ऊर्जा

नवीकरणीय ऊर्जा परियोजनामा दिगो वित्त र सामाजिक द्वन्द्व व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

इकागज |
कात्तिक १, २०८० बुधबार १८:४९ बजे

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दिगो वित्तीय उपकरण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

मेरियट होटल काठमाडौँमा असोज २९ र ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।


दुई दिने तालिमको उद्घाटनमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरूको क्षमता वृद्धिका लागि आईसीएच र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा आयोजना गरिएको दिगो वित्तीय उपकरण सम्बन्धी तालिमले नवीकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नवीकरणीय ऊर्जाको दिगो वित्त व्यवस्थापनका लागि यो तालिम आयोजना गरिएको बताइन् ।

सामाजिक-पर्यावरण द्वन्द्व व्यवस्थापनमा ५ दिने तालिम

इप्पान र आईसीएचकै सहकार्यमा नवीकरणीय ऊर्जा परियोजनामा सामाजिक-पर्यावरण द्वन्द्व व्यवस्थापनसम्बन्धी ५ दिने तालिम पनि केही दिन अघि मात्र सम्पन्न भएको छ ।

चन्द्रागिरी हिल्स रिसोर्ट काठमाडौँमा असोज २२ देखि २६ गतेसम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरण सम्बन्धी द्वन्द्व व्यवस्थापनका बारेमा आईसीएचका तर्फबाट दर्जनौं पेपरहरू प्रिजेन्टेसन गरिएको थियो ।

उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका ३ जना ऊर्जा उद्यमीहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई इप्पानका सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन् ।

इप्पान र आईसीएचबीच विगत डेढ दशकदेखि नवीकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।


Author

थप समाचार
x