ऊर्जा

यो हिउँदमा ५०० मेगावाटसम्म आयात गरिने

पाँच वर्षसम्म भारतकै भर

विकास थापा |
मंसिर ८, २०७७ सोमबार २०:० बजे

काठमाडौं :  स्वदेशमै खपत र भारतमा निकासी पनि हुन नसकी खेर गएको रोईकराई भइरहेका बेला यो वर्षको हिउँदका लागि नेपालले भारतसित पाँच सय मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । आयातको यो क्रम भने आगामी पाँच वर्षको हिउँदयामसम्म रहनेछ । हिउँदयाममा विद्युत् प्राधिकरण र निजी क्षेत्र गरी उच्चतम उत्पादन ८ सय मेगावाट हुने तर माग भने १३ सय मेगावाटसम्म पुग्‍ने भएकाले नपुग बिजुली आयात गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो हिउँदका लागि आवश्यक पर्ने बिजुली बन्दोबस्त गरिएको बताए । उनका अनुसार भारतको ढल्केबर-मुजफ्फपुर सीमापार अन्तर्देशीय प्रसारण लाइन प्रणालीबाट २५० मेगावाट बिजुली आयात हुनेछ । अन्य बिजुली विगतमा जस्तै १३२ र ६६ केभीका विभिन्न प्रसारण लाइन र टनकपुरबाट आउनेछ । 


‘जाडोयाममा अझै पनि पाँच, छ वर्षसम्म हामीलाई बिजुली चाहिन्छ,’ कार्यकारी निर्देशक शाक्यले सोमबार इकागजसँग भने, ‘किनभने यता बिजुली आउँदै गर्छ, उता डिमान्ड (माग) बढ्दै गर्छ ।’ यसपालिको जाडोयाम सुरु भइसकेको छ । जाडोयाममा नेपालमा बिजुलीको माग बढ्ने गर्छ । तर खोलामा पानीको सतह घट्ने हुँदा उत्पादन भने घट्छ । त्यही भएर नपुग बिजुली भारतबाट आयात हुँदै आएको छ । तर वर्षायाममा भने आयात गर्नुपर्दैन 

नेपालको जलविद्युत् उत्पादनमा कमी आउन थालेपछि हरेक वर्ष प्राधिकरणले भारतबाट आयात हुने हिउँदे बिजुलीको परिणाम तोक्छ । त्यसअनुसार भारतले दिंदै आएको छ । भारतबाट आयातीत बिजुलीका कारण नेपालको हिउँदयाममा लोडसेडिङ अन्त्य भएको हो ।

भारतबाट बिजुली आयात नगरी नेपालको हिउँदको लोडसेडिङ अन्त्य गर्न यहाँ कुलेखानीजस्ता जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्नुपर्छ । तर २०४६ सालदेखि हालसम्मको केपी ओली सरकारले जलाशययुक्त आयोजना निर्माण गर्न सकेको छैन।

यसपालिको हिउँदको गर्जो टार्न भारतको एनभीभीएनले ढल्केबर-मुजफ्फपुर प्रसारण लाइन (सीमापार अन्तर्देशीय) बाट बिजुली आयात गर्न मञ्जुरी दिएको छ । गत शनिबार एनभीभीएनका पदाधिकारीले प्राधिकरणका अधिकारीलाई २५० मेगावाट बिजुलीको परिणाम स्वीकृत भएको जानकारी दिएको शाक्यले बताए । ‘मौखिक जानकारी मात्र प्राप्त भएको छ, स्वीकृत भयो भनेर,’ शाक्यले सोमबार इकागजसँग भने, ‘लिखित बाँकी छ, त्यो पनि छिट्टै आउने खबर पाएको छु ।’

प्राधिकरणले भारतको एनभीभीएन (एनपीटीसी विद्युत् व्यापार निगम) बाट बिजुली लिने गर्छ । भारतको विद्युत् मन्त्रालयले जारी गरेको ‘सीमापार विद्युत् नियमन’ लागू नभइसकेकाले उक्त मन्त्रालयको अनुमतिमा एनभीभीएनले नेपाललाई सरकार-सरकार (जी टु जी) तहमा बिजुली बेच्दै आएको हो ।  ‘यो वर्षका लागि नेपाललाई बिजुली आपूर्ति गर्न भारतको विद्युत् मन्त्रालयले एनभीभीएनलाई स्वीकृति दिइसकेको छ,’ शाक्यले भने, ‘त्यसपछि एनभीभीएनले त्यहाँको भार प्रेषण केन्द्र (एलडीसी) मा गएर अल्पकालीन खुला पहुँचको स्वीकृति लिन्छ ।’

शाक्यका अनुसार भारतबाट आउने बिजुली नेपालमा दुई प्रकारले खपत हुने गर्छ । एउटा चौबीसै घण्टा र अर्को यहाँको आवश्यकताअनुसार । नेपालको अत्यधिक खपतको समय (पिक) मा ८० देखि १५० मेगावाट बिजुली चौबीसै घण्टा लिने गरिएको शाक्यले जानकारी दिए ।  

‘यो जाडो हामीलाई पुग्दैन, माथिल्लो तामाकोसी (४५६ मेगावाट) को पनि माघ १५ सम्म आउँदैन, त्यसले गर्दा चाहियो,’ शाक्यले भने, ‘तामाकोसीको आयो भने भारतको बिजुली हाम्रो आवश्यकताअनुसार खपत हुनेछ । त्यसपछि हामीले आयात कम गर्न सक्छौं ।’

प्राधिकरणले चौबीसै घण्टा लगातार खपत गर्ने बिजुलीमा पनि थपघट गर्न सक्ने सुविधा रहेको शाक्यको भनाइ छ । ‘चौबीसै घण्टा आउने बिजुली पनि तीन दिनअघि हामीलाई चाहिंदैन भन्यौं भने ५० मेगावाटमा झार्न सकिन्छ,’ शाक्यको भनाइ थियो, ‘चौबीसै घण्टा लिए पनि कहिले लिने, कहिले नलिने तोक्न पाइन्छ ।’

पाँच दिनका लागि ५० मेगावाट बिजुली माग्यौं भने त्यसमा पछि गएर ४० मेगावाट मात्र देऊ भन्न नपाइने प्रावधान छ । तर दिनभरि खपत हुने बिजुलीको परिमाण भने घटाउन बढाउन पाइन्छ ।

प्राधिकरणकै प्रणाली सञ्चालन विभागका प्रमुख सुरेश भट्टराईले हिउँदयामको बिजुलीको माग सम्बोधन गर्न सञ्चालन योजना तयार गरिसकिएको बताए । उनका अनुसार यस वर्षको हिउँदयाममा अधिकतम माग १२ देखि १३ सय मेगावाटको बीचमा हुनेछ । ‘तर यकीनन हामी भन्न सक्दैनौं,’ उनले भने ।

यसपालिको पिकमा प्राधिकरण र निजी क्षेत्रको गरी जम्ममा ८ सय मेगावाट मात्र उपलब्ध हुने अनुमान रहेको भट्टराईले बताए । लोडसेडिङ हुन नदिन चारदेखि पाँच सय मेगावाट बिजुली आयात हुने भट्टराईले बताए । ‘दिनभरको लोड हजार, एघार सय मेगावाट भएका बेला भारतबाट २०० मेगावाट आयात गर्नेछौं’ उनले भने ।


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x