ऊर्जा

१२८ मेगावाटको तमोर–मेवा विद्युत् खरिद सम्झौता

२४ अर्ब ३२ करोड रुपैयाँ लगानी हुने

इकागज |
असोज ३०, २०८० मंगलबार १८:१८ बजे

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण र स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडबीच तमोर–मेवा जलविद्युत् आयोजना (१२८ मेगावाट) विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । 

सम्झौता प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले सोमबार साँझ हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनीले आगामी २०८५ साल असोज २५ गतेभित्र बिजुली उत्पादन गरिसक्नुपर्ने छ ।


प्राधिकरणले थप १५ सय मेगावाटका नदी प्रवाही आयोजनाको पीपीए खुलाएकोमध्ये तमोर–मेवा छैटौं नम्बरमा थियो । सम्झौताअनुसार वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा सुख्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आयोजनाले वार्षिक ७१ करोड १४ लाख ३३ हजार २ सय ९८ युनिट बिजुली उत्पादन गर्नेछ । 

आयोजनाले वर्षायाममा ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ युनिट र सुख्खायाममा ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ युनिट बिजुली उत्पादन गर्नेछ । वर्षायामको अवधि वैशाखदेखि मंसिरसम्म र सुख्खायामको अवधि पुसदेखि चैत महिनासम्म हुनेछ । आयोजनाले वर्षायाममा कुल उत्पादित ऊर्जाको ६० प्रतिशत सुख्खायाममा र ९० प्रतिशत वर्षायाममा उत्पादन गर्नैपर्छ । 

कम्पनीका अध्यक्ष लिम्बूका अनुसार यही आउँदो मंसिर महिनादेखि आयोजना निर्माणको पहिलो चरणअन्तर्गत पर्ने पूर्वाधारहरूको विकास कार्य सुरु हुनेछ । कम्पनीले वास्तविक निर्माण सुरु भएको मितिदेखि चार वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष लिम्बूले इकागजलाई बताए ।

उनका अनुसार आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड रुपैयाँ छ । कुल लागतमध्ये  ७५ प्रतिशत बैंक ऋणबाट र २५ प्रतिशत प्रवर्द्धकबाट शेयर पुँजी लगानी हुनेछ । यसको वित्तीय व्यवस्थापनको प्रक्रिया सुरु भइसकेको लिम्बू बताउँछन् ।

कुमारी बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय कम्पनीहरूले लगानीको प्रतिबद्धता गरेको लिम्बूले बताए । उनका अनुसार आगामी ६ महिनाभित्र आयोजनाको वित्तीय व्यवस्थापन गरिसक्ने लक्ष्य छ । ‘वित्तीय व्यवस्थापन हुँदै गर्दा हामी शेयर पुँजीबाट लगानी परिचालन गर्नेछौं,’ लिम्बूले भने । 

यो आयोजनामा लगानी गर्न २०७७ सालमै कुमारी बैंकले आशय पत्र दिएको थियो । अन्य बैंकहरूसित पनि लगानीसम्बन्धी छलफल भइरहेको र सकारात्मक दिशातर्फ गइरहेको अध्यक्ष लिम्बूले बताए । 

प्राधिकरणले गत असारमा यसको पहिलो चरणको पीपीए गरेको थियो । प्राधिकरणले गरेको पीपीएलाई विद्युत् नियमन आयोगले गत यही असोज ८ गते सहमति दिएपछि प्राधिकरणले पीपीएमा अन्तिम हस्ताक्षर हिजो सोमबार गरेको हो । 

कम्पनीले विद्युत् उत्पादन अनुमति पत्र २०७७ असोज २५ गते (विद्युत् उत्पादन अनुमति पत्र नं. ३२२) प्राप्त गरेको थियो भने साल २०७७ साल असारमा वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति भएको थियो । 

मेवाको पानी तमोरमा ल्याएर मिसाएपछि आउने जडित क्षमता १२८ भएकाले यसको नाम तमोर मेवा रहेको हो । मेवाको पानी तमोरमा खसाल्न २५ सय मिटर सुरुङ खन्नुपर्छ भने बिजुली उत्पादनका लागि तमोरको मुहानदेखि भूमिगत विद्युत् गृहसम्म ४७६१ मिटर छ । 

ताप्लेजुङ जिल्लाको त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा संरचना रहने यो आयोजनाबाट उत्पादित बिजुली विद्युत् केन्द्रदेखि प्राधिकरणको हाङपाङ (ढुंगेसाँघु) सवस्टेशनसम्म २२० केभी प्रसारण लाइन निर्माण हुनेछ । 

यो आयोजना सन् २००० को डिसेमबर २७ मा सरकारले टेण्डर अवार्ड गरी स्पार्क हाइड्रोलाई सर्भे लाइसेन्सका लागि निवेदन दिने शर्त राखेको थियो । सोअनुसार तत्कालीन जलस्रोत मन्त्रालयले २०६२ चैत ७ गते १८ महिनाका लागि सर्वेक्षण अनुमति पत्र जारी गरेको थियो ।

उक्त अवधिमा सर्वेक्षणको सम्पूर्ण कार्य सम्पन्न हुन नसकी कम्पनीले २०६४ को असोजमा (समयावधिभित्रै) दस्तुरसहित नवीकरणका लागि दरखास्त दिएको थियो । तर तत्कालीन जलस्रोत मन्त्रालयले नियमानुसार नवीकरण नगरी सो आयोजनाको सर्वेक्षण अनुमति (नं. २१०) हुँदाहुँदै अर्कै आयोजनाको सर्वेक्षण अनुमति पत्र (२१२) लाई म्याद नथप्ने भनी निर्णय गर्यो । 

मन्त्रालयको उक्त निर्णयविरुद्ध कम्पनीले न्याय प्राप्तिका लागि सम्बन्धित निकायमा लामो समयसम्म संघर्ष गर्नुपरेको थियो । अन्ततः २०६८, वैशाखमा आएर एक वर्षका लागि नवीकरण भयो । नवीकृत अवधिमा कम्पनीले आयोजना अध्ययन, वातावरणीय अध्ययन लगायतका सबै कार्य सम्पन्न गरेर प्रक्रियामा लगेको कम्पनीका अध्यक्ष लिम्बूले बताए । 


Author

थप समाचार
x