर खोलामा ७० घनमिटर प्रतिसेकेण्ड (क्यूमेक) हुन्थ्यो, अहिले एक सय क्यूमेक छ,’ गौतमले इकागजसँग भने, ‘यस्ता अवस्थामा वैशाख १५ गतेपछि मात्र हुन्थ्यो, यसले गर्दा पोहोर यतिखेर ७० मेगावाट उत्पादन हुन्थ्यो भने अहिले औसतमा कालीगण्डकी ए बाट १०५ मेगावाट उत्पादन भएको छ ।’

विश्वव्यापी जलवायु परिवर्तनको असर नेपालमा परेको यसले देखाएको छ । पृथ्वीको तापमान बढेका कारण आधार रेखामा परेका हिउँ पग्लिएको र त्यसले नदीहरुमा जलस्तर बढाएको हो ।  ‘यही हिसाबले हिउँ पग्लियो भने वैशाखको अन्त्यसम्म पर्ण क्षमतामा कालीगण्डकी चल्न सक्छ,’ गौतमले भने, ‘अहिले कालीगण्डकीको बाँधमा पनि ७० हजार लिटर प्रतिसेकेण्ड पानी छ, पोहोर यतिबेला ५० हजार लिटर प्रतिसेकेण्ड हुन्थ्यो ।’

कालीगण्डकी मात्र होइन मर्स्याङ्दी बेसिनमा पनि जलस्तर बढेको छ । तल्लो मर्स्याङ्दी (६९ मेगावाट) का केन्द्र प्रमुख बद्री फुयालका अनुसार यतिखेर पोहोरको यतिखेरको तुलनामा १० मेगावाट बिजुली अधिक उत्पादन भइरहेको छ । मर्स्याङ्दी नदीमा पानी प्रवाह करिब २७ क्यूमेकले बढेको छ । उनका अनुसार पोहोर यतिखेर ५० क्यूमेक पानी रहेको मर्स्याङ्दीमा आज ७७ क्यूमेक छ । 

यता मध्य मर्स्याङ्दी (७० मेगावाट जडित क्षमता) मा पनि यतिखेर पोहोरको तुलनामा उत्पादन दोब्बरभन्दा बढी भएको छ । केन्द्र प्रमुख पवन बस्नेतका अनुसार गत २०७७ चैत १६ गते मध्य मर्स्याङ्दीले २९ मेगावाट मात्र उत्पादन गरेको थियो भने हिजोको औसत उत्पादन ६२ मेगावाट छ ।

मध्य मर्स्याङ्दीको पनि उत्पादन बढ्नु खोलामा पानीको सतह बढेर नै हो । बस्नेतका अनुसार गत वर्ष चैत १६ मा मर्स्याङ्दी (विद्युत् गृहमा आउने पानी) मा २९ घनमिटर प्रतिसेकेण्ड थियो भने आजको दिनमा ५९ घनमिटर प्रतिसेकेण्ड छ । मध्य मर्स्याङ्दीको रेटेड डिस्चार्ज (पानीको प्रवाह) ४२.४ घनमिटर प्रतिसेकेण्ड छ । 
प्राधिकरणको ठूला उत्पादन सञ्चालन तथा सम्भार विभागका प्रमुख रामकुमार यादवका अनुसार माथिल्लो त्रिशुली थ्री ए (जडित क्षमता ६० मेगावाट) मा पूर्ण क्षमतामा उत्पादन भएर पनि पानी खेर गइरहेको छ । उक्त जलविद्युत्मा ३०, ३० मेगावाटका दुईवटा युनिट छन् । ती दुवैले पूर्ण क्षमतामा उत्पादन गरेर पनि पानी अझ बाहिर गइरहेको यादवले बताए । 

माथिल्लो त्रिशुली थ्री ए विद्युत् गृह प्रमुख सुरेश राउतका अनुसार विगतमा उक्त विद्युत् गृहले ३० देखि ४० मेगावाटसम्म उत्पादन गर्ने गरेकोमा विगत १० दिनदेखि ६० मेगावाट उत्पादन गरेर पनि अर्काे ३० देखि ४० मेगावाट बिजुली उत्पादन गर्न पुग्ने पानी त्रिशुली नदीमा छ । 

‘पोहोर यतिखेर ३२ मेगावाट मात्र उत्पादन भएको थियो,’ राउतले इकागजसँग भने, ‘अहिले पानी नै स्पील छ ।’ त्रिशुलीको पानीले तलको त्रिशुली र देवीघाट (कूल मिलाएर ३९ मेगावाट) लाई पनि पूर्ण क्षमतामा उत्पादन गर्न दिएको छ ।  त्यसैगरी ३० मेगावाटको जडित क्षमताको चमेलियाले गत वर्षको चैतमा १०–१२ मेगावाटभन्दा बढी उत्पादन गर्दैनथ्यो । यतिखेर १८ मेगावाट उत्पादन गरिरहेको यादवले बताए ।

किन बढ्यो पानी, किन पग्ल्यो हिउँ ?
जलाधार तथा मौसम परिवर्तन विज्ञ मधुकर उपाध्याका अनुसार विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ) का कारण असमयमा हिउँ पग्लन सुरु भएको हो । ‘जेठमा पग्लनुपर्ने हिउँद चैतमै पग्लनु भनेको मौसम परिवर्तन र वैश्विक तापमान वृद्धिको प्रत्यक्ष असर अनुभव हुनु हो,’ उपाध्याले शुक्रबार इकागजसँग भने, ‘सबैले अनुभव गरेको कुरा हो सबैभन्दा गरम हिउँद यसपालि थियो । यसपालि वसन्त ऋतु एक साताभन्दा लामो भएन । अचानक पोल्न थाल्यो । विश्वव्यापी तापमान वृद्धिको असर यो हो, जुन हामीले प्रत्यक्ष अनुभव गर्न थालेम अब । विश्वभर अहिले तापमान बढेको छ ।’

उपाध्याका अनुसार विगतमा चैत अन्त्यसम्म पनि जाडो हुन्थ्यो, यसपालि भएन । फागुनको मध्यदेखि नै गर्मी बढेकाले  जेठमा पग्नले हिउँ अहिले नै पग्ल्यो । ‘जेठमा पनि पानी परेन भने चरम सुख्खायाम त्यतिखेर हुन सक्छ,’ उनले भने । 

हिउँ थुपार्ने हिउँदको वर्षाले हो । वर्षायाममा हिउँ थुप्रिंदैन । वर्षायामको बादल तल हुन्छ, हिउँदयामको बादल माथि हुन्छ हिमालभन्दा पनि । यसपालि हिउँदयाममा दुईपटक पानी पर्याे, त्यसपछि परेन । ‘फागुन चैतमा पानी पर्दा हिउँ जम्मा हुन्थ्यो । यी सबै परिवर्तन भए, यो चाहिं दुर्भाग्य हो,’ उपाध्याले भने, ‘ग्लोबल वार्मिङको प्रत्यक्ष असर हामीले भोग्न थालेम् । वसन्त ऋतु एक साता मात्र हुनु भनेको साह«ै नै अप्ठेरो  स्थिति आइसक्यो अब भन्ने देखाउँछ ।’


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x